राष्ट्रिय झण्डा फहराउँदै सुनधारा सरसफाइमा जुटेका पौरखी हातहरु (१५ तस्बिर)

काठमाडौं, २४ जेठ । कुनै समय मल्लकालीन सुन्धारा अर्थात सुनको धाराको चर्चा निकै हुने गथ्र्यौ । बाह्रैमास पानी आउने यो धारामा अहिले पानी त आउँदैन नै विस्तारै यो धाराको अस्तित्व नै संकटमा परेको छ  ।

पहिला–पहिला धरहरा नजिकैको बाटो ओहोरदोहोर गर्दा बटुवाहरुले तिर्खा लागे त्यहि सुन्धारामा कलकल बगेको पानी पिउँथे । तर, करीब २०–२२ वर्षदेखि त्यहाँ त्यो खालको दृष्य हराएर गएको छ ।

वसन्तपुरदेखि भोटेबहालसम्मका बासिन्दा कुनै बेला त्यहि सुन्धारासम्म पानी लिन ग्रागी बोकेर आउँथे ।

अहिले त्यो दृष्य पनि लोप भएर गएको छ । पछिल्लो समय सुनधारा वरीपरी बनेका संरचनाले पनि यो धारो थप संकटमा परेको छ ।

अब त्यो धारामा पहिलाको जस्तो कलकल पानी आउन त संभव होला–नहोला तर त्यसको संरक्षण गर्नुपर्छ भन्ने चासो अवश्य बढ्न थालेको छ ।

बुधबार बिहानै करीब २ सय जति मानिसहरु राष्ट्रिय झण्डासहित त्यहि सुन्धारामा देखिए ।

अस्तित्व नै संकटमा परेको सुन्धारामा राष्ट्रिय झण्डा बोकेर आएका कसैको हातमा झाडु थियो भने कसैले कुटो बोकेका थिए । अनि कसैले झम्पल र कसैले हँसिया बोकेका थिए ।

विहानको झुल्केघामसँगै उनीहरु सुन्धारा आइपुग्दा धरहरा र संचयकोष जस्ता विशाल भवन र संरचनाका विचमा दुई ठूला छिमेकी मुलुक भारत र चीनको बिचको सानो नेपाल जस्तो सुन्धारा आफ्नो अस्तित्व खोज्दै पुर्ननिर्माणको पर्खाइमा बसिरहेको थियो ।

कतै झारहरुले ढम्म ढाकेको देखिन्थ्यो भने कतै पिपलका झ्याङ र अरु बुट्यानहरुले सुनधाराको अस्तित्व विस्तारै विस्तार गर्दै गएको देखिन्थ्यो ।

बसाइँ छाडेको घर जस्तो बेवारिस सुन्धारा सयौँ मानिस एकै पटक आएर सरसफाइमा जुट्दा कता–कता त्यहि सुन्धारा पनि आफ्नो गौरवपूर्ण इतिहास फर्किने आशामा मुस्कुराइरहेको अनुभूति हुन्थ्यो ।

नेकपा (एमाले)को सातौँ जिल्ला अधिवेशनको अवसर पारेर काठमाडौं महानगर कमिटीले सम्पदा बचाउँ भन्ने अभियानसहित यो सरसफाई कार्यक्रमको आयोजना गरेको रहेछ । कार्यक्रम एमालेले गरेको भए पनि त्यहाँ एमालेका झण्डा कतै थिएनन् ।

बरु त्यहाँ राष्ट्रिय झण्डाहरु भने फहराई रहेका थिए ।

त्यहाँ उपस्थित करीब २ सयको टोलीमा आएका कसैले झार उखेले, कसैले त्यहाँको लेउ र झ्याउ सफा गरे भने कसैले त्यहाँको फोहोरलाई झाडु लगाएर सफा गरे । त्यहाँका झार र बुट्यानहरुले छोपिएको धरहरा केहीबेरमै चिरिच्याट्ट भयो ।

सुनधारा काठमाडौं महानगरपालिकाको वडा–२२ मा पर्छ । वडा–२२ का अध्यक्ष पनि आफ्नो क्षेत्रको सम्पदाका बारेमा चासो राखेर सम्पदा बचाउँ अभियन्तासँगै एमालेले गरेको सरसफाई कार्यक्रम देखेर दङ्ग पर्नुभएको रहेको छ ।

‘काठमाडौं सम्पदाको सहर हो । यहाँका सम्पदा बचाई राख्नु हाम्रो दायित्व हो,’ उहाँले भन्नुभयो, ‘सम्पदा बचाउने अभियानको यो थालनी हो । हामी निरन्तर लाग्छौँ । इतिहास कसैले मेटाएर मेटिने चिज होइन । यस्को संरक्षण गर्नुपर्छ । हामी सबै मिलेर लागौँ ।’

आफ्नो अधिवेशनको पूर्वसन्ध्यामा जनचेतनामुलक कार्यक्रमसहित अघि बढेको एमालेको यो अभियानलाई त्यहाँ उपस्थित अभियन्ताहरुले पनि सकारात्मक भएको भन्दै यस्तो अभियानमा हातेमालो गर्न आफूहरु तयार रहेको बताए ।