माननीयहरुको प्रश्नः पानी नआउने धाराको शुल्क जनताले कहिलेसम्म तिरिरहनु पर्ने ? (भिडियोसहित)

काठमाडौं, २६ असार । राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले मेलम्ची आयोजनाको सुरुवात भएको करीब २६ वर्ष व्यथित हुँदा पनि उपत्यकावासीको स्वच्छ पानी पिउने आशा अझै पूरा नभएको भन्दै त्यो आशा कहिले पूरा हुन्छ भनि प्रश्न गर्नुभएको छ । आज राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै यस्तो प्रश्न गर्नुभएको हो ।
दिगो विकास लक्ष्य ६ नम्बर अन्र्तरगत दिगो स्वच्छ खानेपानी व्यवस्थापन गर्ने सम्बन्धनमा काठमाडौं उपत्यका भित्र खानेपानी उत्पादन वितरण एवं सहज आपूर्तिका लागि देखिएका समस्या चुनौतीलगायतका विषयमा भएको छलफलमा बोल्दै डाक्टर शाक्यले आयोजना पूरा भएपछि सबै काठमाडौंवासीले पानी पिउन पाउने अवस्था हुन्छ कि हुँदैन ? भनी थप प्रश्न पनि गर्नुभयो । शाक्यले पानी नआउने धारामा शुल्क मिनाहा किन गर्न नमिल्ने हो ? भनि प्रश्न पनि गर्नुभयो ।
वर्षायाममा हिलो र हिँउदमा धूलोको समस्या खेप्न काठमाडौंवासी बाध्य भएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराउनुभयो । ‘यस्तो अवस्थामा हामीले सडक बनाउँदा १०, २० ५० वर्षका लागि हुने गरी हामीले सडक बनाउँन किन सक्दैनौँ ?,उहाँको प्रश्न थियो । राष्ट्रिय सभाका अर्का सदस्य वामदेव गौतमले मेलम्ची सुधारका बारेमा केही नसोच्ने अनि यता भएन र उता भएन भनेर नहुने भन्दै स्थलगत भ्रमण गरेर कहाँकहाँ सुधार गर्ने हो हेर्नुपर्छ भन्नुभयो । सदस्य उर्मिला अर्यालले नेताहरुले देखेको सपना पूरा गर्न प्रशासन संयन्त्रले खेल्नुपर्छ भन्नुभयो ।
सदस्य झक्कु सुवेदीले गाउँमा घट्ट बनाँदा त योजना बनाएर बनाउने चलन रहेको भन्दै यत्रो योजना बनाउँदा किन सोचिएन भनि प्रश्न गर्नुभयो । अर्का सदस्य जीतजङ्ग बस्नेतले पनि भाषणमा मेलम्ची खानेपानी भने पनि राज्यको ध्यान त्यसमा नगएको आरोप लगाउनुभयो । उहाँले पनि शाक्यले जस्तैधारामा पानी नआए पनि पैसा तिरिरहनु पर्ने बाध्यता कहिलेसम्म भनि प्रश्न गर्नुभयो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले धारामा पानी नआउने अनि शुल्क तिर्नुपर्ने गुनासोलाई ध्यानमा राखेर लगत संकलन गरिरहेको जवाफ दिनुभयो ।
उहाँले अहिलेसम्म मेलम्ची आयोजनाको खर्च करीब ६७ अर्ब पुगेको उल्लेख गर्नुभयो । मेलम्चीको खानेपानीको हेडवक्र्समा करीब ८०–९० करोडको क्षति भएको भन्दै उपत्यकावासीलाई सबै महिना पानीको सुविधा दिने हो भने हेडवक्र्स सार्नुको विकल्प नरहेको बताउनुभयो ।
बैठकमा सदस्यहरु विष्णुबहादुर विश्वकर्मा, घनश्याम रिजाल, तुलबहादुर विश्वकर्मा, सावित्रि मल्ल, पुजा चौधरी, बन मन्त्रालयका सचिव डाक्टर गोविन्द्र प्रसाद शर्मा, केयुकेएलका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव कुमार पौडेल, उपत्यका खानेपानी विकास वोर्डका सञ्जिव राणालगायतले पनि बोल्नु भएको थियो ।
समितिका सभापति कमला पन्तको सभापतित्वमा सम्पन्न बैठकले काठमाडौं उपत्यकामा स्वच्छ खानीपानी व्यवस्थापन गर्न स्थानीय सहायक स्रोतका रुपमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको पानी निर्वाधरुपमा प्रयोगका लागि निकुञ्जसम्बन्धि नियमावलीको अनुसूचिमा रहेका रोयल्टीलगायतका लागि तत्काल समन्वय गर्न र वातावरणीय प्रभाव मूल्याङ्कन गर्नका लागि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यसैगरी मेलम्ची खानेपानी आयोजनाबाट वर्षभरी नै काठमाडौं उपत्यकामा आपूर्ति र वितरण गर्न देखेका मुलभूत समस्या समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष प्रस्तुत गर्न खानेपानी मन्त्रालयलाई ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ । समितिको बैठकले उपयुक्त समयमा मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमण गर्ने पनि निर्णय गरेको छ ।