मेयर बालेनको तानाशाही प्रवृत्तिका विरुद्ध स्थानीयको विद्रोहः विधिविधान मान्न सुझाव 

काठमाडौं, १६ जेठ । न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एकल निर्देशनमा सडक काट्न सुरु गरेपछि त्यसको आलोचना भएको छ । सडक काटेर स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक लगाएपछि मेयर साह आक्रोशित बन्नुभएको थियो ।

विभागको अनुमतिबिना सडकको चौडाइ घटाउने काम गरेको र त्यसमा रोक लगाउँदा विषयान्तर गरेर मेयर साहले रिङरोडको विषयलाई जोडेको भन्दै डिभिजन कार्यालय आक्रोशित बनेको छ ।

[bsa_pro_ad_space id=69]

मेयर साहले केही दिन अघि महानगरपालिकाले अघि सारेका काममा असहयोग गरेको भन्दै सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौंको गेटमा काठमाडौं महानगरले फोहोर थुपारेपछि डिभिजन कार्यालयले प्रतिवाद गरेको थियो ।
डिभिजन कार्यालय मात्रै होइन अहिले मेयर साहको अराजक शैलीको उहाँकै वडाध्यक्षहरुले समेत प्रतिवाद सुरु गरेका छन् । मुख्य गरेर वडा–२२ ले साहको उक्त कार्यको विरोध गर्दै जवरजस्ती गरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । वडा–२२ का अध्यक्ष चिनकाजी महर्जनले त विज्ञप्ति नै निकालेर विरोध गर्नुभएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयलाई पत्र लेख्दै ८ मिटर मन्दा कम चौडा सडक मात्रै काठमाडौं महानगरपालिका र त्यसभन्दा बढी चौडाइका सडकहरु सडक विभागको कार्य क्षेत्रभित्र रहने वैधानिक व्यवस्था रहेको भन्दै महर्जनले पेटी बाहेक ११ मिटर चौडा रहेको नयाँ सडक काट्ने अधिकार महानगरलाई नभएको दाबी गर्नुभएको छ ।

महर्जनले वैधानिक व्यवस्था र वडाबासीसहित जनप्रतिनिधिको अनुरोधलाई वेवास्ता गर्दै बलपुर्वक योजना अघि बढाए शसक्त प्रतिकार गर्ने चेतावनी दिनुभएको छ । उहाँले मैत्रिन्युजसँग कुराकानी गर्दै नेपालमा सडक पेटीको अवधारणा नै नआएका बेला न्युरोडमा सडकसँगै पेटीको अवधारणासहित सडक बनेको स्मरण गराउनुभयो ।

‘न्युरोड ऐतिहासिक सडक हो । नेपालमा सडक पेटीको अवधारण नै नभएका बेला १९९२ सालमा सडक र पेटीसँगैको अवधारणासहित बनेको पहिलो सडक पनि हो,’ उहाँले भन्नुभयो, ‘यस्तो ऐतिहासिक सडकलाई हचुवाका भरमा आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर मनपरी गर्ने छूट कसैलाई छैन । हामी अहिलेसम्म अनुरोध गरिरहेका छौँ । हाम्रो अनुरोधलाई वेवास्ता गरे प्रतिकार गर्ने तयारीमा छौँ ।’

उहाँले माग र आवश्यकता दुबै कुरालाई हेरेर योजना बनाउनुपर्ने भन्दै न्युरोडमा सडक काटेर फुटपाथ बढाउनुपर्ने आवश्यकता नरहेको र त्यहाँका स्थानीयको माग पनि नरहेकाले यो योजना तत्काल रोक्नुपर्ने उहाँको भनाई छ ।

‘न्युरोड वडा–२२ भित्रपर्छ । यो योजनाबारे यहाँका स्थानीय, जनप्रतिनिधि कसैसँग पनि सहकार्य भएको छैन,’ अध्यक्ष महर्जनले भन्नुभयो, ‘हाम्रो माग छैन । सहमति छैन । यसरी हचुवाका भरमा सबैलाई वेवास्ता गरेर अघि बढेको अवस्थामा हामीले प्रतिकार गर्नुको अर्को विकल्प छैन ।’

उहाँले न्यूरोडको क्षेत्राधिकार महानगरसँग नभएको भन्दै क्षेत्राधिकार मिचेर अघि बढ्ने अधिकार पनि मेयरसँग नभएको चेतावनी दिनुभयो ।

‘मेयरले क्षेत्राधिकार मिचेर अरुलाई अनादार गर्छन् भने हामीले उनलाई आदर गर्नुपर्ने कुनै आवश्यकता छैन । देशको नीति, नियम, विधि–विधान नमान्ने मेयरलाई यहाँका जनताले मानेर बस्नुपर्ने के–छ ? ,’ उहाँले प्रश्न गर्नुभयो, ‘यो विषयमा स्थानीय जनताले सम्झौता गर्ने छैनन् ।’

[bsa_pro_ad_space id=68]