छानबिन समितिले माग्याे गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण
काठमाडौं, १२ असार । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिनुभयाे । समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सन्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको हाे ।
ती सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक बित्तिय विवरणका साथै बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले बताउनुभयाे ।
उहाँले गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रित रहेको बताउनुभयाे । साथै, टीओआरको अनुसूची-२ मा रहेका सहकारीको अनुसन्धानका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने पनि निर्णय भएको छ ।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।