कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्ति ठान्दा त्यसले समाजमा अराजकता तिम्त्याउँछः सुनिता डंगोल
काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ‘थ्री सी’ अर्थात सहकार्य, समन्वय र सहअस्तित्वको सिद्धान्तलाई सबैले अपनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । आज काठमाडौं महानगरपालिकाको १५ नगर सभाको तेस्रो बैठकमा सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले अराजक अभिव्यक्तिले एक–अर्काबिचमा द्वन्द्व बढाउने पनि उल्लेख गर्नुभयो ।
उहाँले आफैँले उदाहरण बनाउन नसक्ने हो भने वा एक–अर्काले तथ्यपरक कुरालाई ध्यानमा नराखी जथाभावी बोल्ने हो, मनमा जे–जे कुरा आयो बोल्ने हो भने अनि कपोलकल्पित कुरालाई आफ्नो अभिव्यक्तिका रुपमा अघि सार्ने हो भने त्यसले समाजमा अराजकता तिम्त्याउने पनि उल्लेख गर्नुभयो । ‘त्यसले राजनीतिक अराजकता निम्त्याउँछ । यो राजनीतिक अराजकता राम्रो कुरा होइन । त्यसैले पदको मर्म बुझेर हामीले अभिव्यक्ति राख्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भन्ने हो भने काठमाडौँको दरबार जलाउनु, महानगरको दरबार जलाउनु भनेर आज बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्ति हामीले कदापी राख्नु हुँदैन ।’
डंगोलका भनाई जस्ताको त्यस्तै
जबसम्म अपनाउन सक्दैनौँ । कतिपय विषयहरु हामीले बनाएको नीतिमा नै गरिनुपर्ने छलफलका विषयहरु रहेका छन् । त्यो बाहेकका अरु विविध पक्षका विषयहरुको पनि आज उठान भएको छ । जसरी आज नगर सभामा आफ्नो मत सबै जनाले राख्नु भएको छ । त्यो मत राखिरहँदा एउटा कुरा हामीले सधैँ सम्झिनु पर्ने, भुल्नै नहुने र अरुको देखासेखि गरिराख्दा स्थानीय सरकार के–हो भनेर भुल्न नहुने पक्षको महत्वलाई पनि बुझ्नुर्ने हुन्छ ।
यो संसद होइन, यहाँ सरकार पक्ष, प्रतिपक्ष होइन हामी सबै जना एकै छौँ । हामी सबै जना सरकार पक्षमा नै छौँ । हामी सबै जना काठमाडौं महानगर बनाउने एउटै मात्रै उदेश्य छ । त्यहि उदेश्य पूरा गर्नका लागि निर्वाचित भएर आएका छौँ । नगर सभा सदस्यहरुबिच, प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यसँगै नगर कार्यपालिकाका सदस्यहरुबिचमा विभाजन हुनु कदापी राम्रो कुरा होइन । आज केही विषयमा विभाजित हुन खोजेको हो कि जस्तो पनि देखिएको छ ।
यो राम्रो संकेत होइन । संघीयताको मर्मलाई सबै भन्दा बलियो आड दिइरहेको भनेको स्थानीय सरकारले नै हो । स्थानीय सरकारको कामले गर्दा नै संघीयताको महत्वलाई अझै धेरै झल्काउन हामी सफल हुँदै गैरहेका छौँ । घरघरको सरकार, सबै जनताले चुनेको सरकार, सबै जनताको आवाज बोल्ने सरकार भनेर जसरी हामीले भनिरहेका छौँ । मतभेदबाट जनताको सरकार बन्न सक्दैनौँ । त्यसैले पक्ष–विपक्ष भएर होइन एकैमत भएर अघि बढ्नुपर्ने आवश्यकता छ । त्यसमा हामी सबैले मम भनेर सुधार गरेर अघि बढ्नुपर्छ ।
काम गरेर अघि बढ्दा मुख्य गरेर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत अझ वडामा भन्ने हो भने वडाध्यक्ष, वडा सदस्यज्युहरु हामी सबैले काम गरिरँदा सबैको भावनालाई समेटेर काम गर्ने संस्कारलाई हामीले विकाश गरेर अघि बढ्नुपर्छ ।
आज म गर्न सक्छु, म पदमा छु, मैले भनेको हुन्छ भनेर एकअर्कालाई नकार्दै जाने हो भने यसले द्वन्द्व बाहेक अुरु कुरा निम्त्याउँदैन । त्यसैले एक अर्काले एकअर्काको भावनालाई समेटेर जाने संस्कार पनि हामीले विकास गर्नुपर्छ ।
हरेक व्यक्ति फरक छन् भनेपछि मत पनि फरक हुन्छ । फरक मत राख्नै नपाउने र फरक मत राख्ने वितिक्कै विरोध गरे भनेर यो वा त्यो भनेर उपमा दिनुपर्ने आवश्यकता पनि छैन । जहाँ वादविवाद हुन्छ त्यहि विचमा हामीले संवाद खोज्नुपर्छ । फरक मतलाई पनि सम्मान गर्ने अभ्यासको विकास गर्न आवश्यक छ । फरक मतको सम्मानन गर्ने हो भने स्थानीय तहको मर्म विपरीत हुन्छ ।
काठमाडौं महानगरपालिकाले राजनीतिमा युवा आउने कुरालाई उदाहरण दिएका छौँ । योसँगसँगै हाम्रो काँधमा जिम्मेवारी पनि छ । प्रमुखज्युलाई पनि म विशेष अनुरोध गर्न चाहन्छु । तपाईँ, हामीले बोल्ने हरेक कुराले संसार भरकै युवालाई प्रभाव पारिहरेको हुन्छ । हाम्रो अभिव्यक्तिले त्यो अभिव्यक्ति बन्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यसैले तपाईँ म जस्ता राजनीतिमा आउने व्यक्तिहरुले व्यक्ति भन्दा माथि उठेर सोच्नुपर्छ । हामीले काम गर्ने सन्र्दभमा संस्थागत छविलाई कदापी विगार्नु हुँदैन । पदमा वसिसकेपछि पदको मर्यादालाई ख्याल गरेर अघि बढ्नुपर्छ । त्यो उदाहरण अरु कसैले होइन, तपाईँ, म, हामीले दिनुपर्छ ।
हामी आफैँले नै उदाहरण बनाउन नसक्ने हो भने वा एक–अर्काले तथ्यपरक कुरालाई ध्यानमा नराखी जथाभावी बोल्ने हो, मनमा जे–जे कुरा आयो बोल्ने हो, कपोलकल्पित कुरालाई हामीले आफ्नो अभिव्यक्तिका रुपमा अघि सार्ने हो भने त्यसले समाजमा अराजकता तिम्त्याउँछ । त्यसले राजनीतिक अराजकता निम्त्याउँछ । यो राजनीतिक अराजकता राम्रो कुरा होइन । त्यसैले पदको मर्म बुझेर हामीले अभिव्यक्ति राख्नुपर्छ । सिंहदरबार जलाउँछु भन्नु ठिक होइन भन्ने हो भने काठमाडौँको दरबार जलाउनु, महानगरको दरबार जलाउनु भनेर आज बोलिनु पनि ठिक होइन । यस्ता अभिव्यक्ति हामीले कदापी राख्नु हुँदैन । सिंहदरबार जलाउने, महानगरपालिका जलाउने, डुबाउने यस्ता अभिव्यक्ति राम्रा होइनन् । यस्ता जलाउने, विगार्ने, भत्काउने, दुःख दिने, झगडा गर्ने, द्वन्द्व गर्ने जस्तो बाटोमा हामी नलागौँ ।
कम्तिमा काठमाडौं महानगरपालिकाले देशै भरीलाई उदाहरण बनाउनुपर्छ । हामीले थ्री सी अर्थात सहकार्य, समन्वय र सहअस्तित्वको सिद्धान्तलाई हामीले जबसम्म अपनाउन सक्दैनौँ । तबसम्म हामीले जुन गतिमा अघि बढ्नुपर्ने हो बढ्न सक्दैनौँ । प्रमुखले उपप्रमुखको अस्तित्वलाई, उपप्रमुखले वडाध्यक्षको र वडाध्यक्षले सदस्यहरुको अस्तित्वलाई स्वीकार नगर्ने अर्थात एकले अर्काको अस्त्वि स्वीकार नगर्ने हो भने यसले विकास होइन विनासतर्फ लैजान्छ । हामीले हाम्रो सम्बन्ध बनाउनेबाट सुरु गर्नुपर्छ । एकअर्कालाई सम्मान गर्नेबाट सुरु गर्नुपर्छ । कहिले कुन नेतालाई गाली गर्ने कुरा ठिक होइन ।
मतभेद हुनसक्छ तर मतभेद भयो भने संवादबाट सहमतिको बाटो खोज्नुपर्छ । त्यसलाई इगोका रुपमा लिनुहुँदैन । मैले भनेको जस्तो निर्णय भयो भने मेरो जित भयो अरुको हार भयो भनेर लाग्नु भनेको हाम्रो स्थानीय सरकारको, संविधानको, स्थानीय सरकार सञ्चालन ऐनको विरुद्धमा हुन्छ । हामी सबैले आ–आफ्नो वाकस्वतन्त्रताको प्रयोग गरौँ । त्यो लोकतन्त्रको सौदर्य हो । तर, यो मत राख्दै गर्दा वा वादविवाद गर्दैगर्दा त्यसको एउटै बाटो भनेको संवाद र सहमति नै हो । फिल्डमा गएर वादविवाद होइन कार्यपालिका र नगर सभाको हलमा गरौँ । हामी एक मना एकताका साथ अघि बढौँ । महानगरपालिकालाई फुटाउने, टुक्र्याउने, जलाउने होइन हामी सबैबिचको सम्बन्धलाई बुझ्ने कुरामा बलियो बनाउने गरी लागौँ । त्यसले महानगवासीको काम गर्ने बाचालाई पूरा गर्न सहयोग मिल्छ ।