न्युरोडमा सवारी निधेष गर्ने हठमा महानगर, स्थानीय र व्यापारीलाई छैन चैन (भिडियो रिपोर्ट)

दिपेन्द्र श्रेष्ठ, मैत्रीन्युज

काठमाडौं, ७ असार । न्युरोड न्युरोड मात्रै होइन दर्बिलो र गर्बिलो इतिहास बोकेको ऐतिहासिक स्थल पनि हो । हो, यहि न्युरोड अर्थात् नयाँसडक पछिल्लो समय कहिले सडक घटाउने र पैदलमार्ग बढाउने अनि कहिले पार्किङ निषेध गर्ने अनि कहिलेचाँहि सवारी प्रवेशलाई नै निषेध गर्ने काठमाडौं महानगरपालिकाको अभियान निकै विवादमा फसिरहेको छ ।

यहि विवादका कारण एकपछि अर्को समस्यामा गुज्रिदैँ आएका त्यहि न्युरोडका व्यापारी र स्थानीयबारे रिपोटिङ गर्न गोधूलिको वरीपरी मैत्रिन्युजको टीम न्युरोड पुग्दा रोडै नभएको वेलादेखि ठिङ्ग उभिइरहेको बुढो पीपलबोट अहिले पनि त्यहि रोड छेउबाट इतिहासदेखि बर्तमानसम्मका घटनाक्रमलाई टुलटुलु हेरेर उभिइरहेको थियो । अनि त्यहि पिपलबोटको छेउमाचाँहि आज भन्दा करीब ६० वर्ष अघि हुचे सार्कीले सुरुवात गरेको बुटपालिस गर्ने कामको इतिहास धानेर केही मानिसहरु बुटपालिस गरिरहेका थिए ।

इतिहासदेखिनै देशका तमाम नेता, कार्यकर्ता, पत्रकार, प्रशासकहरूको जमघटले गुलजार बन्ने न्युरोडसँग त्यहाँका स्थानीय जनताको धार्मिक–सांस्कृतिक सम्बन्ध पनि गाँसिएको छ । भाषा आयोगका सदस्य समेत रहनु भएका न्यूरोडका स्थानीय सुरेश मानन्धरका अनुसार ९० सालको भूकम्पअघिसम्म न्युरोड न्युरोड थिएन । त्यसअघिसम्म न्युरोडको वास्तविक नाम पाको–पुखुद्यां थियो । ९० सालको भूकम्पपछि भने यो क्षेत्रको कायापलट भएको इतिहास भेटिन्छ । ९० सालको भूकम्पपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले सडकको बीचमा आफ्नो सालिक राखी त्यसको चारैतिर चारवटा नयाँ बाटो बनाउन लगाएको र तीमध्ये एउटा बाटो वसन्तपुरबाट पीपलबोट हुँदै टुँडिखेल पुग्ने रहेछ । नेपालमा बाटोसँगै पैदलमार्ग राख्ने योजनाको विकास नै नभएको अवस्थामा सडकसँगै मानिसहरूको आवत–जावतका लागि पैदलमार्ग बनाएको यो नयाँ बाटोलाई नयाँसडक वा न्युरोड भन्न थालिएको रहेछ ।
पहिलो वाणिज्य बैंक– नेपाल बैंक, पहिलो वारुणयन्त्र–जुद्ध वारुणयन्त्र, पहिलो पिच सडक–जुद्ध सडक, पहिलो सिनेमा हल– जनसेवा हल, पहिलो हरियाली पार्क– भूगोलपार्कको इतिहास बोकेको न्युरोडको राजनीति इतिहास पनि दर्बिलो र गर्बिलो देखिन्छ ।

न्युरोडमै बुटपालिस गर्ने गोल्छे सार्की सांसद बनेको इतिहास मात्रै यो न्युरोडले बोकेको छैन । पूर्व प्रशासक, मन्त्री एवम् कूटनीतिज्ञ डा. भेषबहादुर थापाको संस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र (एकतन्त्रदेखि गणतन्त्रसम्म)मा थापाले उल्लेख गरेका केही शब्दलाई हेर्ने हो भने न्यूरोड शक्तिशाली राजनीतिक इतिहास बोकेको स्थल पनि हो । थापाले आफ्नो उक्त पुस्तकमा राजा महेन्द्रले कुनै बेला आफूलाई ‘न्युरोडको पिपलबोटमा के हावा चलेको छ ?’ भनि सोधेको प्रसङ समेत उल्लेख गर्नुभएको छ । धार्मिक, राजनीतिक, सांस्कृतिक मात्रै होइन व्यापारिक इतिहास समेत बोकेको त्यहि न्युरोडलाई अहिले काठमाडौं महानगरपालिकाले विभिन्न बाहनामा विवादमा फसाइरहेको छ ।

दायाँबायाँ विभिन्न पोखरी, बारी र सानो गोरेटोको छेउमा पुस्तौँदेखि हुर्किएका स्थानीयवासीले अहिले मात्रै होइन एडीवीको परियोजनामा पीएल सिंह काठमाडौं महानगरको मेयर रहेका बेलामा पनि न्युरोडलाई यसैगरी ‘सवारी प्रवेश निषेध’ क्षेत्र बनाउने योजना अघि बढाउँदा विरोधमा उत्रिएका थिए ।

करीब तीन दशकपछि फेरि त्यहि परियोजना काठमाडौं महानगरपालिकाले अघि सार्दै गर्दा स्थानीयहरु असन्तुष्ट बनेका छन् । एकातिर पुस्तौँदेखि जन्मदेखि मृत्यु संस्कारसम्म यहि ठाउँमा गर्दै आएका स्थानीयहरुमा आफूहरुलाई विस्थापित गर्ने योजना अनुसार नै यस्तो परियोजना ल्याएको त होइन भन्ने चिन्ताले पनि सताइरहेको रहेछ । केही स्थानीयहरुले भने यो परियोजनाको पछि आर्थिक चलखेल त भैरहेको छैन भनि आशंका व्यक्त गरेका छन् ।

प्रधानमन्त्री जुद्धशमशेरले पाको पुखुद्यां टोललाई बीचमा पारेर त्यसको चारैतिर बनाएका अत्यन्त फराकिला सडकहरू अहिले खुम्च्याउने बहस चलिरहँदा हामी रिपोर्टिङका लागि त्यहाँ पुग्दा स्थानीयहरु मुटुमा बाण लागे जस्तो घाइते अवस्थामा रहेको भन्दै विह्ल बनेर गुनासो गरिरहेका थिए ।

हामीले स्थानीयसँगै त्यहाँका व्यापारीहरुसँग पनि केही कुराकानी गर्यौ । व्यापारीहरुको पनि पीडा खपिनसक्नुको रहेछ । उनीहरुसँग पनि पसल नै बन्न गरेर विस्थापित हुने अवस्थामा पुगेको पीडादायी कथाहरु रहेछन् । व्यापारी र स्थानीय मात्रै होइन त्यहाँ सेवा लिन आउने सेवाग्राहीका पीडा पनि निकै मार्मिक रहेछन् ।

हामी रिपोटिङ सकेर फर्किँदै गर्दा झमक्क साँझ परेको थियो । हामी साँझमा फर्किदै गर्दा उत्तरतिर इन्द्रचोक जोड्ने सडक, दक्षिणतिर पुरानो भन्सार जोड्ने सडक, पूर्वतिर टुँडिखेल पुग्ने सडक र पश्चिमतिर कुमारीघर जाने सिधा र फराकिला सडकको विचमा जुद्ध शमशेरको शालिक अटल बनेर ती सबै दृष्यहरु टुलुटुलु निहालीरहेको थियो ।