मेयर बालेनको निरंकुश शैलीविरुद्ध सडकबाटै सेवाग्राहीलाई सेवा दिदैँ वडा–२२ (तस्बिरसहित)

काठमाडौं, ६ साउन । पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र वडानम्बर २२ का अध्यक्ष वडाध्यक्ष चिनीकाजी महर्जनबिचको विवाद बढी चर्चामा रहेको छ । महानगरपालिकाका मेयर साहको न्यूरोड विस्तार गर्ने ठहमा वडा–२२ वासीले निरन्तर विरोध गरेपछि अहिले यो विषय बढी चर्चामा रहेको हो ।

फुटपाथ विस्तारको निर्णय फिर्ता लिन वडा–२२ का जनप्रतिनिधि र स्थानीयले पटक–पटक दबाब दिए पनि मेयर साहले भने आफ्नो हठ नछाडेपछि अहिले त्यहाँको विवाद पेचिलो बन्दै आएको छ । महानगरले सडक विस्तारमा डोजर ल्याएर तयारी अवस्थामा राखेको छ भने वडाध्यक्ष महर्जनसहित स्थानीयहरु २४ सैं घण्टा न्युरोडमा पाल टाँगेर त्यसको विरोधमा बसेका छन् ।

आजबाट त वडाध्यक्ष महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गर्दै थप दबाब सिर्जना गर्नुभएको छ । महानगरले न्यूरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको काम सडकबाटै गर्ने उहाँहरुको भनाई छ ।

वडा–२२ ले धर्मपथ सडक खण्डको नेपाल बैक जाने बाटोमा केही दिनदेखि पाल टाँगेर मेयर साहको हठका विरुद्धमा आन्दोलन गर्दै आएको छ । त्यहि पाल भित्रबाट काम सञ्चालन गरिरहेको वडा–२२ को भनाई छ ।

वडाध्यक्षको नेमप्लेट र कुर्सी टेबल राखेर त्यहिबाट आज ९ः५५ देखि काम सुरु गरिएको छ । कसैसँग समन्वय नगरी निरंकुश शैलीमा अघि बढ्दै आउनु भएका मेयर साहको ज्यादतिको अहिले सर्वत्र आलोचना सुरु भएको छ ।