१५ सय बढी विद्यार्थीलाई उपमेयर सुनिताको उत्प्रेरणाः राष्ट्र पहिलो भन्ने भावना जगाऔँ

काठमाडौं, २२ असार । राजनीतिक दल र ती दलका भ्रातृ संगठनहरुले गरेका प्रायः कार्यक्रममा मञ्चभरी नेताहरु बस्ने अनि ती नेताहरुले पालैपालो भाषण गर्ने र तल दर्शकदीर्घामा बसेका कार्यकर्ताहरुले नेताहरुका पट्यार लाग्दा भाषण सुन्नुपर्ने हुन्थ्यो । तर, शनिरबार भने अलिक फरक खालको दृष्य एवान पार्टी प्यालेस कोटेश्वरमा देखियो । हो, अरुबेलाको जस्तै शनिबार पनि मञ्चमा नेताहरु लहरै त थिए । तर, त्यहाँ भाषण गर्ने नेताको सूचि भने थिएन् ।

अनि दर्शकदीर्घामा पनि कार्यकर्ता होइन भर्खर एसइई दिएका युवाहरुको भीड खपिनसक्नुको थियो । शुक्रबार साँझदेखि नै परेको अबिरल बर्षा शनिबार पनि रोकिएको थिएन । अबिरल बर्षाको समेत प्रवाह नगरी २०८० साल चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लाबाट उत्तीर्ण विद्यार्थीहरु त्यहाँ उपस्थित भएका थिए ।

नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीले ती विद्यार्थीलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा तय गरेको रहेछ । उनीहरुको आगामी दिनमा थप शैक्षिक सफलताका लागि उत्प्रेरणा जगाई जीवनमार्गमा सही ढंगले अगाडि बढ्न प्रोत्साहित गर्ने, उज्ज्वल शैक्षिक भविष्यका लागि आवश्यक परामर्श दिई हौसला प्रदान गर्ने उद्देश्यका साथ गरिएको त्यो कार्यक्रममा उपस्थित करीब १५ सय विद्यार्थीलाई त्यहाँ नेताहरुले भाषण सुनाएनन् । ‘एसइई उत्तीर्ण विद्यार्थी उत्प्रेरणा कार्यक्रम’ नाम दिइएको उक्त कार्यक्रममा प्रेरक वक्ताका रूपमा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. नन्दबहादुर सिंह, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र रविन कटुवालले उत्पे्ररणा दिनुभयो ।

कार्यक्रममा सम्वोधन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले धेरै जिपिए आउँदा खुशी हुनु र कम आउँदा निराश हुनु नहुने बताउनु भयो । ‘धेरै जिपिए आउँदैमा खुशी हुनु र कम जिपिए आउँदैमा म त सकिएँ भने सोच्नु बेकार हो,’ उहाँले भन्नुभयो, ‘प्राप्त नतिजालाई स्वीकार गरेर आगामी दिनमा राम्रो गर्छु भनेर सोच्नु नै सबैभन्दा उत्तम उपाय हो ।’

रुचि र क्षमताअनुसार मात्र विषय छान्नुपर्नेमा उहाँले जोड दिनुभयो । कसैले विज्ञान, कसैले व्यवस्थापन विषय पढ्ने भनेर निर्णय गरिसकेको अवस्थामा कतिपयचाहिँ के पढ्ने होला भनेर अन्योलमै रहेको हुन सक्ने आकलन गर्दै उहाँले भन्नुभयो, ‘सके पनि नसके पनि म विज्ञान नै पढ्छु, मेरो साथीले जे विषय पढेको छ म पनि त्यही नै पढ्छु, सार्थीसँग छुट्टिन मन नभएकाले त्यही कलेजमै पढ्छु भनेर सोच्नुभएको छ भने त्यो गलत हो । भविष्य उज्जवल बनाउने हो भने आफ्नो क्षमता पहिचान गरेर मात्र विषय रोज्नुपर्छ ।’ किताबी ज्ञानलाई भन्दा पनि व्यावहारिक ज्ञानलाई जोड दिनुपर्ने बताउँदै यस्तो विषयमा गम्भीर भएर सोच्ने बेला आएको उहाँको भनाइ थियो ।

यही विषय नै पढ्नुपर्छ भनेर घरपरिवारले सन्तानलाई दबाब दिन नहुने पनि उहाँले बताउनुभयो । ‘छोराछोरीलाई यहीँ नै विषय पढ्नुपर्छ भनेर दबाब दिने काम नगर्नुहोला । दबाबमा रोजिएको विषय पढ्दा विद्यार्थीलाई मजा आउँदैन । रुचिमा नपरेको विषयमा जबर्जस्ती पढाइ गरे पनि एउटा बिन्दुमा गएर थाक्ने परिस्थिति आउँछ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण म कुन विषयमा राम्रो गर्न सक्छु र म के काम गर्दा खुसी हुन्छु भनेर गम्भीर भएर सोच्नु जरुरी छ ।’ राम्रो अंक ल्यायो भन्दैमा विज्ञान नै पढ्नुपर्ने भन्ने नभएको र विज्ञान लिएर पढ्दैमा सफल नै भइन्छ भन्ने पनि नरहेको उनको भनाइ थियो ।

उपमेयर डंगोलले एसइई सकिएपछि आफू स्वतन्त्र भएजस्तो लागे पनि वास्तविकता त्यस्तो नभएको बताइन् । उनले सुरक्षित भविष्यका लागि सही मार्ग तय गर्ने अवस्था भएकाले एसइईपछिको समय स्वतन्त्र हुनेभन्दा पनि झनै जिम्मेवारीले भरिने बताउनुभयो । ठुलो मान्छेभन्दा पनि असल मान्छे बन्ने सोच सबैले राख्नुपर्नेमा उहाँल जोड दिनुभयो । ‘अहिले हाम्रो देशलाई सबैभन्दा खाँचो भनेको असल व्यक्तिको हो । राष्ट्र पहिलो हो भन्ने भावना सबैमा जाग्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘म कसरी देशलाई योगदान दिन सक्छु, म कसरी अरूलाई सहयोग गर्न सक्छु भन्ने सोच राखे मानिसको चरित्र राम्रो हुन्छ र त्यही व्यक्ति असल नागरिक हुन्छ ।’

प्रतिष्ठा धन र पेसाले भन्दा पनि आचरणले दिने भएकाले त्यसका लागि आफैं सचेत र अग्रसर हुनुपर्ने सुझाव उहाँले दिनुभयो । खुसी र सफलता पनि अरूले निर्धारण गर्नेभन्दा पनि आफैंले र आफ्नै प्रयासले प्राप्त हुने विषय भएको उहाँको भनाइ थियो । अरूसँग तुलना गरेर आफूलाई दुःखी बनाउन नहुने पनि उहाँले बताउनुभयो ।

‘अरूसँग तुलना गरेर आफूलाई कमजोर ठान्ने नगरी आफ्नो लक्ष्य पूरा गरेर सन्तुष्ट हुनतिर लाग्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल हेरेर अरूले केके गरिसकेको भनेर गलत धारणा निर्माण गर्नतिर कदाचित् लाग्नुहुँदैन, सामाजिक सञ्जालबाट नै सकारात्मक धारणा पनि त विकास गर्न सकिन्छ । आफूलाई चिन्नू भनेर सबैले भन्ने गरे पनि त्यो कसरी गर्ने भनेर कसैले सुझाउने नगरेको बताउँदै उहाँले भन्नुभयो, ‘नयाँनयाँ कुरा खोजी गर्न थाल्नुस् । नयाँनयाँ काम गर्ने प्रयास गरिरहनुस् । त्यसपछि आफूलाई सजिलै चिन्न सकिन्छ ।’


कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह र उत्प्रेरक वक्ता डा. रविन कटुवालले एसइई उत्तीर्ण गरी कक्षा ११ को अध्ययनका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई कुन विषय रोज्ने, आफ्नो रुचि, क्षमता र आवश्यकताका आधारमा कस्तो कलेज छान्ने, सफल जीवनका लागि कस्तो तरिकाले अघि बढ्ने, आफूलाई कसरी चिन्ने, आमाबुवा मात्र नभएर समाज र राष्ट्रप्रति आफूहरूको दायित्व के हुने भन्ने विषयमा प्रेरणादायी सन्देश दिनुभयो ।

परिवार, समाज र राष्ट्रका लागि भोलिका दिनमा कसरी योगदान दिन सकिन्छ भनेर आजका विद्यार्थीले वस्तुपरक ढंगले सोच्नुपर्ने र लक्ष्य प्राप्तिका लागि सधैं कठोर संघर्ष गर्नुपर्नेलगायत सुझाव उहाँले दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटब्युरो सदस्य आनन्द पोखरेल, बाग्मति प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्यम बस्नेत, बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोककुमार ठकुरी, उपाध्यक्ष सरोजमोहन लामालगायतले विद्यार्थीहरूलाई शुभकामना दिनुभयो ।

कार्यक्रममा जिपिए ४ ल्याएका विद्यार्थीलाई विशेष सम्मान गरिनुका साथै करीब १५ विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिएको सम्पर्क कमिटीका सचिव धनबहादुर पुलामीले बताउनुभयो । त्यहाँ उपस्थित विद्यार्थीका लागि विभिन्न कलेजका प्रतिनिधिहरूले छात्रवृत्तिको घोषणा गरेको पनि उहाँले जानकारी दिनुभयो ।