टेम्पल अफ हेभेन अर्थात् स्वर्गको मन्दिर पुग्दा (भिडियो)
बेइजिङ, ३ असोज । चाइनाको वाणिज्य मन्त्रालय अन्तरगतको मेट्रोलोजिकल टे«निङ सेन्टरले यहि अगष्ट ३० देखि सेक्टेम्बर १२ सम्म चीनको राजधानी बेइजिङमा विकासोन्मुख देशहरूका लागि विपद् रोकथाम र न्यूनीकरणका लागि आयोजना गरेको ‘फेंगयुन मेट्रोलोजिकल सेटलाइट’ सम्बन्धि प्रशिक्षणमा सहभागी हुन् चाइन पुगेका बेला टेम्पल अफ हेभेन घुम्ने अवसर मिल्यो ।
टेम्पल अफ हेभेनबारे मैले आक्कलझुक्कल सुनेको थिएँ । तर, मलाई टेम्पल अफ हेभेनबारे राम्रो जानकारी थिएन् । प्रशिक्षण कार्यक्रममा नेपालसहित लावोस्, श्रीलंका, अफगानिस्तान, मंगोलिया, भेनेजुयला, क्यूवा, रुवाण्डा र मलेसिया गरी ९ देशका ३७ जनाको सहभागिता रहेको थियो ।
आयोजकहरुले हामीलाई चीनले मौसम विज्ञानमा पछिल्लो समय गरेको प्रगतिबारे जानकारी गराउने मात्रै होइन त्यहाँको संस्कृति, सम्पदा र पर्यटकीय स्थलहरुको पनि अवलोकन भ्रमण गराउने तालिका बनाएका रहेछन् । टेम्पल अफ हेभेनको अवलोकन गराउने तालिका अनुसार नै हामी फोरविडन सिटिको दक्षिणतर्फ रहेको ऐतिहासिक स्थल टेम्पल अफ हेभेन पुग्यौ । २ सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको यो टेम्पल अफ हेवन अर्थात ‘स्वर्गको मन्दिर सदियौँदेखि गजधम्मसँग चीनको आस्थाको धरोहर बनेर उभिँरहेको रहेको रहेछ ।
सन् १४२० मा बनेको यो विशाल संरचना बेइजिङ यात्राको एक अविस्मरणीय बिसौनी मात्र नभएर चीनको पुरातन धर्म र परम्पराको बारेमा धेरै कुरा सिक्ने स्थल पनि रहेछ । पुर्खाहरूका लागि सम्मान, प्रार्थना र बलिदानको विम्ब बनेर उँभिएको यो स्वर्गको मन्दिर परिसरमा हामी विहानीपख पुग्दा त्यहाँ हजारौँ मानिसहरू भेला भएका थिए । कोही तस्बिर खिच्न व्यस्त देखिन्थे भने कोही आफ्नै पारामा हिँडडुल गरिरहेका मनमोहक दृष्यहरु त्यहाँ देखिन्थे । नीलो, हरियो, रातो र पहेँलो रंग पोतिएको त्यो स्वर्गको मन्दिर परिसर पुगेपछि हामीलाई केहीबेर पथप्रदर्शकले त्यहाँको मन्दिरको इतिहासबारे जानकारी गराउनुभयो ।
चीनका प्रमुख धार्मिक स्थलहरुमध्ये एक यो मन्दिरको इतिहास अनुसार ‘मिङ वंश’का सम्राट योङ्गले आफ्नो व्यक्तिगत मन्दिरका रूपमा निर्माण गरेका रहेछन् । निकै भव्य वास्तुकला रहेको यो मन्दिरमा त्यतिबेला पनि राम्रो उब्जाउका लागि वर्षाको प्रार्थना गर्ने र आफ्ना मानिसहरूका पापको प्रायश्चित गर्ने चलन रहेछ ।
मन्दिर परिसरमा राखिएको सूचना पार्टीमा यो मन्दिर चीनका मीङ वंशका सम्राटका पालामा सन् १४०६ मा सुरु भएर सन् १४२० मा निर्माण सम्पन्न भएको उल्लेख रहेछ । यो अद्भुत वास्तुकला र महत्वपूर्ण सांस्कृतिक धरोहर तत्कालिन सम्राटहरूले राम्रो उब्जनीका लागि प्रार्थना गर्न र स्वर्गबाट आशीर्वादको खोजी निर्माण गरेका रहेछन् ।
मिङ सम्राटले त्यतिबेला उत्तरमा अर्ध–वृत्ताकार पर्खाल र दक्षिणमा वर्गाकार संरचना बनाएका रहेछन् । मन्दिर दुईवटा कुण्डाकार पर्खालहरूले घेरिएको रहेछ । भित्री भागमा पुरातन वास्तुकलाहरू, राम्रो उब्जाउका लागि प्रार्थना गर्ने हल, गोलाकार ढिस्को वेदी, स्वर्गको इम्पीरियल भल्ट जस्ता संरचनाहरू समावेश रहेछन् ।
यी संरचनाहरूले सम्राटहरूको बसोबासको लागि अनुष्ठानको रुपमा सेवा गरेका थिए भन्ने भनाइ रहेछ । बाहिरी भागमा ईश्वरीय संगीत प्रशासनको संरचना रहेछ । जहाँ संगीतकार र नर्तकहरूले समारोहका लागि अनुष्ठान संगीतको पूर्वाभ्यास गर्ने चलन थियो रे ।
त्यहाँका ती सबै रंगहरुको पनि आ–आफ्नै विशेषता रहेछ । नीलो रंग स्वर्गको प्रतीक बनेर बसेको रहेछ भने रातो रंगले सकारात्मक ऊर्जाको प्रतिनिधित्व गर्ने रहेछ । यो भाग्यसँग पनि जोडिएको रहेछ । हरियो रंगले स्वर्गका लागि आरक्षित रंगको प्रतिनिधित्व गरेको रहेछ । पहेंलो रंगलेचाँहि परम्परागत रूपमा सम्राटको रंगको प्रतिनिधित्व गर्ने रहेछ ।
विश्व सम्पदा सूचिमा सुचिकृत यो मन्दिरको अर्को विशेषता भनेको त्यहाँका अधिकांश संरचनाहरु वर्गाकार र गोलाकार रहेछन् । स्वर्गको मन्दिरको डिजाइन प्रतीकात्मकता र अर्थले भरिएको रहेछ । गोलाकार संरचनाले स्वर्गलाई प्रतिनिधित्व गर्ने रहेछन् भने वर्गाकारले पृथ्वीलाई दर्शाउँने रहेछ । जसले प्राचीन चिनियाँ विश्वासमा दुवै संसारका बीचको सन्तुलनलाई दर्शाउँने रहेछ । परिसरको आवरण कठोर ब्रह्माण्डीय सिद्धान्तहरू अनुसार तयार गरिएको रहेछ । जसमा विभिन्न संरचनाहरू उत्तर–दक्षिण अक्षको वरिपरि व्यवस्थित रहेछन् । त्यसलाई पनि परम्परागत रूपमा स्वर्गको दिशा मानिने रहेछ ।
मन्दिर परिसरमा राखिएका ड्रागन र फीनिक्स दुई काल्पनिक जनावरहरू पनि शुभ संकेतका रुपमा रहेका रहेछन् । त्यहाँ ९ अंक अर्थात् उच्चतम एकल बिजोर संख्यालाई स्वर्गको प्रतीकका रुपमा मानिएको रहेछ ।
मिङ र छिङ वंशका पालमा यो मन्दिर साम्राज्यिक अनुष्ठानहरूको लागि एक महत्त्वपूर्ण स्थल रहेछ । प्रत्येक वर्ष, सम्राटहरू फोर्बिडेन सिटीबाट यात्रा गर्दै जटिल समारोहहरू गर्न यहाँ आउने गरेकाले पनि यस्को विशिष्ट महत्व रहेको रहेछ । यो मन्दिर प्रवेशका लागि सन् १९१४ वाट मात्रै खुला गरिहेको रहेछ । सन् १९९८ मा विश्व सम्पदा सूचीमा समावेश भएको यो मन्दिर अहिले स्थानीय र पर्यटकहरूका लागि एक लोकप्रिय गन्तव्य बनेको रहेछ । शान्तिपूर्ण वातावरणमा विश्राम र विचरण गर्न सकिने यो स्वर्गको मन्दिर केवल एक ऐतिहासिक स्थल मात्रै नभइ मानवता र ब्रह्माण्डबीचको निरन्तर सम्बन्धको प्रतीकसँग पनि जोडिएको छ ।