नारायणगढ-मुग्लिन सडकमा बिहानै तीनवटा गाडी ठोक्कियो–तीन जना घाइते–चालक फरार
चितवन । चितवनको नारायणगढ(मुग्लिन सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।
जुगेडीमा बिहानपख तीन बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढ आउँदै गरेको बा ११ च ८२६२ नम्बरको टाटा सफारीले अगाडि रोकेको बा प्र ०३–००१ च १७७० नम्बरको जिप र त्योभन्दा अगाडि रहेको ग २ च ४३३६ नम्बरको अर्को जिपलाई ठक्कर दिएको थियो । यो घटनामा कुनै मानवीय क्षति नभएको चितवन प्रशासनले जनाएको छ । भरतपुर महानगरपालिका(२९ जुगेडी प्रहरी चेकपोस्ट अगाडि उक्त घटना भएको हो ।
त्यस्तै आइतबार बिहान ६ बजेर ३५ मिनेट जाँदा सिमलतालमा भारतीय बससँग मिनी ट्रक ठोक्किएका छन् । बसका यात्रुलाई केही भएको छैन । ट्रकमा रहेका तीनजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भरतपुर(२९ मा पर्ने उक्त ठाउँमा मुग्लिनबाट नारायणगढ आउँदै गरेको ग २ ख ११०८ नम्बरको मिनी ट्रक र मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टी ६३७२ नम्बरको भारतीय बस ठक्कर खाएका थिए । ठक्करपछि बसका चालक फरार छन् ।
ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ का २८ वर्षीय राजन क्षेत्रीको दाहिने हातमा चोट लागेको छ । ट्रकमा रहेका बारा देवल गाउँपालिका(५ का ३० वर्षका मञ्ज रावल बरईको घाँटीमा चोट छ । उनका ६ वर्षीय छोरा आशिष रावल बरईको पेटमा भित्री चोट रहेको प्रहरीको भनाइ छ ।