जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले शासक होइन जनसेवक भएर काम गर्नुपर्छः सांसद डाक्टर शाक्य

काठमाडौं, २३ जेठ । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि कर्तव्यवोधलाई ध्यानमा राखेर सहकार्य, सहयोग र समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रसँग राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सेवा प्रवाहका गुनासो र बढ्दो भ्रष्टाचार निवारणमा राष्ट्रिय सतर्कता केन्द्रको भूमिका’ विषयको बैठकमा उहाँले यस्तो उल्लेख गर्नुभएको हो । ‘हामीले जनताको आवाजलाई ध्यान दिने मात्रै होइन जनउत्तरदायी पनि हुनुपर्छ,’ शाक्यले भन्नुभयो, ‘हामी स्वयं सांसदहरुमा मात्रै होइन, मन्त्री र राष्ट्र सेवक कर्मचारीले पनि हामी शासक होइन स्वयंसेवक हौँ र हामीले जनतालाई सहज र सरल सेवा दिने कुरामा कमजोरी गर्नुहुँदैन भन्ने भावना जागृत हुनुपर्छ र हामीले जनसेवक भएर काम गर्नुपर्छ ।’

उहाँले आर्थिक अनुशासनका कुरामा पनि ध्यान दिन आवश्यक रहेको भन्दै कतिपय सन्र्दभमा सार्वजनिक खरिद ऐनको झन्झटिलो प्रक्रियाले समस्या भएको उल्लेख गर्नुभयो । त्यसको सुधारको आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

‘सरकारको प्रभावकारितामा प्रधानमन्त्री, मन्त्री मात्रै नभई सरकारमा रहेका सम्पूर्ण अर्थात राजनीतिक दलका नेता हुन् वा राष्ट्र सेवक कर्मचारी सबैको उत्तिकै भूमिका रहेको हुन्छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको प्रमुख चुनौति भनेको भ्रष्टाचार नियन्त्रण र विधिको शासनको पालना नै हो । त्यसका लागि सतर्कता केन्द्रले आफ्नो कार्यक्षेत्र भित्र रहेर अझै प्रभावकारी भूमिका खेल्नुपर्नेहुन्छ ।’

बृहद् नागरिक सहभागिता अघि बढाएको अवस्थामा सफलता प्राप्त गर्न सकिने उहाँको भनाई थियो । ‘पारदर्शिता र जवाफदेहितामा हाम्रो अवस्था कस्तो छ ? कुशल व्यवस्थापनमा हामीले कस्तो भूमिका खेलका छौँ । हामीले आधारभूत सेवा सहज र सरलरुपले दिन सकेका छौँ कि छैनौँ ? यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै व्यवहार र बोलिचबचनमा पनि हामी नजउत्तरदायी हुनुपर्छ । राष्ट्रलाई माया गर्नुपर्छ । त्यसका लागि विद्यालय तहदेखि नै नैतिक शिक्षा र आध्यात्मिक

शिक्षाका ज्ञानहरु दिनुपर्छ भन्ने लाग्छ । हामीले आजैदेखि यो कुरामा ख्याल गरियो भने आगामी आठ, दश वर्षसम्ममा धेरै भन्दा धेरै असल नागरिक उत्पादन गर्न सक्छौँ ।’
उहाँले डिजिटल सेवामा बढी ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो । ‘सेवाग्राहीको बढी भीड हुने ठाउँमा हामीले डिजिटल सेवा प्रदान गर्न सकियो भने उहाँहरुलाई सहज सेवा दिन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचार हुनसक्ने काममा नियमित निगरानी राख्नेलगायतका कुरमा अझ प्रभावकारी भूमिका सतर्कता केन्द्रले खेल्ने अपेक्षा लिएको छु ।’