परराष्ट्र मामिला विभागमा महासेठलाई स्वागत, भट्टराईलाई विदाई

काठमाडौं, २३ साउन । नेकपा (एमाले)को यहि साउन १७ गते बसेको सचिवालय बैठकले गरेको जिम्मेवारी हेरफेर गर्दै केन्द्रीय सचिव रघुविर महासेठलाई परराष्ट्र मामिला विभागको जिम्मेवादी दिएको थियो । त्यसैगरी परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारीमा रहनु भएका डाक्टर राजन भट्टराईलाई बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएको थियो । जिम्मेवारी हेरफेरपछि परराष्ट्र मामिला विभागले एक कार्यक्रमको आयोजना गरी प्रमुखका रुपमा महासेठलाई स्वागत गरेको छ भने भट्टराईलाई विदाई गरेको छ ।


स्वागत तथा विदाई कार्यक्रममा महासेठलाई स्वागत गरेपछि भट्राईलाई विदाई गरिएको थियो । स्वागतपछि संक्षिप्त मन्तव्य राख्दै महासेठले विगतमा विभागले गरेका कामहरुलाई निरन्तरता दिदैँ थप नयाँ योजनासहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विदाई कार्यक्रममा स्थायी कमिटी सदस्य समेत रहनु भएका भट्राईले सम्वोधन गर्दै अहिलेसम्म विभागमा रहेर काम गर्दा एउटै घरको परिवार जस्तै भएर काम गर्ने अवसर प्राप्त भएको भन्दै विभागका सबैले एकमुष्ठ सहयोगले सकारात्मक कामहरुको थालनी गर्न सकेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा परराष्ट्र मामिला विभागले १६ वटा डेस्क बनाएर परराष्ट्र मामिलाका कामको जिम्मेवारीलाई सहज बनाएको, विभिन्न गोष्ठी, छलफल र कार्यशालाको आयोजना गरी विदेश मामिलाका सन्दर्भमा पार्टीलाई थप बलियो र सम्वन्ध विस्तारमा पनि थप सहज बनाएको उल्लेख गर्नुभयो ।


उहाँले विद्यार्थी राजनीतिको नेतृत्वमा रहेको समयदेखि पार्टीको राजनीतिमा संलग्न भएयता मुलतः वैदेशिक मामिलाको कामको जिम्मेवारीमा रहेको स्मरण गर्दै यहि क्षेत्रमा रहेर स्नातकोत्तर र विद्यावारिधिसम्म गरेको उल्लेख गर्नुभयो । ‘पार्टीको नयाँ निर्णय अनुसार भुगोल क्षेत्रको कामका लागि परराष्ट्र मामिला विभागबाट औपचारिक रुपमा बिदा भइयो,’ उहाँले भन्नुभयो, ‘आफ्नो रुचिको क्षेत्र लामो समय भएर होला मनमा कस्तो कस्तो चाहिँ हुँदोहेछ । जो–जससँग काम गरियो सहयोग लिइयो । उहाँहरु सबैप्रति हार्दिक आभार र धन्यवाद छ ।’


कार्यक्रममा परराष्ट्र मामिला विभागका सचिव डाक्टर अन्जान शाक्यले पूर्वप्रमुखसँग सहकार्य, समन्वय र सहअस्तित्वका भावनाले काम गर्दा विभागलाई प्रभावकारी बनाउन सकेको स्मरण गर्दै नयाँ जिम्मेवारीसहित आउनु भएका प्रमुखसँग काम गर्दा विभागलाई थप प्रभावकारी बनाउन सकिने अपेक्षा लिएको उल्लेख गर्नुभयो । ‘पूर्वप्रमुको कार्यकालमा हाम्रो जनसंगठन र सुभेच्छु संस्थामा मुख्य गरेर परराष्ट मामिलासँग जोडिनु भएका सदस्यहरुका विचमा गरिने अभिमुखीकरण तालिम, अन्तराष्ट्रिय गोष्ठीहरुले पार्टी र संगठनलाई थप बलियो बनाएका थिए,’ उहाँले भन्नुभयो, ‘अब नयाँ प्रमुख आउनु भएको छ । आगामी दिनमा अझ थप व्यवस्थित र क्रियाशील बनाएर अघि बढ्न सकिन्छ भन्ने अपेक्षा लिएका छौँ ।’ कार्यक्रममा विभागका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।