स्वतन्त्र पार्टीले नै स्वतन्त्रता हनन् गरेपछि महामन्त्रीको मुखमा कालो टेप

काठमाडौं, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ खुलेको दल हो । दल खुलेको छोटो समयमै अकल्पनीय सफलता हात पारेको सो दल भित्र अहिले अनौठा गतिविधि चलिरहेका छन् । आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी हुनुभएको छ । अनुभवी राजनीतिक दलहरुमा रणनीति बढी र स्टन्ट कम हुन्छन् ।

तर, यो दलमा भने पार्टी सभापति रवि लामिछाने मात्रै होइन अन्य नेताहरु पनि देश र संगठन बनाउने भावि रणनीतिमा भन्दा पनि स्टन्टमा बढी रमाउने गरेका छन् । महामन्त्री ढकालले पनि केन्द्रीय समितिको बैठकमा त्यस्तै हर्कत गर्नुभएको छ । उहाँले बैठक लाइभ गर्न माग गर्दै आउनु भएको थियो । तर, ढकालको माग सुनुवाइ नभएपछि त्यसको विरोध मुखमा कालो टेप लगाएर बैठकमा सहभागी हुनुभएको छ ।

ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको दाबी गर्दै आउनु भएको छ । कुनै समय रामकुमारी झाँक्रीले मुखमा कालो टेप लगाएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नुभएको थियो ।

उहाँले आफूले चर्चा कमाउन भृकुटी मण्डप अघिको सडकमा कालो टेप झिकेर भाषण गर्नुभएको थियो । आज ढकालले पनि मास्क बाहिर क्रस गरेर कालो टेप टाँस्दै बैठकमा सहभागी हुनुभएको छ । ढकालले पार्टी सभापति लामिछानेलाई केही दिन अघि बुझाएको प्रतिवेदनले निकै ठूलो हलचल ल्याएको थियो । आज त्यहि प्रतिवदेनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ ।

महामन्त्री ढकालले ३९ जिल्ला पुगेर तयार पारेको प्रतिबेदनमा पार्टी संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्नुभएको छ । महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।