संयुक्त राष्ट्र संघको महासभा बैठक अन्र्तरगतको ‘समिट अफ द फ्युचर, २०२४’ भाग लिन उपप्रमुख डंगोल न्युयोर्क
काठमाडौं, ३ असोज । काठमाडोैं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन बुधबार साँझ न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ हिजो साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। उपप्रमुख डंगोललाई महासभा बैठक अन्र्तरगतको ‘समिट अफ द फ्युचर, २०२४’ का लागि काठमाडौँस्थित युएनको आवासीय प्रतिनिधिको कार्यालय र नेपाल सरकारले युवा नेतृत्व प्रतिनिधिका रुपमा मनोनयन गरेपछि उहाँ सो सभामा भाग लिन अमेरिका जानु भएको हो ।
महासभाको कार्यक्रम तालिका अनुसार यहि असोज ६ र ७ गते ‘समिट अफ द फ्युचर, २०२४’ कार्यक्रम हुने छ । यसले दिगो विकास र सम्बन्धित वित्तपोषणलाई समेट्ने पाँच अध्यायहरुलाई समावेश गरेको छ ।
‘शान्ति र सुरक्षा, विज्ञान र प्रविधि, युवा र भाविपुस्ता अनि विश्वव्यापि शासनको रुपान्तरणलाई कार्यक्रमले समेट्ने छ,’ डंगोलको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापि रुपमा देखा परेको युद्धको जटिल अवस्था र यसले पारेको असर, कोरोना पछिको मुल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लग्य, मानव स्वास्थ्यको प्रतिकुलता, खाद्य संकटलगायत विषय महासभामा समेटिने छन् । यी विषयलाई केन्द्रमा राखेर सञ्चालन हुने विभिन्न चरणका कार्यक्रममा विश्वका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले भाग लिनुहुने छ ।’
हालसालै संघीय संसदले पारित गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश दिनसक्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गर्नुभएका कारण पनि यो महासभा नेपालका लागि निकै महत्वपूर्ण हुने उल्लेख विज्ञप्तिमा गरिएको छ । ‘नेपालको शान्ति प्रक्रियालाई निर्णायक विन्दुमा पुर्याउन यो विधेयकले महतवपूर्ण भूमिका खेल्ने भएकोले सभामार्फत विश्वकै लागि नमूनाका रुपमा प्रस्तुत गर्ने अवसर हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
समिट अफ दफ्यचर, २०२४ का अतिरिक्त उपप्रमुख डंगोल संयुक्त राष्ट्र संघका साइड एजेन्सीले आयोजना गर्ने अन्य कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ । भदौ २७ गते औपचारिक उद्घाटन भएको यो महासभा असोज १४ गतेसम्म चल्ने छ भने प्रधानमन्त्री ओलीले १० गते महासभामा सम्वोधन गर्ने कार्यक्रम छ । समिट अफ दफ्यचर, २०२४ का लागि उपप्रमुख डंगोलसँगै पर्शुराम नगरपालिकाका मेयर भरत जोशी र नेकपा ९एमाले०का युवा नेता अब्दुस मियाँले पनि मनोनयन हुनुभएको छ ।
प्रस्थानका क्रममा डंगोललाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो । विदाइका लागि प्रशासन विभागका प्रमुख नमराज ढकाल, सभा गृहका प्रमुख सुदर्शन भट्टराई, सचिवालय प्रमुख सौरभ गौत्तमसहित अधिकारीहरु जानुभएको थियो ।