डाक्टर शाक्य नेतृत्वको टोली चीनको दश दिवसीय अवलोकन भ्रमण पूरा गरी स्वदेश फिर्ता

काठमाडौं, ८ असार । काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव तथा राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्य नेतृत्वको २९ सदस्यीय प्रतिनिधिमण्डल मित्र राष्ट्र चीनको दश दिवसीय अवलोकन भ्रमण पूरा गरी स्वदेश फर्केको छ ।

 

दुई देशबीचको मित्रता र अन्तरपार्टी सम्बन्ध अभिवृद्धि गर्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको टोलीलाई चीनको अन्तर्राष्ट्रिय विभागले यही जुन ११ देखि २१ सम्म चीन भ्रमण गराएको थियो ।

भ्रमण टोलीले चीनको युनान र शानडोङ प्रान्तको इतिहास र वर्तमान, विकास–समृद्धि, संस्कार–संस्कृतिको अवलोकन भ्रमण गरेको थियो । भ्रमणले दुई देशबिचको सम्बन्धनलाई अझ प्रगाढ बनाउनका साथै गहिरो जनसम्बन्धमा थप टेवा पुगेको भ्रमण टोलीको निश्कर्ष छ ।

‘सशक्त पार्टी सङ्गठन निर्माण एवं चिनियाँ कम्युनिस्ट पार्टी प्रणाली र अत्यन्तै व्यवस्थित पार्टी स्कुलको सञ्चालन र प्रभावबारेमा त्यहाँका नेताहरूसँग अनुभव आदानप्रदान भयो,’ टोली नेता डाक्टर शाक्यले भन्नुभयो,’ ‘युवा टोलीको भ्रमण, टोलीले त्यहाँको इतिहास, वर्तमान, विकास–समृद्धि, संस्कार–संस्कृतिको अवलोकनमा देखाएको चासोले उनीहरु थप उत्साहित भएको हामीले पायौँ ।’

प्रतिनिधिमण्डलमा नेकपा (एमाले) का साथै नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा एकीकृत समाजवादी, नेकपा माले र नेकपा बिप्लव गरी छ वटा पार्टीबाट २९ जनाको सहभागिता थियो ।

नेकपा (एमाले) बाट शाक्यसहित निर्वाचन विभागका सचिव केदार कोइराला, अर्थ तथा योजना विभाग सचिव क्रान्ति बुर्लाकोटी, भूपू सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य एवं मधेस पार्टी स्कुल प्रमुख शंकर महतो सहभागी हुनुहुन्थ्यो ।

भ्रमणमा रहँदा टोलीले त्यहाँ चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा ठुलाठुला आधुनिक कृषि फार्म, विभिन्न उद्योगहरू, विशाल पर्यटन क्षेत्रहरू र जनताको जीवनसँग कसरी गहिरो ढङ्गले जोडिएर अल्पसङ्ख्यक र गरिबको जीवन परिवर्तन गर्दै राष्ट्रले नै गरिबी निवारण गर्न सकिँदो रहेछ भन्ने महत्वपूर्ण ज्ञान हासिल गरेको थियो ।