धादिङकाे गजुरीमा गुडिरहेको माइक्रोमाथि रुख ढल्याे, ७ जना घाइते

काठमाडौं, २१ साउन । धादिङकाे गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा ७ जना यात्रु च्यापिएर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि खसेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।

घटनाको थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।