देउवा ओलीबिचको भेटपछिको तरङ्गः कांग्रेस पदाधिकारी बैठकको तयारीमा, ओली–प्रचण्ड सिहदरबारमा
काठमाडौं, १६ असार । नेपालको राजनीतिक समीकरण कतिबेला परिवर्तन हुन्छ यसै भन्न सकिन्न् । आजसम्म ठिकठाक चलिरहेको सरकार भोलिपल्टै ढलिसकेको हुन्छ भने आज एक राजनीतिक दलसँगको सहकार्य भोलिपल्ट हुँदा अर्कै समीकरणमा परिवर्तन भएको हुन्छ । अझ माओवादी सत्ता राजनीतिमा प्रवेश गरेपछि नेपालको राजनीति असाध्यै अस्थिर बन्दै आएको छ ।
अहिले नेकपा (एमाले) र माओवादीसहितका दलको सहकार्यमा सरकार छ । मुख्य गरेर एमाले र माओवादीका शीर्ष नेताहरुले यो सहकार्य ०८४ सम्म नै रहने दाबी गर्दै आएका छन् । धेरै पटक समीकरण फेरबदल गर्नुभएका माओवादी अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री प्रचण्ड पनि पछिल्लो समय यो सत्ता फेरवदलको राजनीतिबाट थाकेको अनुमान धेरैले गर्दै आएका छन् । एमाले पनि सकेसम्म वामपन्थीहरु बिचको सहकार्यलाई नै अघि बढाउनुपर्छ भन्ने मान्यतामा रहँदै आएको छ ।
यी तथ्यहरुलाई हेर्ने हो भने वर्तमान सत्तासमीकरण छिट्टै फेरिन्छ भन्ने आधार तै छैन । तर, असार १५ को एक भेटले भने राजनीतिमा केही आशंकाको तरङ्ग सिर्जना गरिदिएको छ । असार १५ मा पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र शेरबहादुर देउवाबिच ओली निवास बालकोटमा करिब ३ घण्टा लामो भेटवार्ता भयो । यो भेटले सबै भन्दा बढी शसंकित प्रधानमन्त्री प्रचण्ड बन्नुभएको छ ।
केही दिन अघि मात्रै कांग्रेस–एमालेलाई खेलाएर पाँचै वर्ष प्रधानमन्त्री अभिव्यक्ति दिनुभएका प्रचण्डलाई यो वार्ताले बढी शसंकित बनाएको हो । देउवा र ओलीबीचको कुराकानी असार १५ को दही चिउरामा मात्रै सीमित भएको भन्दै चर्चा भए पनि प्रचण्ड भने केही खिचडी त पाक्दै छैन भन्नेमा शसंकित बन्नुभएको हो । पत्नी आरजु देउवालाई सँगै लिएरु ओलीसँगको भेटमा पुग्नु भएका कांग्रेस सभापति देउवाले त्यसको लगत्तै पदाधिकारी बैठक बोलाउने निर्णय गर्नुभएको छ । कांग्रेसले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल गर्न बैठक बोलाएको भने पनि केहीले भने बालकोट वार्ताको प्रगतिबारे पो हो कि भनी आशंका पनि गरेका छन् ।
देउवा र ओली नजिकिएपछि प्रचण्डले त माओवादी नेताहरूसँग समेत ओली र देउवाबीचको भेटबारे चासो लिएर छलफल गरेको बुझिएको छ । त्यति मात्रै होइन देउवासँग भेट गरेपछि अलिक बढी नै आत्तिनु भएका प्रचण्डले ओलीलाई बिहानै फोन गरेर हिजोको बालकोट भेटबारेसमेत चासो राखेको बुझिएको छ । आज सिंहदरबारमा ओली, प्रचण्डसँगै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच पनि छलफल भएको छ । छलफल त्यही विषयमा केन्द्रित रहेको बुझिएको छ ।