नगरसभा स्थगनको दोष अरुलाई थुपारेर ब्राजिल यात्रामा मेयर बालेन
काठमाडौं, ३ असार । आर्थिक वर्ष २०८१–८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठक स्थगित गरेपछि मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको अभिव्यक्ति दिनुभयो ।
त्यति मात्रै होइन उहाँले काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने र जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने भन्दै आफ्नो बचाउको अभिव्यक्ति पनि दिनुभयो ।
‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन,’उहाँले लेख्नुभयो, ‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’
पछिल्लो समय विषयान्तर गर्ने र आफूलाई महान बनाउने अनि त्यहि भूलभूलैयामा जनतालाई रणभूल्ल बनाउने अभियानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अग्रपङ्क्तिमा देखिनु भएको छ । करीब २० लाख फलोअर्स रहेको सामाजिक सञ्जाल मार्फत एकतर्फी भ्रम फैलाउने र थप कुनै प्रतिक्रिया नदिने अनि ‘अरु सबै खराव’ भन्ने भाष्य निर्माण गर्ने मेयर साहको प्रवृत्ति हानिकारक देखिएको छ । काठमाडौं महानगरपालिकाको १५ औँ नगरसभाको दोस्रो वैठकमा पनि मेयर साहले जबरजस्ती यहि गलत भाष्य प्रमाणित गर्ने प्रयास गर्नुभएको छ ।
पछिल्लो समय विषयबस्तु बुझेर भन्दा पनि सामाजिक सञ्जाल हेरेर धारणा बनाउने जनतालाई राम्रोसँग भ्रम छर्न सफल साहले उक्त बैठकमा पनि त्यस्तै भ्रम छर्ने रणनीति बनाएर जनतालाई फेरि रणभुल्लमा पार्नुभएको छ ।
मेयर साहसँग जनप्रतिनिधिले केही अस्पष्ट भएका विषयमा सल्लाह गर्न करीब आधा घण्टाको समय मागेका थिए । तर, जनप्रतिनिधिसँग बसेर छलफल गर्ने र अस्पष्ट भएका विषयमा छलफल गर्ने जनप्रतिनिधिहरुको प्रस्तावलाई निरंकुश शैलीमा अस्वीकार गर्दै साहले मनोमानी ढंगले चल्न खोजेपछि बैठक स्थगन मात्रै भएको छैन । बैठक आगामी असार १० गते अर्थात करीब ९ दिनपछि बस्ने भएको छ ।
साहले राजनीतिक दललाई खराब देखाउँदै बैठक १० गतेसम्मलाई स्थगन गरेको जानकारी गराए पनि त्यसको तथ्य भने फरक थियो । केही दिन अघि मात्रै लामो विदेश भ्रमण गरेर फर्किनु भएका साहलाई विदेश भ्रमणको मोह निकै बढ्न थालेको छ । ‘अहिले नीति तथा कार्यक्रममाथिको छलफल र बजेटको नजिक गहन छलफल गर्ने भन्दा पनि उहाँ विदेश सयरको तालिकामा हुनुहुन्छ,’ एक जनप्रतिनिधिले भने, ‘उहाँ अब फेरि ब्राजिल जानुभएको छ । नगरसभाको बैठक नै लामो समयसम्मका लागि स्थगन गरेर विदेश सयर गर्ने हुटहुटी मेयर साहमा देखिएको छ । तर, उहाँले भने ती सबै कुरालाई ढाकछोप गरेर आफू जस्तै जनताको मत प्राप्त गरेर विजयी भएर आएका जनप्रतिनिधिलाई दलको झोला भिराएर आफू मात्रै असल अरु सबै खवर भन्ने भाष्य निर्माण गर्न गलत प्रवृत्तिको भारी वोकेर हिँडिरहनु भएको छ ।’
ती जनप्रतिनिधिले भने जस्तै नीति तथा कार्यक्रम र बजेट जस्तो महत्वपूर्ण विषयमा गहन छलफल हुनुपर्छ । अस्पष्ट भएका विषयमा स्पष्ट भएर छलफलका साथ अघि बढ्नुपर्छ । तर, निरंकुश शैलीमा अघि बढ्ने मात्रै होइन त्यस्तो महत्वपूर्ण विषयमाथिको छलफललाई नै स्थगन गरेर विदेश सयरको हुटहुटी जगाउने कुरा सर्वथा गलत छ ।
मेयर साहले बैठक स्थगन गरेपछि हामीले केही जनप्रतिनिधिसँग कुराकानी गरेका छौँ । हामीले उहाँहरुलाई तपाईँहरुले किन ? सभा बहिस्कार गरेको भनेर गरेका प्रश्नमा जनप्रतिनिधिहरुले साहको निरंकुश शैलीको विरोध गरे ।
प्रवक्ता समेत रहनु भएका वडा–१७ का अध्यक्ष नवीन मानन्धरले सुरुमा तयारी नपुगेर स्थगन भएको भन्दै टार्न खोज्नुभयो । तर, मेयर साहले त ‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’ भनेर तपाईँहरुलाई नै चुनौती दिनुभएको छ नि ? भनेर प्रश्न गरेपछि उहाँले केही आक्रोशित बन्दै भन्नुभयो–‘उहाँको कुरा उहाँसँग हुन्छ । हाम्रो कुरा हामीसँग हुन्छ । उहाँलाई के लाग्यो हामीलाई थाहा छैन । हामी पार्टीबाट चुनाव जितेका मान्छे कांग्रेस नै हुन्छ । स्वतन्त्र हुने वितिक्कै मेरो वडाअध्यक्ष नै खाली हुन्छ । हामी कांग्रेस नै हो ।’
प्रवक्ता मानन्धरले आफूले नै केही अस्पष्ट भएका विषयमा आधा घण्टा जति छलफल गरौँ भनेर मेयर साहसँग समय मागे पनि हुन्न भनेको प्रतिक्रिया दिनुभयो ।
वडा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पनि बैठक रोक्ने विषय उचित नभएको जानकारी दिनुभयो । ‘हामीले नीति तथा कार्यक्रममा धेरै कुरा अस्पष्ट भएकाले मेयसँग नै बसेर स्पष्ट पार्नुपर्ने कुरा थियो,’ डंगोलले भन्नुभयो, ‘हामीले आधा घण्टा समय दिनुहोस् भनेको तर १० गतेसम्मका लागि भनेर स्थगन गरिदिनुभयो ।’
उहाँले कतिपय कुरा मेयरको भिजनसँग पनि जोडिएका हुन्छन् । ती कुरामा पनि छलफल गरेर अघि बढौँ भन्दा मेयरले नमानेको जानकारी दिनुभयो । ‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला’ भनेर मेयर साहले दिएको अभिव्यक्तिलाई के–भन्नुहुन्छ ? भन्ने प्रश्नमा डंगोलले भन्नुभयो– ‘हामीले अहिलेसम्म पनि सहमतिका साथ अघि बढेका छौँ । अब पनि सहमतिका साथ अघि बढौँ भनेको हौँ । तर, उहाँ दलहरुलाई आरोप लगाएर आफू मात्रै राम्रो भन्ने उहाँको ‘थेगो’ जस्तै भएको छ । अरुलाई मात्रै आरोप लगाएर कसरी अघि बढ्न सकिन्छ ? हामीले पनि त सिङ्गो महानगर बनाउने दृष्टिले हेरेका छौँ नि, के उहाँले मात्रै महानगर बनाउने दृष्टि बनाउनु भएको हो र ? हामीले त उहाँका पनि भिजनलाई साथ दिएएर जाऔँ भनेको हो ।’
वडा–२२ का अध्यक्ष चीनकाजी महर्जजनले पनि आफूहरुले केही अस्पष्ट भएका विषयमा छलफल गर्न खोज्दा समय नदिएर सभा स्थगन गरेको आरोप लगाउनुभयो । ‘हामीले न्युरोडलगायतका विषयमा केही स्पष्ट भएर अघि बढ्न चाहेका थियौँ । हामीले उहाँसँग छलफल गर्न खोज्दा बैठक नै स्थगन गरेर निरंकुश शैली देखाउनुभयो । यो खेदजनक छ ।’