युवराज खतिवडाका नजरमा गोविन्दबहादुर थापा
काठमाडौं, २८ । डा. गोविन्दबहादुर थापा मेरो लामो समयसम्मका एक सहकर्मी मित्र हुनुहुन्थ्यो। २०४० सालतिरको कुरा हो, जब म नेपाल राष्ट्र बैंकको जागिरको सुरुवाती वर्षमा थिएँ, बैंकको अफिसर्स क्यान्टिनमा खाजा खाइरहँदा अर्को टेबलमा मस्तसँग खाजा खाइरहेको एक जना नौलो लाग्ने खाइलाग्दो व्यक्तिमा मेरा आँखा पुगे। छेवैको साथीलाई खुसुक्क सोधेँ, ती व्यक्ति को हुन् भनेर। जवाफ पाएँ– ती व्यक्ति नेपाल राष्ट्र बैंककै पोखरा शाखामा कार्यरत सहायक अधिकृत गोविन्दबहादुर थापा भनेर।
क्यान्टिनबाट निस्कने बेलामा सामान्य नाम साटासाट गरियो। त्यो पहिलो दिन थियो उहाँसँग भेट भएको। उहाँ सायद पीएचडी गर्न भारत जाने तयारीको सन्दर्भमा पोखराबाट काठमाडौं आउनु भएको थियो। भारत सरकारको छात्रवृत्तिमा उहाँ पीएचडी गर्न वरोडा गएपछि उहाँसँगको दोस्रो भेट एकैचोटि पीएचडी अध्ययन सकेर नेपाल फर्केपछि मात्र भयो। त्यसपछि म कार्यरत रहेको बैंकको अनुसन्धान विभागमा उहाँको पोष्टिङ भएपछि हामीले फेरि सँगसँगै काम गर्ने अवसर पायौं।
त्यसबीचमा राष्ट्र बैंकको अनुसन्धान विभागको सरकारी वित्त शाखामा उहाँ कार्यरत रहँदा हाम्रो ‘शून्य समय’ वा बिहानको चिया खाने थलो भनेको उहाँको कोठा हुन्थ्यो, जहाँ हामी राजनीति, समाज, विकास र पारिवारिक विषय साटासाट गथ्र्यौं। वैचारिक रुपमा एकै ठाउँमा भएका कारण पनि हाम्रो सामीप्य स्वाभाविक थियो।
म कोलम्बो प्लान छात्रवृत्तिअन्तर्गत २०४५ सालमा पीएचडी अध्ययनकै सिलसिलामा दिल्ली गएपछि २०४८ सालसम्म हाम्रो भेट फेरि पातलो भयो। तथापि, त्यसबीचमा भेट हुँदा २०४६ को आन्दोलन र पञ्चायती सरकार ढालेर प्रजातान्त्रिक व्यवस्था ल्याउने नेपालीको प्रयासलाई सहयोग पुग्ने गरी भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीबारे र वामपन्थी राजनीतिबारे हामीबीच निरन्तर गहन छलफल हुन्थ्यो। उहाँ विभिन्न पत्रिकामा विभिन्न नाममा राजनीतिक लेख लेखिरहने र मातृभूमि साप्ताहिकको त नियमित स्तम्भकार नै भएकाले उहाँका लेखहरुबारे मैले कतिपय समयमा विमति पनि राख्ने गर्थें।
भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीका सन्दर्भमा पनि भारतको विरोध गरी लेख लेखिरहँदा त्यो पञ्चायती व्यवस्थालाई सहयोग पुग्ने गरी चाहिँ नहोस् भनेर मैले उहाँलाई धेरैपटक स्मरण पनि गराएको थिएँ। विद्यार्थीकालदेखि नै वामपन्थी विचारमा अडिग थापाजी राजनीतिक विकासक्रम, राजनीतिक दलहरु, सरकार तथा समाजबारे ठोस धारणा बनाउने मात्र होइन, त्यसलाई विभिन्न माध्यमबाट अभिव्यक्ति दिने पनि गर्नुहुन्थ्यो। धापासीमा उहाँले किनेको जमिनमा कति धान फल्यो वा उहाँका छोराछोरी कति–कति कक्षामा पुगे, त्यसको सबै जानकारी हामीलाई हुन्थ्यो। उहाँको घरमा मार्फाको ‘स्याउ’ आएको जानकारी पनि भइरहन्थ्यो।
अनुसन्धान विभागमै कार्यरत र विचार मिल्ने ‘स्याउ’ का पारखी साथीहरुले उहाँको निम्तालाई साथ पनि दिन्थे। भलै मैले त्यो पक्षमा उहाँहरुलाई साथ दिन सक्दैनथें। २०४८ सालमा म पनि पीएचडी सकेर फर्केपछि फेरि बैंकको आर्थिक अनुसन्धान विभागका कर्मचारीका रुपमा हाम्रो दैनिक भेटघाट हुने नै भयो।
त्यही साल उहाँको आन्तरिक फायल बढुवाबाट द्वितीय श्रेणीमा पदोन्नति भयो, त्यसको तीन महिनापछि आन्तरिक प्रतिस्पर्धाबाट मेरो पनि द्वितीय श्रेणीमा पदोन्नति भयो। त्यसपछि मैले विभागको मौद्रिक शाखामा र उहाँले सरकारी वित्त शाखामा रहेर काम ग¥यौं। तर त्यसबीचमा उहाँ अर्थ मन्त्रालयको सल्लाहकारका रुपमा काजमा जानुभयो, जुन बेला महेश आचार्य अर्थमन्त्री हुनुहुन्थ्यो। नेपाली कांग्रेसको सरकारमा अर्थमन्त्री आचार्यको सल्लाहकार भएर गएकामा हाम्रो वृत्तमा केही टीका–टिप्पणी पनि नभएका होइनन्।
समाजवादी सोच राख्ने साथी पुँजीवादी अर्थतन्त्रको पैरवी गर्ने सरकारमा गएर कसरी काम गर्नुहोला भन्ने जिज्ञासा रहे पनि सेवामा यस्ता चुनौती आइरहनु स्वाभाविक हो भन्ने भयो। उहाँ अर्थ मन्त्रालय गएपछि भने हामीबीच संस्थागत रुपमा फरक दृष्टिकोण बन्न थाले। राष्ट्र बैंकको काम–कारबाहीबारे उहाँको छद्मनाममा आलोचनात्मक लेखहरु आउन थाले। त्यो कसको लेख हो भन्ने कुरा साथीको हैसियतले हामीले थाहा नपाउने कुरै भएन। कतिपय अवस्थामा मैले राष्ट्र बैंकका तर्फबाट औपचारिक लेखका माध्यमबाट नै त्यसको जवाफ दिनुपर्ने अवस्था आयो। धेरैजसो उहाँ दृष्टि साप्ताहिकमार्फत त्यस्ता लेख प्रकाशित गर्नु हुन्थ्यो। कतिपय लेख कर्मचारीका नाममा लेख्न आचारसंहिताले नदिने भएका कारण पनि छद्म नाममा लेख्नु परेको सहजै बुझ्न सकिन्थ्यो।
तर, लेखमार्फत आएका उहाँका विचार मननीय तथा विचारोत्तेजक हुने कुरामा शंका थिएन। त्यसले उहाँको राष्ट्रबैंकको सेवाकालमा बेलाबेला तरंग पनि नल्याएको होइन। २०५१ सालमा नेकपा एमालेको सरकार बनेपछि उहाँलाई राष्ट्र बैंकमा फर्काउने र मलाई अर्थमन्त्री भरतमोहन अधिकारीको सल्लाहकारका रुपमा अर्थ मन्त्रालय बोलाउने प्रस्ताव पनि नआएको होइन। तर मैले थापाजी अर्थ मन्त्रालयमा रहँदा नै अर्थमन्त्रीलाई सहयोग पुग्ने र म भने अर्थमन्त्रालय आउन इच्छुक नरहेको धारणा राखेपछि उहाँ त्यहीं रहेर २०५२ सालसम्म काम गर्नुभयो। राजस्व विषयमा पीएचडी गर्नुभएका थापाजीबाट भरतमोहन अधिकारीले धेरै नै सहयोग पाउनुभयो भन्ने मलाई लाग्छ। पछि लोकेन्द्रबहादुर चन्दको सरकारमा भौतिक विकास मन्त्री हुँदा र पछि पटक–पटक उपप्रधान तथा अर्थमन्त्री हुँदा पनि उहाँले थापाजीलाई सँगै लिएर गएबाट उहाँ थापाजीको सहयोगबाट प्रभावित हुनुहुन्थ्यो भन्ने स्पष्ट हुन्छ।
एमाले सरकारको एक मन्त्रीको बारम्बार सल्लाहकार भइरहँदा उहाँको नेपाल राष्ट्र बैंकको जागिरमा पदोन्नति तथा आफ्नो व्यावसायिक व्यक्तित्वमा केही असर नपरेको होइन। केही ढिलो गरी प्रथम श्रेणीमा पदोन्नति भए पनि उहाँले विशिष्ठ श्रेणीसम्मको सेवा गरी सेवानिवृत्त हुन पाउनु र त्यसअघि एसियाली विकास बैंकको सल्लाहकारजस्तो आकर्षक उच्च पदमा रहेर काम गर्न पाउनु उहाँको सफलता हो भन्ने मैले ठानेको छु। डा. थापा सरकारी वित्तका ज्ञाताका रुपमा आर्थिक जगत्मा चिनिएको नाम हो। उहाँका लेख रचनामध्ये छद्म नाममा लेखिएका राजीतिक लेखबाहेक अरु प्रायःजसो सार्वजनिक वित्त तथा राज्य सञ्चालनकै वरिपरि रहेबाट पनि यस क्षेत्रमा उहाँको दख्खल र रुचि प्रकट हुन्छ।
डा. थापा खान–लाउनमा पनि सौखिन हुनुहुन्थ्यो जस्तो मलाई लाग्छ। धापासीमा चिटिक्क परेको घर बनाएपछि एक दिन उहाँले मलाई उहाँको घरपारितिरको मन्दिरको छतमा लगेर सगौरव आफ्नो आकर्षक नयाँ घर देखाउनु भएको स्मरण ताजै छ। हाँसो–ठट्टाका धनी उहाँलाई पुत्र– वियोगको शोक पर्दाका ती दुःखद दिनमा हामी सबै साथीहरु उहाँको साथमा नै रहेका थियौं। वैचारिक रुपमा हामी एकै ठाउँमा भएकाले पनि धेरै कार्यक्रममा तथा नीति निर्माण गर्नुपर्ने अवस्थामा धेरै काम सँगै गरेका छौं। वाकपटुताका धनी थापाजीको क्षमता प्रायःजसो छलफल तथा बहसमा प्रस्ट प्रदर्शित हुने गथ्र्यो।
एउटै संस्थामा काम गर्दा र प्रतिस्पर्धाबाट उत्कृष्टता प्रदर्शन गर्नुपर्ने अवस्थामा हामीबीच केही ठेलमठेल पनि नभएको होइन। उहाँभन्दा पछि बैंकमा प्रवेश गरेको मेरो प्रथम श्रेणीमा पदोन्नति उहाँको भन्दा अघि हुँदा अलि चित्त दुखाउनु भएको मलाई अनुभूति भएको थियो। तर हाम्रो मित्रता र सहकार्यमा त्यसले कुनै ठूलो अवरोध ल्याएन। म राष्ट्र बैंकको गभर्नर हुँदा उहाँ सेवानिवृत्त भइसकेको हुँदा सँगै काम गर्ने थप अवसर मैले पाइनँ। म अर्थमन्त्री भएको समयमा पनि उहाँका आलोचनात्मक लेख मैले ध्यान दिएर पढेको छु र पृष्ठपोषण पनि पाएको छु।
उहाँको तीन वर्षअघि भएको असामयिक निधनबाट देशले एक होनहार अर्थविज्ञ तथा हामीले लामो समयदेखिको एक असल साथी गुमायौं। उहाँ बितेर गए पनि उहाँका कृति तथा देशको आर्थिक विकासमा उहाँले विभिन्न क्षमतामा पु¥याउनु भएको योगदान अविस्मरणीय छ। यो स्मरण लेखिरहँदा सार्वजनिक वित्त अप्ठ्यारो स्थितिमा रहेको वर्तमान अवस्थामा उहाँ भएको भए कस्तो धारणा राख्नुहुन्थ्यो होला भन्ने जिज्ञासा अहिले पनि मेरो मनमा उब्जिरहेको छ।
(डा. युवराज खतिवडा पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुनुहुन्छ। २६ जेठमा सार्वजनिक भएको पुस्तक ‘डा.गोविन्दबहादुर थापा स्मारिका’ बाट)