सुशासन समितिमा सांसदहरुको रायः संरचनात्मक वाधकहरु रहेसम्म अतिकम विकसित मुलुकमै रहन्छौँ

काठमाडौं, ११ भदौ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले एक खर्व बढीको दायित्व बोकेका सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनः सञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

मन्त्री भण्डारीले विकास, आर्थिक मामिला तथा सुशासन समितिले आज ‘नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्वन्धनमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव, असर चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्थाबारे’ को छलफलमा यस्तो बताउनु भएको हो ।

उहाँले व्यापार घाटा सन्तुलन नै गर्न नसक्ने अवस्थामा रहेको भन्दै वर्तमान सरकार व्यापार घाटा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढिरहेको उल्लेख गर्नुभयो । ‘कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान १३ प्रतिसत रहेको थियो । अहिले त्यो घटेर पाँच प्रतिसतको हाराहारीमा झरेको छ । यो दयनीय अवस्था हो,’ उहाँले भन्नुभयो, ‘हामीले कृषिमा आधारित उद्योगलाई प्रोत्साहन दिएर लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।’

मन्त्री भण्डारीले लगानीमैत्री वातावरणका लागि बाधक बनेका केही ऐन–कानुनहरुको सुधारको प्रयास भैरहेको पनि उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले सेवा क्षेत्रको विकास गरी निर्यात प्रवर्धनमा दिगो योगदान वृद्धि गर्ने, भविष्यमा निर्यात सम्भावना भएका बस्तु तथा सेवा पहिचान गरी निर्यात प्रवर्धनको दीर्घकालिन रणनीति तय गर्ने जस्ता कुरामा ध्यान दिएर अघि बढेको पनि उल्लेख गर्नुभयो ।

उहाँले विभिन्न द्विपक्षीय क्षेत्रीय र बहुपक्षीय व्यापारिक सम्झौतामार्फत सहुलियतपूर्ण बजार पहुँचका लागि निरन्तर पहल गरिरहेको पनि उल्लेख गर्नुभयो ।
छलफलमा समितिका सभापति कमला पन्तले नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लगानीमैत्री वातावरण बनाउनुुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य एवं दिगो विकास उपसमितिका संयोजक डाक्टर अन्जान शाक्यले संरचनात्मक वाधकहरु रहेसम्म हामी अतिकम विकसित मुलुकमै रहने भन्दै त्यसलाई चिर्न सरकारले के–के योजना भनाएको छ ? भनी प्रश्न गर्नुभयो । ‘हामीले त्यसका लागि आन्तरिक र अन्तराष्ट्रिय व्यवस्थापनमा ध्यान दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘आन्तरिकमा उद्योग र लगानीमैत्री वातावरण बनाउनुपर्छ भने अन्तराष्ट्रियमा निर्यातजन्य उत्पादित वस्तुहरुको बजार खोजी गर्नुपर्छ ।’

उहाँले उत्पादन र निर्यातमुखी उद्योगहरुको प्रवर्धन गर्ने र उद्योगीहरुको मनोबल बढाउने कुरामा राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । लगानीमैत्री वातावरण कागजमा मात्रै सिमित भएको भन्दै उहाँले कार्यान्वयनमा ल्याउन के–के पहल भैरहेको छ ? भन्दै मन्त्री भण्डारीलाई प्रश्न गर्नुभयो ।

अर्का सदस्य बामदेव गौतमले आयत रोकेर निर्यात बढाउने कुरामा ध्यान दिनुपर्ने भन्दै स्तरोन्नति हुँदा रुनुपर्ने अवस्थामा रहनु दुर्भाग्य भएको उल्लेख गर्नुभयो । ‘हामी मगन्ते मुलुकबाट माथि उठ्नुपर्छ,’ गौतमले भन्नुभयो, ‘त्यसका लागि स्वरोजगारी र आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुको विकल्प छैन ।

सदस्य झक्कु सुवेदीले खाडीमा चिहान खन्ने काम गरेर नेपाली युवाले पठाएको रेमिट्यान्सबाट मुलुकको अर्थतन्त्र चलिरहेको भन्दै यसमा राज्यको कुनै योजना नभएको उल्लेख गर्नुभयो । ‘युवाहरुलाई रोजगारीका लागि विदेशमा बेच्ने र वस्तु किन्ने परम्परा रहिरहने हो भने हामीले स्तरोन्नतिको लक्ष्य भेट्न मुस्किल हुन्छ ।’