त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब विदेश जाँदा माला र खादा लगाउन नपाइने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशमा जाने यात्रुले सुरक्षा जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरेको छ ।
यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेकाले उक्त जाँचका क्रममा खादा तथा माला प्रयोग नगरिदिन आग्रह गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, सुरक्षा जाँचका क्रममा खादा र माला नलगाउन अनुरोध गरिएको छ। अन्य वेला लगाए पनि सुरक्षा जाँचका क्रममा खादा र माला झोलामा राख्नुपर्नेछ।
यसैगरी यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाडी जाने गर्नाले समेत विमानस्थलको सौन्दर्यमा नकारात्मक असर पुग्ने गरेको महाप्रबन्धक निरौलाको भनाइ छ । खादा र माला आफैँसँग लैजानैपरे यात्रुले झोलाभित्र राखेर लैजान सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।