ललितपुरको कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला

ललितपुर, ३ भदाै । ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा जनैपूर्णिमा मेला लागेकाे छ । हरेक वर्षकाे जनै पूर्णिमाको अघिल्लो रात अर्थात् श्रावण शुक्ल चतुर्दशीमा कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेको छ ।

जनै पूर्णिमाको अघिल्लो रात मध्यान्नकाे १२ बजेदेखि कुम्भेश्वर मन्दिरमा मेला लाग्ने गरेकाे छ मेला जनै पूर्णिमाकाे रातसम्म लाग्ने गर्दछ ।

मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ । परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बताइएको छ ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर पनि एक हो । महादेव जलमा विराजमान भएको प्रतिकस्वरूप सर्वेश्वर महादेवको मुकुटलाई मन्दिर परिसरमा भएको पोखरीमा स्नान गराई खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ ।

सर्वेश्वर महादेवको मुकुटलाई कुम्भेश्वर मन्दिरका मूल पुजारीले बोक्ने र देवल पोखरी गुठियार तथा महादेव मन्दिरका भण्डारीले पूजा गर्दै परिक्रमा गराउने चलन रहेको छ ।

कुम्भेश्वर मेला दुई दिनसम्म चल्ने र समापनपछि पुनः विधिपूर्वक भगवानलाई मन्दिरमा राखिन्छ ।

रसुवा जिल्लास्थित गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्दछ । गोसाइँकुण्डकै पानी बगेर पाटनको कुम्भेश्वर मन्दिरमा आउने कथन रहेको हुँदा सोही बगेको पानीबाट मन्दिर परिसरको उत्तरपश्चिममा जलासय निर्माण गरिएकाे छ । गोसाइँकुण्ड जान नसक्ने तीर्थालुहरूले कुम्भेश्वरमा सर्वेश्वर महादेवको दर्शन गरे गोसाइँकुण्ड गएर गरेको धर्म स्वरूप फल प्राप्त हुने जनविश्वास छ । साथै गोसाइँकुण्ड गएर फर्केका भक्तजनहरू सर्वेश्वर महादेवको दर्शन गर्ने परम्परा गरहेकाे छ ।

सनातन धर्मावलम्बीहरूको ठूला चाडहरूमध्ये जनै पूर्णिमा एक हो । यस दिनलाई ऋषि तर्पणी, क्वाटी पुन्ही (क्वाटी पूर्णिमा), गुनः पुन्ही, रक्षा बन्धन पनि भनिन्छ ।

यस दिन रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चाेककाे पाँचपाेखरी, काठमाडौंको पशुपतिनाथ, ललितपुर पाटनको कुम्भेश्वर महादेव, भक्तपुरकाे दत्रातय तथा देशका विभिन्न शिवालयमा मेला लाग्ने गर्दछ ।

तस्बिरहरू: सन्देश मुनिकार, मैत्री न्युज