‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन र बुद्धका दर्शनबारे विवेचना (भिडियोसहित)
काठमाडौं, ११ साउन । केही दिनदेखिको निरन्तर वर्षाका कारण खुल्न नसकेको काठमाडौंको मौसम बुधबार भने गज्जबले खुलेको थियो । खुलेको मौसमसँगै साउनको दोस्रो हप्ताको उकुसमुुसकको समेत प्रवाह नगरी खुसिबुँको नेपाः ब्याङ्क्वेट परिसरमा कतै धिमेबाज बजिरहेका थिए भने कतै नेवारी बाँसुरी समूहले आफ्नै तालमा बाँसुरी बजाइरहेका रहरलाग्दा दृष्यहरु देखिन्थे । त्यति मात्रै होइन नेवारी भेषभूषा अर्थात हाँकुपटाँसीमा सजिएर बसेका बालबालिकाहरुको मुहारमा देखिएको खुशीले त्यहाँको वातावरण नै लोभलाग्दो बनेको थियो ।
दैनिकजसो कार्यक्रम हुने नेपाः ब्याङ्क्वेट परिसरमा बुधबार भने अलिक फरक खालको दृष्य देखिएको थियो । बिहानैदेखि सुरक्षाकर्मीहरु सुरक्षाका लागि तैनाथ थिए भने समान भेषभूषमा भिक्षुहरु, अनगारिका गुरुमाँहरुहरुको ओहोर–दोहोरले नेपाः ब्याङ्क्वेट परिसर नै बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र जस्तै देखिएको थियो ।
उद्योगी, व्यवसायीदेखि कुटनीतिज्ञहरुको समेत बाक्लो उपस्थितिका कारण पनि नेपाः ब्याङ्क्वेटको परिसर थप गुलजार बनेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा बुधबार बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन कार्यक्रम रहेका कारण त्यहाँको परिवेश गुलजार बनेको थियो ।
त्यसै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स दुर्घटनाग्रस्त भएपछि प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा आउन निर्धारित समय भन्दा केही घण्टा ढिला भएको थियो । प्रधानमन्त्री ओली केही घण्टा ढिला गरी कार्यक्रमस्थलमा आउँदा पनि त्यहाँको भिडभाड भने उस्तै देखिन्थ्यो ।
जब प्रधानमन्त्री ओली कार्यक्रम स्थलमा प्रवेश गर्नुभयो । लामो समयदेखि उहाँलाई स्वागत गर्न बसिरहेका बाद्यबाधकहरु र बाँसुरीवाधकहरुले एकै सुर र तालमा बाजा र बाँसुरी बजाएर स्वागत गरेका थिए । जब ओली दलबलसहित सवारीबाट ओर्लिएर कार्यक्रमस्थलतिर अघि बढ्नुभयो । उहाँलाई हाँकुपटासीमा सजिएर स्वागत गर्नेहरुको लोभलाग्दो लहर देखिएको थियो ।
ओली केही सिढिँ चढेर माथि उक्एिर कार्यक्रम हल भित्र छिर्नु अघि एउटै उमेरका बालिकाहरुले हाँकुपटाँसीमा सजिएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । जब ओली हल भित्र प्रवेश गर्नुभयो । एकै भेषभूसाका भिक्षु र अनगारिका गुरुमाँहरुहरुले स्वागत गरेका थिए । विमान दुर्घटनासँगै १८ जना नेपाली गुमाउँदाको पीडाले निरास बनेको प्रधानमन्त्री ओलीको मुहार पनि एकै पटक एकै भेषभूसाका भिक्षु र अनगारिका गुरुमाँहरुहरुले स्वागत गर्दा कुनै शान्ति क्षेत्र पुग्दा प्राप्त सन्तुष्टि जस्तै केही शान्त बनेको थियो भने पृष्ठभूमिमा पनि त्यहि खालको संगित गुञ्जिरहेको थियो ।
प्रधानमन्त्री ओली कार्यक्रम हलभित्र प्रवेश गर्दा धर्मकीर्ति विहारका प्रमुख धम्मवती गुरुमा, भिक्षु धर्ममुर्ती महास्थवीर, भिक्षु कोण्डन्य महास्थवीर, भिक्षु निग्रोध महास्थवीरसँगै पुस्तकका लेखक डाक्टर अजयक्रान्ति शाक्य पनि मञ्चमा हुनुहुन्थ्यो । ओली मञ्चमा पुगेपछि धम्मवती गुरुँमासँगै राखिएको सोफामा बस्नुभयो र केहीबेर उहाँसँग भलाकुसारी गर्नुभयो ।
जहाज दुर्घटनाका कारण ओली त्यो दिन पीडामा हुनुहुन्थ्यो भन्ने भाव ओलीले कार्यक्रममा सम्वोधन गर्ने क्रममा सुरुमै जहाज दुर्घटनाको सन्दर्भ जोडेकोबाट पनि थाहा हुन्थ्यो । उहाँले प्रसन्न भएर कार्यक्रममा आउने चाहना भए पनि जहाज दुर्घटनाका कारण भारी मनका साथ आएको भन्दै सम्वोधन सुरु गर्नुभयो । उहाँले सम्वोधनको सुरुवातमै मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्नुभयो । जहाजका क्याप्टेनको स्वास्थलाभको कामना पनि उहाँले गर्नुभयो ।
उहाँले बौद्ध धर्म–दर्शन अनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौं ? किन मर्छौ ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्त चेतना भनेका के हुन ? जस्ता यावत प्रश्नहरुको सरल भाषामा जवाफ दिने प्रयास गरिएको उक्त पुस्तकबारे ओलीले करीब ४५ मिनेट जति प्रवचन दिनुभयो । पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मेहनतको पटकपटक प्रसंसा गर्नुभएका ओलीले ज्ञानसंग्रह गरेर पुस्तकका रुपमा बाँडेको भन्दै विशेष धन्यवाद पनि दिनुभयो ।
ओलीले नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएको पनि उल्लेख गर्नुभयो । उहाँले बुद्धधर्मबारे पनि चर्चा गर्नुभयो । उहाँले बुद्धलाई विविध ढंगले चिन्ने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाल बुद्धको जन्मथलो मात्रै नभई बुद्ध दर्शनको थालनी भएको देश पनि हो भन्नुभयो । उहाँले बुद्ध दर्शनलाई जटिल बनाउनु हुन्न भन्दै बौद्ध दर्शन अन्धविश्वासमा आधारित नभइ वैज्ञानिक दर्शनमा आधारित भएको उल्लेख पनि गर्नुभयो ।
ओलीले नेपालबाट बुद्ध दर्शनलाई कमजोर हुन नदिने भन्दै बुद्धको शिक्षाको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्वोधनकै क्रममा उहाँले दान ठूलो कुरा भएको भन्दै आफुलाई मृगौला दान नगरेको भए आफ्नो अहिले १७ औं पुन्यतिथि हुनेथियो भन्दै दानको महत्व दर्शाउनुभयो ।
पुस्तकबारे चर्चा गर्दै भिक्षु कोण्डन्य महास्थवीरले पनि बौद्ध दर्शनबारे विवेचना गर्नुभयो । कार्यक्रममा पुस्तकका लेखक एवं बौद्ध विद्वान डाक्टर शाक्यले आफ्नो पुस्तकबारे चर्चा गर्नुभयो । उहाँले जिवन जिउँने कला वा होशपूर्ण रुपमा मर्ने कला सम्बन्धि बौद्ध दर्शनलाई पाठकहरु समक्ष स्पष्ट पार्न पनि पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको उल्लेख गर्नुभयो ।
उहाँले ध्यान र यसको विज्ञान नामक पुस्तक लेख्नेक्रममा उक्त पुस्तकको पहिलो अध्याय नै एउटा पुस्तकका रुपमा प्रकाशित गर्दा उचित होला भन्ने ठानी आफूले पहिलो अध्यायलाई पुस्तकका रुपमा ‘बुद्धका मौलिक दर्शन’ भनी प्रकाशित गरेको उल्लेख गर्नुभयो । डाक्टर शाक्यको कृतिबारे उल्लेख गर्दै कार्यक्रमका संयोजक एवं भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरले मूलतः बुद्ध धर्ममा अभ्यास गरिने ध्यान गर्नका लागि सहयोगी हुने पुस्तक भएको उल्लेख गर्नुभयो ।
पुस्तक विमोचन कार्यक्रमपछि भिक्षु धर्ममुर्ती महास्थवीरले पुण्यानुमोदन गर्नुभएको थियो । कार्यक्रममा १ सय जना भिक्षुहरुलाई अष्टपरिष्कार दान र ५७ जना अनगारिका गुरुमाँहरुलाई बस्त्र तथा अन्य बस्तुदान गरिएको थियो । सो, संघदान दाताका रुपमा पुस्तकका लेखक शाक्य र पूर्वराजदूत एवं राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्य हुनुहुन्थ्यो ।