उथलपुथलको संकेत नदेखेपछि असार २८ मै विश्वासको मत लिने मुडमा प्रचण्ड

काठमाडौं, २१ असार । प्रधाननमन्त्री पुष्पकमल दाहाल प्रभचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन जेठ २७ गते दिल्ली प्रस्थान गर्नु अघिसम्म नेकपा (एमाले) नेतृत्वको गठबन्धन ठिकठाक चलिरहेको थियो । तर, जब नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि लिने शपथ कार्यक्रममा सहभागी भएर प्रचण्ड स्वदेश फर्किनुभयो त्यसपछि भने नेपालको राजनीतिमा केही उथलपुथलका संकेतहरु देखा पर्न थाले । सपथ कार्यक्रममा भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मूर्मूसँग शिष्टाचार गर्नुभएका प्रचण्ड स्वदेश फर्किएपछि केही बदलिनु भएको लख सत्तासमीकरणमा रहेको एमालेले विस्तारै लख काट्दै आएको थियो ।
जेठ १५ मा आएको बजेटमा समेत त्यति धेरै सन्तुष्ट नबनेको एमालेले बजेटबारे केही विरोध गरे पनि सत्तास साझेदारीमा रहेका कारण असहयोगी भूमिका भने खेलेको थिएन ।
बजेट भाषणपछिको एमाले संसदीय दलको बैठकलाई सम्वोधन गर्दै ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको भन्दै टिप्पणी गर्नुभएको थियो । आफूहरुसँग राम्रोसँग छलफल समेत नगरी बजेट ल्याएको भन्दै ओलीले अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने उल्लेख गर्नुभएको थियो ।

बामपन्थीहरुको बाहुल्यता रहेको गठबन्धनलाई जसरी पनि ०८४ सम्मको निर्वाचनसम्म लैजाने रणनीति अनुसार नै एमालेले साना–तिना कमजोरीहरुमा आँखा चिम्म गरेर भए पनि माओवादीसँगको सम्बन्धलाई टिकाइराख्ने रणनीति बनाएको थियो ।

तर, जब प्रचण्ड भारतबाट फर्किनुभयो त्यसपछि बदलिएको उहाँको मनबाट भने एमाले सशंकित बन्दै आएको थियो । सत्तासमीकरणलाई ०८४ सम्म किटाउने शर्तमा ओलीले सार्वजनिक रुपमा समेत आफू प्रधानमन्त्री बन्ने खेलमा नरहेको भन्दै आउनु भएको थियो । तर, जब प्रचण्ड एमालेको समेत बचनलाई काट्दै सामान्य कुटनीतिक मर्यादाको समेत ख्याल नगरी प्रमुख सत्ताघटक दलका नेताहरुलाई छलेर मोदीसँग भेट गरी फर्किनुभयो र नयाँ खेलमा लाग्नुभयो अनि एमालेले पनि नयाँ रणनीति बनाएको एमाले नेताहरुको भनाई छ ।

पछिल्लो समय कांग्रेसँग समझदारी गर्ने तहसम्म नजिकबाट सहभागी हुनुभएका नेकपा (एमाले) महासचिव शंकर पोखरेल पनि भारतबाट प्रचण्ड फर्किएपछि उहाँमा फेरिएको रणनीतिका कारण कांग्रेससँग समझदारी गर्नुपर्ने अवस्थामा एमाले पुगेको बताउनु हुन्छ । भारतबाट फर्केपछि एमालेको परामर्शबिनै प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्न थालेपछि एमाले झस्किएको पोखरेलको भनाई छ । प्रचण्डको त्यो रणनीतिलाई एमालेले आशंकाको रुपमा मात्रै हेरेन । स्वयं प्रचण्डसँग सोधखोज गर्दा प्रचण्डबाट चित्तबुझ्दो जवाफ नआएपछि एमाले कांग्रेससँगको परामर्शलाई अघि बढायो ।

कांग्रेससँग सहकार्यका लागि हात बढाउँदै गर्दा एमालेले अर्को गहिरो सूचना प्राप्त गर्यो अर्थात मोदीबाट प्रशिक्षण लिएर नेपाल फर्किनु भएका प्रचण्डले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव राखेको थाहा पायो ।

स्थायी सरकारकाले मात्रै समृद्धिको यात्रा तय गर्न सक्छ भन्ने वकालत गर्दै आएको एमाले टालाटुली सरकारले दिएको ‘डेलिभरी’बाट सन्तुष्ट बन्न सकिरहेको थिएन । अझ प्रचण्ड स्वयंले राष्ट्रिय सहमतिको सरकारको कुरा गरेको मेलो भेटेपछि नामका लागि मात्रै होइन, कामका लागि नै राष्ट्रिय सहमतिको औचित्य पुष्टि गर्नुपर्छ भनेर एमालेले कांग्रेससँग छलफल अघि बढायो । दुई ठूला पार्टी मिलेपछि साना पार्टीको बार्गेनिङ पनि कम हुने ठानेपछि एमाले प्रचण्डलाई कुनै जानकारी नै नदिई अलिक बढी नै कांग्रेससँगको सहकार्यलाई अघि बढायो ।

त्यहि योजनालाई मूतरुप दिन असार १५ गते कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवासहित दहीचिउरा खाने बाहनामा ओली निवास बालकोट पुग्नुभयो र निकै लामो कुराकानी गर्नुभयो । त्यसपछि मात्रै भित्रभित्रै पाक्दै गरेको नयाँ सहमतिको थोरै गन्थ प्रचण्डले पाउनुभयो । तर, त्यतिबेलासम्म समय घर्की सकेको थियो भने पटक–पटक कांग्रेस–एमालेलाई झुक्याउन सफल प्रचण्ड यो पटक आफैँ ती दुई दलको सहकार्यबाट झुक्किने अवस्थामा पुग्नुभएको थियो ।

त्यसपछि भने प्रचण्ड कांग्रेस भड्काउनेदेखि भारतीयहरुलाई दौडाउनेसम्मको खेलोमा लाग्न थाल्नुभयो । बचनका परिपक्क कांग्रेस सभापतिको मन भाँड्न प्रचण्डले प्रधानमन्त्रीको आश्वासन दिनेदेखि भारतको सन्देशसम्म सुनाउन कहिले आफैँ त कहिले दूत पठाएर प्रयास गर्नुभयो । तर, देउवाले ‘सरी’ भनेर जवाफ फर्काएपछि रन्थनिनु भएका प्रचण्डले अझै दौडधूप बढाउन थाल्नुभयो । त्यति मात्रै होइन भारतीय दूतावासको पनि अस्वाभाविक दौडधूप सुरुभयो । त्यो दौडधूपलाई चुनौति दिदैँ जतिसक्दो छिटो कांग्रेस–एमालेले सहमतिको ड्राफ्ट नै तयार पारेपछि राजदूत नवीन श्रीवास्तवले बालुवाटार, बूढानीलकण्ठको दौडधूपलाई बाक्लो बनाउँदै देउवालाई ओलीसँग नमिल्न सुझावसम्म दिन भ्याउनु भयो ।

छँदाछँदैको प्रधानमन्त्री पद गुम्ने अवस्थामा पुगेपछि नराम्रोसँग रन्थनिनु भएका प्रचण्डले अहिले पनि दक्षिणको आर्शिवाद थाप्दै कांग्रेस–एमालेको सहकार्य असफल बनाउने ध्याउन्नमा लाग्नु भएको छ । अहिले दक्षिणको इसारामा प्रचण्डले अन्तर्राष्ट्रिय शक्तिहरूलाई पनि सक्रिय बनाउनु भएको छ ।

दोस्रो ठूलो दल एमालेले समेत समर्थन फिर्ता लिएपछि र कांग्रेसले साथ नदिने भनेपछि प्रचण्डसँग कुनै पनि हालतमा अहिले विश्वासको मत आउने अवस्था छैन । तर, संविधानले दिएको विश्वासको मत लिने ३० दिनमा अचाक्लीसँग खेलेर केही उथलपुथल गर्ने योजनामा प्रचण्ड अहिले पनि सक्रिय हुनुहुन्छ । तर, उहाँको त्यो अश्वाभाविक सक्रियतालाई कसैले पनि निको भने मानिरहेका छैनन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को अस्थिर चरित्र, चकचक, उपद्रो र नाफाघाटा हेर्ने प्रवृत्तिले कांग्रेस र एमाले समीकरण गरेर सरकार बनाउने अवस्थामा आएको भन्दै बढी सक्रिय नबन्न सुझाव दिनुभएको छ ।

अहिले प्रचण्ड भारतको आर्शिवादले कतै कांग्रेस भित्र विभाजन ल्याउने र देउवालाई गलाउने रणनीति सफल बनाउ सकिन्छ कि भनेर लागेको बुझिएको छ । तर, उहाँको त्यो रणनीति सफल हुने देखिदैँन ।

हिजो मात्रै पनि २२ सिटे रवि लामिछाने नेतृत्वको रास्वपा राजीनामा दिने हुँकार गर्दै बालुवाटार पुगेको थियो । तर, प्रचण्डको ललिपपपछि मैन झैँ पग्लिएर फर्किएको थियो । स्रोतका अनुसार प्रचण्डले केही दिन पर्खिन आग्रह गर्दै केही उथलपुथलको संकेत पनि गर्नुभएको थियो । अल्पमतमा पर्नुभएका प्रचण्डलाई छिट्टै राजीनामा गर्न चौतर्फी दबाब परेको छ । भारतको आर्शिवादबाट कुनै सफलता हात पर्ने संकेत नदेखिएको अवस्थामा भने प्रचण्डले केही दिन भित्रै विश्वासको मत लिने र बर्हिगमन हुने अनुमान गरिएको छ । प्रचण्डले असार २८ गते बैठक बोलाउन संघीय संसदलाई पत्राचार नै गरेर सन्देश पठाउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले आजै साँझ सत्तारुढ दलका नेतालाई बोलाएर त्यसको संकेत गर्ने चर्चा चलेको छ ।