कुलमानको ‘हाउगुजी’ले अन्यायमा परेका हितेन्द्रदेवः रिटको पेसी २९ औँ पटक पनि स्थगित
काठमाडौं, ३० साउन । अहिले नेपाल विद्युत प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हालिरहनु भएको छ । नेकपा माओवादी केन्द्रको जोडबलमा दोस्रो पटक प्राधिकरणको नेतृत्व सम्हाल्न आउनु भएका घिसिङ पछिल्लो समय एकपछि अर्को विवादमा मुछिदैँ आउनु भएको छ ।
उज्यालोको नायकको मुखण्डोमा दजनौं विवादित काम गर्दै आउनु भएका घिसिङका विषयमा सार्वजनिक लेखा समितिमा पछिल्लो समय ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादबारे गम्भीर प्रश्न उठ्न थालेपछि उहाँ ‘बंगलादेशको हाउगुजी’ देखाएर केहीलाई सडकमा आन्दोलन गर्नेदेखि केही मिडियामा आफ्नो पक्षमा समाचार लेख्न लगाउनेसम्मका हर्कतमा लाग्नु भएको छ ।
पहिलो कार्यकालमा ‘लोडसेडिङ अन्त्य’को मुखुण्डोमा प्राधिकरण सुधार गर्ने भन्दा पनि त्यहि मुखुण्डोमा प्राधिकरण लथालिङ्ग बनाउने काममा अग्रसर देखिनु भएका घिसिङ खुल्ला प्रतिस्पर्धाबाट आउनु भएका प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई करीब ६ महिनामै हटाएर पछिल्लो दोस्रो कार्यकालमा प्राधिकरणको नेतृत्वमा आउनु भएको थियो ।
प्राधिकरण सुधार्ने योजनामा भन्दा पनि माओवादी अध्यक्ष प्रचण्ड र अन्य नेतालाई खुशी पारेर दोस्रो कार्यकालका लागि प्राधिकरणको नेतृत्वमा घिसिङलाई ल्याएपछि शाक्य सर्वोच्चको ढोका ढकढक्याउन पुग्नु भएको थियो ।
उहाँले न्यायको ढोका ढकढक्याउँदै दायर गरेको मुद्दाको प्रारम्भिक सुरुवाई हुँदा २०७८ असोज ५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलाशले अग्राधिकार दिएको थियो ।
यो तीन वर्षमा काठमाडौंका बागमती, विष्णुमति मात्रै होइन टुकुचा, हनुमन्ते, धोविखोला र रुद्रमतिमा पनि धेरै पानी र ढल बग्यो तर, सिंहदरबार अघिको रामशाह पथमा गजधम्मसँग बसेको सर्वोच्चले भने हितेन्द्र देवलाई अझैसम्म न्याय दिन सकेको छ ।
जीवनका उर्जाशील समय उर्जा क्षेत्रमै विताउनु भएका हितेन्द्रदेवको करीब तीन वर्षदेखि दैनिकी फेरिएको छ । सेवाको अन्तिम–अन्तिम समयसम्म पनि उर्जा क्षेत्रमा आफ्नो विज्ञता बाँडिरहनु भएका उहाँ अहिले न्याय माग्दै सर्वोच्च अदालत ओहोरदोहोरमा उर्जा खर्चिरहनु भएको छ ।
प्राधिकरणमा केही गर्ने उर्जा बोकेर खुला प्रतिस्पर्धाबाट प्राधिकरणको नेतृत्वमा आउनु भएका हितेन्द्रले सायद त्यतिबेला पनि मलाई राजनीतिको फुटबल बनाएर मैदानबाट मिल्काउलान भन्ने सायदै सोच्नु भएको थियो होला । प्राविधिक व्यक्ति भएका कारण पनि उहाँले राजनीतिको खेलमैदान प्राधिकरणलाई बनाउने कहिल्यै सोच्नु भएको थिएन । तर, राजनीतिको रस चुसेर राम्रै खेल खेल्न सक्ने कुलमानका अघि हितेन्द्रको केही जोर चलेन । अझ प्रचण्डका प्रिय पात्र कुलमानलाई कांग्रेस–माओवादीको संयुक्त सरकार रहेका बेला दोस्रो पटक नेतृत्व गर्ने सहज अवसर प्राप्तभयो र प्रचण्डहरुको राजनीतिमा उहाँ घून जस्तो पिसिएर अपमानित हुनुभयो ।
राजनीतिका नाममा आफू अन्यायमा परे पनि न्यायलयले आफूलाई अवश्य न्याय दिन्छ भनेर न्यायलयको ढोकामा पुगेका उहाँलाई एक पटक, दुई पटक, तीन पटक वा दश, पन्ध्र पटक पनि होइन उन्तीस–उन्तीस पटकसम्म अन्याय गर्दै आएको छ ।
धेरैलाई सुन्दा पनि अनौठो लाग्नसक्छ । सर्वोच्च अदालतले अग्राधिकार दिएको मुद्दाको पेशी आजसम्म गरेर २९ पटकसम्म स्थगित भएको छ । करीब तीन वर्षदेखि आफुले दायर गरेको मुद्धाको पालो कुर्दाकुदै उहाँको कार्यकाल व्यथित हुन लागेको छ । तर, अझै न्याय कहिले भन्ने टुंगो छैन ।
राजनीतिक आडमा आफूविरुद्ध चलखेल गर्दै पटकपटक मुद्दा पछि सार्ने खेल भएपछि शाक्यले पेशी गुज्रिन नदिन र मुद्दाको चाँडै किनारा लगाउन सर्वोच्चमा पुनः निवेदन समेत दिनुभएको थियो । तर, त्यसको पनि सुनुवाई भएन र आज पनि पेशी सरेको छ । गैरकानुनीरुपमा आफूलाई हटाएर अरुलाई कार्यकारी निर्देशक नियुक्ति दिने कुरा गलत हो । यो कुरा शाक्यलाई मात्रै होइन न्यायको तराजु समातेर बसेका न्यायधीशहरुलाई पनि थाहा छ । तर, अहिलेसम्म पनि उहाँहरुले न्याय दिन नसकेपछि शाक्य केही निरास बन्नुभएको छ । तर, अझै पनि न्याय पाउने आशाको दीप वोकेर शाक्य अदालत धाइरहनु भएको छ । अन्याय सहन हुन्न भनेर सर्वोच्चमा निवेदन दिनुभएका शाक्य अझै पनि न्याय पाउँछु भन्नेमा पूर्ण आशावादी हुनुहुन्छ ।
सबै अयोग्य र कुलमान मात्रै योग्य भन्ने भाष्य निर्माण गराउन अहिले ठूलो चलखेल भैरहेको छ । तर, जलविद्युतकै क्षेत्रमा विद्यावारिधिको तयारी गरिरहनु भएका शाक्य २०७७ माघमा नियुक्त हुनुभएको हो । अब्बल प्राविधिक एवं इमान्दार छविका शाक्यलाई प्राधिकरणमा फर्काउने बाटो बन्द गर्न अहिले कुलमान मात्रै होइन माओवादी र केही शक्ति लागिरहेको छ । तर, शाक्यले अन्तिमसम्ममा भए पनि न्याय पाउने भने निश्चित जस्तै छ ।