महानगरले कार्यक्रम गरेको रेष्टुरेन्टकै पानीको वोतलमा किरा भेटिएपछि उपप्रमुख डंगोलको एक्सन

काठमाडौं, २७ साउन । शुक्रबार काठमाडौं महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका सम्वन्धी अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरेको थियो । दुई दिने उक्त कार्यक्रमका उद्घाटन अनामनगरको किम्ची फास्टफुड एण्ड तन्दुरी रेष्टुरेन्टमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सुनिता डंगोल हुुनुहुन्थ्यो ।

उद्घाटन शत्रको उद्घाटन गर्दै प्रमुख अतिथि सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मन्तव्य राख्नुभयो । त्यहि कार्यक्रममा कार्यपत्रहरु पनि प्रस्तुत भए । विहानैदेखि सञ्चालन गरिएको उक्त कार्यक्रममा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्ताको उपस्थिति थियो ।

पहिलो दिनको सत्रमा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्मा, काननु तथा मानवअधिकार विभागका प्रमुख बसन्त आचार्यलगायतले विभिन्न विषयमा त्यहाँ प्रस्तुति दिने कार्यक्रम रहेको थियो । कार्यक्रममा प्रस्तुतिहरु पनि चलिरहेका थिए । उपप्रमुख डंगोल पनि कार्यक्रममा दिनभरी बस्ने र सबै प्रस्तुति सुन्ने तयारीमा हुनुहुन्थ्यो । उहाँ मग्नसँग प्रस्तुति सुनिरहनु भएको थियो ।

पहिलो दिनको कार्यक्रम करिब–करिब समापन हुने तयारीमा थियो । हलभित्र केही खासखुस चल्यो । कार्यक्रममा उपस्थित जनप्रतिनिधि र कर्मचारीहरु समूह–समूहमा बाँडिएर बसेका थिए । सबै टेबुलमा सोही रेष्टुरेष्टको लोगोसहितका पानीका बोतल राखिएको थियो । ती टेबुल मध्ये एक समूहको टेबुलमा बसेका कर्मचारी र जनप्रतिनिधिका लागि पिउनका लागि रेष्टुरेष्टले नै राखिदिएको थियो । त्यो सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले करीब आधा बोतल पिएपछि पानीमा कीरा सल्वलाएको देख्नुभयो । त्यसपछि उहाँ मात्रै होइन त्यो टेबुलमा बसेकाहरु पनि वाकवाक गर्न थाले ।

नजिकैको टेबुलमा बसेर प्रस्तुति सुनिरहनु भएकी उपप्रमुख डंगोलले पनि त्यो चाल पाउनुभयो । किरासहितको पानीको वोतल उपप्रमुख डंगोलको टेबुलमा पुर्याइयो । अनुगमन समितिको संयोजक समेत रहनु भएकी डंगोले केहीबेर त्यो बोतल भित्र तैरिरहेका किराहरुको भिडियो र तस्बिर खिच्नुभयो । त्यसपछि उहाँले काननु तथा मानवअधिकार विभागका प्रमुख आचार्यसँग केही कुराकानी गर्नुभयो र प्रमुख प्रशासकीय अधिकृत परियारलाई टेलिफोन गर्नुभयो । उहाँसँग सल्लाह गरेपछि उपप्रमुख डंगोलले तत्कालै आचार्यलाई अर्को दिन त्यहि रेष्टुरेष्टमा हुने कार्यक्रमको भेन्यु परिवर्तन गर्न निर्देशन दिनुभयो ।

त्यसको केही समयपछि महानगरको अनुगमन टोली रेष्टुरेष्टमा पुग्यो र अनुगमन गर्यो । अनुगमनपछि महानगरपालिकाले उक्त पानीको बोतल पनि साथमै लिएर गएको थियो । अनुगमन प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारवाहीको निर्णय हुन नसकेको महानगरपालिकाले जानकारी दिएको छ । त्यसकारण आज दुषित पानी विक्री गर्नेलाई २ लाख जरिवाना गर्ने निर्णय भएको हो ।

‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्वाही हो,’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्वाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ । अनुरोधलाई अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प छैन ।’ रेष्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो । खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई २ पटक जरिवाना तिराएको थियो ।