यस्तो छ इन्द्रजात्राको सांस्कृतिक महत्व र रोचक जनश्रुति
दिपेन्द्र श्रेष्ठ
काठमाडौँ, १ असाेज । काठमाडौं उपत्यकाका नेवार समूदायले मनाउँदै आएको इन्द्रजात्रा पर्व नेपालको इतिहासमा विशिष्ट स्थान रहेको सांस्कृतिक परम्परा हो । इन्द्रजात्रा कसले र कहिलेदेखि मनाउन थालियो भन्ने निश्चित तिथिमिति नभएपनि थुप्रै ऐतिहासिक अभिलेखहरुमा इन्द्रजात्राबारे उल्लेख भएको पाइन्छ ।
नेपालको प्राचीन शिलापत्रलगायत विभिन्न ऐतिहासिक सामग्रीहरुमा इन्द्रजात्राबारे उल्लेख भएकोले यो नेपालको धेरै पुरानो र महत्वपूर्ण जात्रा हो भन्ने स्पष्ट हुन्छ । इन्द्रजात्रामा पूजाआजा गरिने प्रमुख देवता नै इन्द्र हुन् । इन्द्रका बारेमा प्राचीन हिन्दू धार्मिक ग्रन्थ वेदमा प्रशस्त वर्णन गरिएको पाइन्छ । त्यसपछि पौराणिककालका विभिन्न धार्मिक ग्रन्थहरुमा इन्द्र र इन्द्रजात्राको पनि बयान गरिएको पाइन्छ । त्यस्तै इतिहासका विभिन्न कालखण्डमा पनि इन्द्रजात्रा र जात्रासँग सम्बन्धित विभिन्न कार्यबारे उल्लेख पाइन्छ ।
इन्द्रजात्राकाे किंवदन्ती यस्ताे छ
आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाउँदै आएको रोचक जुनश्रुति छ ।
अझ किंवदन्ती अनुसार त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन जीवित छ ।
इन्द्रजात्राको प्रमुख कार्य नै ‘यःसिं’ स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो ।
इन्द्रजात्राको प्रमुख कार्य नै ‘यःसिं’ स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो ।
आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा रहन थाल्यो भन्ने रोचक किंवदन्ती पनि छ । भाद्र शुक्ल द्वादशीका दिनदेखि आरम्भ हुने इन्द्रजात्रा काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको कागेश्वरी मन्दिर संगै रहेको खाल्डोमा ‘यःसिं’ ठड्याएपछि इन्द्रजात्रा आरम्भ भएको मानिन्छ ।
‘यःसिं’ उठाउँदा हनुमानढोकामै दीप्याखं देवीनाच प्रदर्शन गरिन्छ । सोही दिन हनुमान ढोकामा रहेको हाथुद्य स्वेत भैरव सर्वसाधारणमा लागि खुला गरिन्छ । भने इन्द्रचोकमा आकाश भैरव र वटु टोलमा बाकादे आजुको मुर्ति पनि प्रदर्शनमा राखिन्छ । साथै टोल टोलमा भैरवका काठको मुर्ति पनि प्रदर्शन गरिन्छ । त्यही दिन लाखे, पुलुकिसि,सव द्य हलचोक आकास भैरव, महाकाली नाचहरु पनि प्रदर्शनका लागि बाहिर निकालिन्छ । सोही दिन साँझ उपाकु परिक्रमा गर्ने कार्य हुन्छ ।
कुमारी, गणेश, र भैरवको रथयात्रा
भाद्रशुक्ल चतुर्दशीका दिन श्री कुमारीको रथयात्रा हुन्छ । उक्त दिन श्री कुमारी, श्री गणेश र श्री भैरवको रथलाई काठमाडौंको क्वःने(तल्लो भेग) मा तान्ने गरिन्छ । उक्त दिन पनि लाखे, पुलुकिसि, सवः भक्कु, महाकाली नाच प्रदर्शन हुन्छ भने कुमारीको रथयात्रा चलाइने जैशीदेवलस्थित डबलीमा दीप्याखं प्रदर्शन हुन्छ । सोही दिन बेलुकी मरु टोलको छ्वासपाखाबाट दागिं निकाली थःने र क्वःनेको कुमारी तान्ने मार्गमा परिक्रमा गरि सोही ठाउँमा आई विसर्जन हुन्छ भने काष्ठमण्डप पछाडिबाट बौमत निकाली यो पनि थःने र क्वःने मार्गमा परिक्रमा गरि काष्ठमण्डप अगाडि नै आई विसर्जन हुन्छ ।
लाखे
इन्द्रजात्रामा प्रदर्शन गरिने अत्यन्त रोमाञ्चकारी नाचहरु मध्ये लाखे सर्वाधिक लोकप्रिय र आकर्षक नाच हो । लाखे नाच हेर्दा डरलाग्दो जस्तो लागेता पनि साना बालबालिकाहरु समेत लाखे नाचेको हेर्न आतुर हुन्छन् ।
यो डबली वा कुनै निश्चित ठाउँमा नचाइने नभई थःने क्वःने र उपाकु परिक्रमा गर्ने सबै क्षेत्र लगायत काठमाडौंका विभिन्न सडक र खुल्ला ठाउँहरुमा नचाइने भएकोले लाखे नाच र यसमा बजाइने आकर्षक तथा उत्तेजित बाजाको तालले पूरा इन्द्रजात्रा पर्वमै रौनक थपिदिएको हुन्छ ।
नेपालमा लाखे अरु विभिन्न जिल्लाहरुमा पनि निकाल्ने गरिन्छ । खास गरी जहाँ जहाँ नेवार समुदायको वस्ती छ त्यहाँ त्यहाँ लाखे नाच निकाल्ने गरिएको पाइन्छ । तर ती सबै लाखेहरु गाईजात्रा ताका निकालिने गरिन्छ । इन्द्रजात्रा ताका निकालिनेलाखे भने यही मजिपाः लाखे मात्र हो ।
इन्द्रजात्रामा निकालिने यँला लाखे को घर काठमाडौंको क्वःने क्षेत्रमा रहेको लाखे ननी मा अवस्थित छ जसलाई लाखेछेँ (लाखेघर) भनिन्छ । इन्द्रजात्रामा त्यही लाखे ननीस्थित लाखेछेँबाट लाखे नाच आरम्भ हुन्छ ।
लाखे निकालिने खास समय भाद्रशुक्ल द्वादशी अर्थात हनुमानढोकामा यःसिै उठाउने दिनमै भएपनि यसको लागि तयारी भने पन्ध्र दिन अघिदेखि नै शुरु भइसकेको हुन्छ । इन्द्रध्वजको पन्ध्र दिन अघि अर्थात भाद्रकृष्ण एकादशीका दिन लाखे आजुको ख्वाःपा (मुकुण्डो) बाहिर निकालिन्छ । लाखेछेँ (लाखेघर) मा एउटा अत्यन्त पुरानो पिला अर्थात सन्दूक (काठले बनाइएको बाकस) रहेको छ । त्यही बाकस भित्र लाखेको मुकुण्डो राखिएको हुन्छ । मुकुण्डो निकाल्ने र राख्ने बेला मात्रै त्यो पिला खोलिन्छ । तर पिला खोलिएपनि त्यसमा के छ भनेर हेर्ने काम भने गरिंदैन ।
पिला खोलेर त्यसमा हात मात्रै पसाएर भित्र रहेको मुकुण्डो निकालिन्छ भने जात्रा सकिएपछि पनि हात मात्रै पसाएर मुकुण्डो भित्र हालिन्छ । त्यही भएर पिला भित्र मुकुण्डो बाहेक अरु के के बस्तुहरु छन् कसैलाइ थाहा छैन । मुकुण्डो बाहिर निकाले पछि तान्त्रिक विधिबाट पूजा गरि त्यसको न्यास(प्राण तत्त्व) निकाल्ने गरिन्छ ।
पुलुकिसि
इन्द्रजात्रा भन्ने वित्तिकै मानिसको मस्तिष्कमा झट्ट आइहाल्ने एउटा प्रतीक नै पुलुकिसि हो । सडकमा पुलुकिसि नाचेको देखिए पछि मात्रै इन्द्रजात्राको छनक आउने गर्दछ । भाद्रकृष्ण द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिएकै दिनदेखि पुलुकिसिको नाच पनि शुरु हुन्छ ।
किंवदन्ती अनुसार पुलुकिसि भनेको स्वर्गका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक हो । काठमाडौंमा प्रचलित इन्द्रजात्रा सम्बन्धि कथा अनुसार इन्द्रलाई काठमाडौंका स्थानीय बासिन्दाले समातेर राखेपछि आफ्नो मालिक कहाँ गए भनी खोज्न ऐरावत हात्ती आएका थिए ।
इन्द्रलाई खोज्न उनी काठमाडौंको तल्लो क्षेत्र, माथिल्लो क्षेत्र सबैतिर कुद्न थाले । पुलुकिसि आउँदा ताङ्गताङ्ग आवाज आउने छुट्टै प्रकारको बाजा बजाउने गरिन्छ । ताङ्गताङ्ग आवाजको बाजा सहित आउने भएकोले पुलुकिसिलाई कसैकसैले तानाकिसि पनि भन्ने गरेको पाइन्छ ।
दीप्याखं
इन्द्रजात्राको अवधिभर प्रदर्शन गरिने विभिन्न साँस्कृतिक नाचहरू मध्य दीप्याखं अर्थात देवी नाच पनि एक हो । इन्द्रजात्रामा प्रदर्शन गरिने सबै नाचहरू भन्दा दीप्याखं छुट्टै र बिशिस्ट प्रकृतिको छ । यो नाच कथामा आधारित भएर समूहमा प्रदर्शन गरिन्छ । यसमा दैत्य बाहेक अन्य सबै पात्रहरू मुखुण्डो लगाएर नाचिन्छ ।
यो नाचको कथा अनुसार देशका जनतालाई सधैंभरि दुख दिइरहने दैत्यलाई मार्न सुरूमा भैरवले प्रयास गर्छन् तर दैत्य भैरव भन्दा बलियो भएका कारणले भैरव आफै भाग्नु पर्छ । त्यसपछि कुमारी आई दैत्य संग लडाइँ गर्छिन् र दैत्यलाई पराजित गरि भगाउछन् ।
यो नाचमा ७ जना पात्र हुन्छन् । भैरव, कुमारी, चण्डी , दैत्य, कबंः (कंकाल), बेताः (बेताल), र ख्याः (ख्याक) यस प्याखंमा ७ वटा बाजा बजाइन्छ भने सातैजना विभिन्न विधाका गुरूहरू हुन्छन् । यो प्याखं विभिन्न सात स्थानमा सातै पटक प्रदर्शन गरिन्छ भने यो नाच सातै घण्टाको हुन्छ ।
कुमारीको रथयात्रा हुदा जुन क्षेत्रमा लगिन्छ त्यही क्षेत्रमा भएको डबलीमा दिप्याखं प्रदर्शन गरिन्छ ।
दागिं
काठमाडौंमा मनाइने इन्द्रजात्राको एउटा महत्वपुर्ण र मौलिक पर्व हो दागिं । यो एकै दिनमा प्रदर्शन गरिन्छ । भाद्र कृष्ण चर्तुदशीका दिन कुमारीको क्वःनेयाः समापन हुने बितिकै मरु टोलको छ्वासपाखा भन्ने स्थानबाट दागिं निस्कन्छ । सेतो मुखुन्डो र सेतै पहिरण लगाएर निस्कने दागिंलाई स्वर्गका राजा इन्द्रको आमा भन्ने गरिन्छ । नेपाल देश भरिनै इन्द्रको आमाको जात्रा मनाउने भनेको यहि एउटा मात्र हो ।
किंवदन्ती अनुसार स्वर्गमा इन्द्रको आमाले आयोजना गर्न लागेको बसुन्धरा ब्रतका लागि फूल टिप्न इन्द्र काठमाडौं झरेका थिए । तर उनलाई देवराज इन्द्र भनेर नचिनेकाले स्थानीय जनताले समातेर राखे । समातेर राखेका छोरालाई छुटाउन इन्द्रकी आमा पनि काठमाडौं आइन् । छोरालाई छुटाउने बारे कुराकानी हुदा काठमाडौंवासीले आफुहरुपनि स्वर्गमा आएर त्यहि साल दिवंगत भएका आफन्तलाई भेट्ने सर्त अघि सारे । आमाले त्यसलाई स्वीकारी दिवंगत भएका आफन्तलाई पछिपछि आउन आग्रह गरे । त्यसपछि उक्त वर्ष दिवंगत भएका आफन्तहरु इन्द्रको आमाको पछिपछि लागे । इन्द्रको आमा डाकिनीको रुपमा आएको हुनाले स्थानीयले दागिं भनिएको हो । इन्द्रकी आमाको प्रतिक दागिंका पछिपछि गएर दिवंगतका आफन्तहरुले गर्ने यो यात्रालाई नै दागिं वइगु भनिन्छ ।
बौमत
इन्द्रजात्राकै दिन दागिं पछि लागतै निकालिने अर्को परम्परा हो बौमत । यो पनि इन्द्रजात्राको एउटा महत्वपूर्ण सांस्कृतिक अंग हो । इन्द्रजात्राका दिन श्री कुमारीको रथयात्रा सकिने बित्तिकै छ्वासपाखाबाट दागिं निकालिन्छ । नगर परिक्रमा गर्ने क्रममा दागिं बाचाः पुलेगु ( काष्ठमण्डप नाघेर क्वःने तर्फ लागेपछि ) काष्ठमण्डप पछाडिबाट बौमत निकालिन्छ । यो बौमत पनि काठमाडौंका मानन्धरहरुले नै निकाल्ने गर्दछ । यसमा काठमाडौंका मानन्धर टोल भनी चिनिएका विभिन्न सात वटा परम्परागत टोलहरु मध्ये ६ वटा टोलको सहभागिता रहेको हुन्छ ।
धेरै बाँस,नर्कटहरु (पंकथि) जोडेर नागबेली आकारमा करिब ४० फिट जति लामो बौमत बनाइएको हुन्छ । नाग जस्तो घुमाउरो परेको त्यही बाँसमाथि गोबरले टाँसेर दर्जनौंं पाल्चा (दियो) हरु राखिन्छ । ती पाल्चाहरु बालेर बौमतको यात्रा चलाइन्छ । बौमत थःने र क्वःने परिक्रमा गरि पुनः काष्ठमण्डपमै पुगेपछि समापन गरिन्छ । बौमत लामो हुने भएकोले यो अत्यन्तै होशियारीपूर्वक धेरै मान्छेहरुले बोकेर अगाडि बढाइन्छ ।
दागिं आधी बाटो पुगेपछि बौमत शुरु हुने भएकोले यसले दागिंलाई कहीं पनि भेट्दैन । दागिं र बौमत भेट हुनु हुँदैन भन्ने मान्यता छ । पहिला पहिला बौमत समाप्त भएपछि यो हेरेर मात्र दागिं जानेहरु इन्द्रदह जाने चलन थियो ।
महाकाली प्याखं
काठमाडौंमा मनाइने इन्द्रजात्रामा भक्तपुरदेखि पनि नाचहरु ल्याएर प्रदर्शन गर्ने परम्परा रहेको छ । भक्तपुरबाट आउने उक्त नाच महाकाली प्याखं अर्थात महाकाली नाच हो । इन्द्रजात्रा आरम्भ भएको दिन भाद्रशुक्ल द्वादशीदेखि नै काठमाडौंका विभिन्न स्थानमा महाकाली नाच प्रदर्शन गरिन्छ ।
यो नाचलाई महाकाली नाच भनिए पनि यसमा महाकाली लगायत महालक्ष्मी, कौमारी जस्ता देवीहरुका साथै अरु पनि पात्र रहेका हुन्छन् । लोकमा महिषासुर दैत्य लगायत असुर दैत्यहरुले धेरै दुःख दिने गरेको हुँदा तिनीहरुलाई निर्मूल पार्न तीन जना देवीहरु महाकाली, महालक्ष्मी र कुमारी प्रकट भई महिषसुर दैत्यको बध गरि अन्य दैत्यहरुलाई समेत सखाप पारेको र त्यसै खुशीयालीमा यो नाच नचाएको भन्ने जनविश्वास पाइन्छ ।
यी महाकाली नाच समूहमा रहने पात्रहरु यस प्रकार छन्ः महाकाली कुमारी, महालक्ष्मी बेताल, भूत, कवं(२ जना), शिचा जंगली(२ जना), ख्याः(२ जना), सिंह र म्हय्खा(मयूर) । यसमा वाद्यवादन समूहलाई समेत जोड्दा २४ जनाको टोली रहेका हुन्छन् ।
समय् पुन्हि
भाद्र शुक्ल पूर्णिमा इन्द्रजात्राको प्रमुख दिन हो । यही दिनलाई येंया पुन्हि भनिन्छ । यो दिन घर घरमा समय्बजि खाने र टोल टोलमा बाँड्ने चलन छ । घर घरमा खाने र टोल छिमेकमा समय्बजि बाँडेर मनाइने पूर्णिमा भएकोले यो दिनलाई समय् पुन्हि पनि भनिन्छ । यो दिन श्री कुमारीको रथलाई काठमाडौंको थः ने अर्थात माथिल्लो भेगमा तानेर जात्रा गरिन्छ ।
सो दिन पनि बाजागाजा सहित लाखे, पुलुकिसी, सवःद्य, महाकाली नाच निकालिन्छ भने थःने भेगको बांगेमुढा र इन्द्रचोकस्थित डबलीमा दीप्याखं प्रदर्शन गरिन्छ ।
ग्वराः मत
इन्द्रजात्रामा धार्मिक आस्था प्रकट गर्ने विभिन्न प्रकारका बत्तीहरु बाल्ने चलन रहँदै आएको छ । इन्द्रजात्रामा कुमारीको रथ परिक्रमा गरिने क्षेत्रमा पर्ने विभिन्न स्थानमा ग्वराः मत बाल्ने गरिन्छ ।आँखीझ्याल जस्तो काठले बनाएको एउटै फ्रेम भित्र पाल्चा राख्न मिल्ने प्वालहरु बनाई त्यसमा झिलिमिली हुनेगरि बालिने बत्तीलाई ग्वराः मत भनिन्छ ।
इन्द्रजात्रामा धार्मिक आस्था प्रकट गर्ने विभिन्न प्रकारका बत्तीहरु बाल्ने चलन रहँदै आएको छ । इन्द्रजात्रामा कुमारीको रथ परिक्रमा गरिने क्षेत्रमा पर्ने विभिन्न स्थानमा ग्वराः मत बाल्ने गरिन्छ ।आँखीझ्याल जस्तो काठले बनाएको एउटै फ्रेम भित्र पाल्चा राख्न मिल्ने प्वालहरु बनाई त्यसमा झिलिमिली हुनेगरि बालिने बत्तीलाई ग्वराः मत भनिन्छ
ह्यूमत
काठमाडौंको क्वःने स्थित ह्यूमत टोलमा इन्द्रजात्रामा रोटे पिङ्ग जस्तै घुमिरहने बत्तीहरु बालिएको हुन्छ । त्यसलाई ह्यूमत भनिन्छ । उपाकु परिक्रमा गर्ने दिनमै बेलुका काठमाडौंका विभिन्न स्थानमा उज्यालो हुनेगरी ग्वारामत बालिन्छ भने ह्यूमत टोलमा ह्यूमत बालिन्छ । रोटे पिङ्ग जस्तो एउटै फ्रेममा झिलिमिलि बत्ति राखि घुमिरहने भएकोले यो बत्ति हेर्दा रमाइलो देखिन्छ । घुमिरहने बत्ति अर्थात नेपालभाषामा ‘हिलाच्वनिगु मत’ भएको कारणले यो बत्तिको नाम ह्यूमत रहन गएको हो । यहि बत्तिको कारणनै उक्त टोलको नाम ह्यूमत भएको जनविश्वास रहेको छ ।
उपाकु वनेगु
इन्द्रजात्रामा यःसिं उठाएकै दिन उपाकु वनेगु भनेर दिवंगतहरुको सम्झनामा धार्मिक पदयात्रा गरिन्छ । काठमाडौको भित्री शहरहरुमा अपरान्हदेखि बेलुकीसम्म दिवंगतहरुको सम्झनामा नेवार बज्रयानी बौद्ध समुदायले एक प्रकारको धार्मिक पदयात्रा गरिन्छ यसलाई नै उपाकु वनेगु भनिन्छ । उपाकु जाँदा बाटोभरी च्यूरीको घ्यु राखिएको काँचो माटोको पाल्चा बालेर राख्दै जाने गरिन्छ । यसमा प्रतिदिन एउटाको दरले ३६५ दिनको ३६५ वटै पाल्चा राख्ने गरिन्छ ।
बाटोमा जतिपनि मन्दिर, चैत्यहरु आउँछ ती सबै ठाउँमा पाल्चा राख्दै यात्रा अगाडि बढाइन्छ । दिवंगतका आफन्तहरु पाल्चा राख्दै जान्छन् भने परिवारका अरु सदस्य तथा नातेदार, साथीभाइहरु धुप बाल्दै स्तोत्र पाठ गर्दै उपाकु जाने गरिन्छ । बौद्ध समुदायका मानिसहरु उपाकु जाने मार्गका टोल टोलमा भेला भइ स्तोत्र पाठ गरेर बस्छन् ।
उपाकु जहाँ बाट सुरु गरेपनि हुन्छ । तर सामान्यतया हनुमानढोका दरबार क्षेत्रबाटै आरम्भ गरिन्छ । काठमाडौंको थने र क्वने क्षेत्रको कुना काप्चा समेत घुम्ने यसको आफ्नै मार्ग रहेको छ ।
उपाकु जाँदा बाटोभरी च्यूरीको घ्यु राखिएको काँचो माटोको पाल्चा बालेर राख्दै जाने गरिन्छ । यसमा प्रतिदिन एउटाको दरले ३६५ दिनको ३६५ वटै पाल्चा राख्ने गरिन्छ । दिवंगतका आफन्तहरु पाल्चा राख्दै जान्छन् भने परिवारका अरु सदस्य तथा नातेदार, साथीभाइहरु धुप बाल्दै स्तोत्र पाठ गर्दै उपाकु जाने गरिन्छ
उपाकु यात्राको मार्ग
भिमसेनथान–भिंद्य हिटी–कोप्राक्यब–सुन्ता गल्ली–पाछैं गल्ली–तुंछें गल्ली–कुलांभलु (रक्तकाली) –छत्रपाटी–स्वांछपु गणेश–थंहीटी–ज्याठा–छुस्यांबहा–इनबहा–भोटाहिटी–तूक्यब–महाबौद्ध–भोंसिको–दुगंबही–न्युरोड गेट–टेबहाल–सुन्धारा–धरहरा–बागदरबार–भोटेबहाल–गणबहाल–लगन–नाय्पाचो–सबलबहाल–इनाख–चल्खु–वन्दे–ह्यूमत–जैशी देवल–कोहिटी–भिमसेनस्थानमा पुगी समापन गरिन्छ ।
भाद्र शुक्ल पूर्णिमा इन्द्रजात्राको प्रमुख दिन हो, सो दिन पनि बाजागाजा सहित लाखे, पुलुकिसी, सवःद्य, महाकाली नाच निकालिन्छ भने थःने भेगको बांगेमुढा र इन्द्रचोकस्थित डबलीमा दीप्याखं प्रदर्शन गरिन्छ
नानीचायाः
आश्विनकृष्ण चौथीका दिज श्री कुमारीको रथलाई काठमाडौंको माथिल्लो भेगमा रहेको किलागल टोलबाट तानेर जात्रा गरिन्छ । यस दिनलाई नानीचाया भनिन्छ । उक्त दिनको जात्रा सकिएपछि कुमारीघरमा राष्ट्रप्रमुख सवारी भई श्री कुमारी, श्री गणेश र श्री भैरवको हातबाट टीका ग्रहण गरिन्छ । सोही राति हनुमानढोकामा यःसिं ढालेर टेकु दोभानसम्म तानेर ल्याई त्यहीं सेलाउने गरिन्छ । यसरी उक्त वर्षको इन्द्रजात्रा समापन हुन्छ ।
इन्द्रजात्रा मनाउँदा पहिले राजाका तर्फबाट गरिने सबै धार्मिक साँस्कृतिक अनुष्ठानहरु अहिले राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपतिबाट सम्पन्न हुँदै आइरहेको छ । इन्द्रजात्रामा श्री कुमारीको रथयात्रा हुँदा गद्दी बैठकमा बसी जात्रा अवलोकन गर्ने, कुमारीको प्रसाद ग्रहण गर्ने , नानीचायाःका दिन कुमारीघर गई श्री कुमारी, श्री गणेश र श्री भैरवबाट टीका ग्रहण गर्ने कार्य पनि अहिले राष्ट्रपतिबाटै वहन हुँदै आइरहेको छ । कुमारीको रथयात्रा चलाउँदा, यःसिं लिन जाँदा र ल्याउँदा राज्यबाट प्रदान गरिने सम्मान स्वरुप गुर्जूको पल्टन पठाउने कार्य अहिले पनि जरुरी नै छ ।
त्यस्तै नयाँ कुमारी चयन गर्दा पहिले पहिले हुनेवाला नयाँ कुमारीलाई राजदरबार लगी राजासँग परिचय गराउने चलन रहेकोमा अहिले राष्ट्रपतिसँग परिचय गराउने चलन भएको छ ।