ललितपुरमा आज विभिन्न विहार, महाविहार, चैत्य परिक्रमा गरी मतयाः मनाइयाे

ललितपुर, ५ भदाै । ललितपुरमा आज मतयाः (दीपयात्रा) जात्रा मनाइएकाे छ । विशेष गरी बौद्ध धर्मावलम्बीहरुले हरेक वर्ष भदौ कृष्ण द्वितीया अर्थात् गाईजात्राको भोलिपल्ट मतयाः यात्रा मनाउने गरिन्छ ।

झन्डै १४ सय वर्ष पुरानो मतयाः (दीपयात्रा) लाई न्यकू (श्रृंगभेरी) जात्रा पनि भनिन्छ । नेपालभाषामा मतको अर्थ दीप अर्थात् बत्ती हो। त्यसैले मतयाःलाई दीपयात्रा पनि भनिन्छ। यो जात्रामा हजारौंले ललितपुरका चार अशोक स्तूपसहित विभिन्न विहार, महाविहार, चैत्य, देवालयको परिक्रमा गर्छन्।

यसरी परिक्रमा गर्दा झन्डै २ हजारको देवीदेवतालाई परिक्रमा गर्छन्। यसक्रममा धूप, दियो, कपूर, पैसा, मिठाईलगायत सामग्री चढाउन नगरपरिक्रमा गर्ने गरिन्छ। न्यकू जात्रा–मतयाःमा कतिपय मानिसहरू दिवंगत आत्माको नाममा महादीप बालेर पनि आउने गर्दछन्। यसो गर्नाले वर्ष दिनभित्र मृत्यु भएका पितृले स्वर्गमा बास पाउने धार्मिक जनविश्वास छ।

हरेक टोलमा पुग्ने र त्यहाँ रहेका बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गरिन्छ। यो क्रम बिहान सबेरै शुरू भई साँझसम्म चल्दछ। यात्राका क्रममा सहभागी भक्तजनलाई विभिन्न स्थानमा फलफूल, रोटी, अन्न तथा द्रव्य दानसमेत गर्ने परम्परा छ।

हरेक वर्ष ललितपुरका १० स्थानबाट पालैपालो सञ्चालन हुने यो यात्रा आज नकबहीःबाट शुरू भएकाे छ। नकबहीः, मंगः, चक्रबहीः, इखाछे, नागबहाः बुबहाः, हौगः, वकुबहाः, इखालखु, कोबहाः र सौगः गरी ललितपुरका १० टोलले पाःचक्र (पालो) मिलाएर हरेक वर्ष जात्रा व्यवस्थापन र बाजा प्रशिक्षण दिने गर्दछन्। ललितपुरका राजा सिद्धिनरसिंह मल्लले यो पालो चक्र मिलाइदिएका हुन् भन्ने कथन छ। यी दश टोलले सयौं वर्षदेखि यो प्रशिक्षण कार्यलाई निरन्तरता दिइरहेका छन्।

ललितपुरको मौलिक जात्राका रूपमा लिइने यो यात्रा कहिलेदेखि शुरू भयो भन्ने यकिन नभएपनि करिब १४ सय वर्षअघि, बालार्चन देव राजाको पालादेखि जात्रा मनाइँदै आइरहेको मान्यता छ।