पुरुषको कपाल काट्ने महिलाको संख्यामा बृद्धि, जिस्काउनेहरुवाट प्रशंशा

काठमाडौं। पश्चिम नेपालको अछाम पञ्चदेवल विनायक– ४ की झुपा विकले पुरुषको कपाल काट्न थालेकी छन्। २१ वर्षकी झुपाले पहिलो पटक पुरुषको कपाल काट्दा धेरैैले अनौठो तरीकाले हेर्ने गरेको अछाममा हाल आएर स्वभाविक बन्न देखिन थालेको हो ।

बाबुआमा दुवै भारतको बम्बईमा बैदेशिक रोजगारीमा रहेको कारण परिवारको खर्चको जोहो गर्न बाबुआमाको बैदेशिक रोजगारी मात्र भैरहेकोमा अव भने झुपा आफै स्वरोजगारमा लागेदेखि आफूसहित आठजनाको परिवारको खर्च धान्न सक्ने भएकी छन्। छोरी मान्छेले कपाल काट्ने काम गर्नु हुँदैन भन्ने मान्यता खण्डित पार्न सफल झुपाले कपाल काट्ने व्यवसाय गर्न थालेदेखि उनका बुवाआमाले भारतवाट प्रत्येक महिना घरखर्च पठाउन नपर्ने गरेर आफूले काम गर्न सफल भएको पनि उनको भनाई छ।

त्यस्तै, अछामकै मंगलसेन नगरपालिका ७ को ठुलासैन बजारमा धनसरा जैसीको धनसरा हेयर कटिङ सेन्टर छ। १८ वर्षकी धनसराको काँधमा घरपरिवारको सम्पूर्ण जिम्मेवारी छ। भारत कमाउन गएका बुवा उतै बेपत्ता भएको १० वर्ष पछि उनले यो व्यवसाय शुरु गरेकी हुन्। कपाल काट्ने व्यवसायबाट घरपरिवार पाल्न सफल भएकोमा उनी सन्तुष्ट बनेकी छन्।

पञ्चदेवल विनायक–३ की निर्मला बुढाले पनि कपाल काटने व्यवसाय सुरु गरेकी छिन्। व्यवसाय सुरुपछि निर्मलाको दैनिकी फेरिएको छ। पहिले घरासयी काममा व्यस्त हुने निर्मला आजभोलि कपाल काट्ने व्यवसायमा व्यस्त छिन्। उनी २२ वर्षकी मात्रै भइन्। उनले भनिन्, ‘महिला पुरुष सबैको कपाल काट्छु। कपालमा कलर लगाउने गर्छु,।’

विदेशको सपना देख्नुभन्दा आफ्नै गाउँठाउँमै काम गरेर विपनामा रमाउनु राम्रो भएको झुपा, धनसरा, निर्मलाले भनेकी छन्। पहिले उनीहरुलाई जिस्काउनेहरू अहिले उनको कामको प्रशंशा गर्ने गरेका छन्।