गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री दाहाल

चितवन, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।”

उहाँले कृषि विज्ञानमा भर्ना हुने र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताउनुभयो । प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।विश्वविद्यालयले आवश्यकताअनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गर्नुभयो । दाहालले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गर्नुभयो ।

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पार्नुभयो ।