वेलायतबाट फर्किएपछि डंगोलले भन्नुभयो– ‘आगामी नोभेम्बरमा ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्छौ’

काठमाडौं २० जेठ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा सहभागी भएर आज स्वदेश फर्कनुभएको छ । स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उपप्रमुख डंगोलले आउँदो नोभेम्बर महिनामा काठमाडौँले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताउनुभयो ।

‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो,’ डंगोलले भन्नुभयो, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’

सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्टे«लियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राख्नुभएको थियो । फेस्टिभलको संवाद सत्रमा उहाँहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गर्नुभएको थियो ।

संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताउनुभएको थियो ।

सम्मेलनपछि विभिन्न द ब्रिटिस एकेडेमी, ब्रुनल युनिभर्सिटी, रोयल जिओग्राफिकल सोसाइटीसहित विभिन्न संघसंस्थाले आयोजना गरेको ‘इन्डिजिनाइजिङ् द हिमालयज’ कार्यक्रममा सहभागी हुनुभयो । नेपालका हिमाली क्षेत्रका तस्विर देखेर बनाइएका गलत धारणा र प्रचारलाई सुधार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै उहाँले नेपाली संस्कृतिको उचाइलाई घट्न नदिन सबै प्रकारका प्रयासहरु गरिरहनु पर्ने बताउनुभयो ।

यस क्रममा अक्सफोर्ड विश्वविद्यालयमा ‘सहरीकरणको अभ्यास ः अवस्था र आवश्यकता’ विषयमा काठमाडौँको प्राचीनता जोगाउन र आधुनिक आवश्यकता पूरा गर्न महानगरपालिकाले गरेको प्रयासका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । डंगोल व्रिटिस काउन्सिलको निमन्त्रणामा फेस्टिभलमा सहभागी हुन जानुभएको हो । मेनचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिंदैछ ।

स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो । यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसक्नुभएको छ ।

लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । हालसम्म विश्वका ६ महादेशहरुको ४५ भन्दा वढी स्थानहरुमा ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।

उपप्रमुख नेतृत्वको भ्रमण टोली स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा सहभागी भएको थियो । यस्तै लण्डनस्थित वेलायतका लागि नेपालको राजदूताबासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी भएको थियो । भ्रमण अवधिमा टोली, अक्सफोर्ड विश्वविद्यालय, वल्र्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर टोली आज स्वदेश फर्किएको हो ।