शिकारीहरुको लागि ‘ढोरपाटन सिकार आरक्ष’ आकर्षणको केन्द्र

काठमाडौं । पेशेवर विदेशी शिकारीहरुको लागि नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ आकर्षणको केन्द्र बन्न थालेको छ। पेशेवर विदेशी शिकारीहरूका लागि ‘ढोरपाटन सिकार आरक्ष’ विश्वमै प्रख्यात हुन थालेको छ । ‘ढोरपाटन सिकार आरक्ष’ मा लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको शिकार गर्न पाइने भएको कारण पनि पेशेवर विदेशी शिकारीहरुको आकर्षण बढ्न थालेको हो।

यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ । साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ । हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ ।

शिकार गर्नका लागि शिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ । शिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले शिकार गर्ने गर्छन् । शिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ । हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ शिकार गर्न निकै खर्चिलो हुने गरेको छ ।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छभने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ।

यी वन्यजन्तुको सिकार खेल्न दिनका लागि प्रत्येक पाँच वर्षमा गणना गरिन्छ । सन् २०२१ मा गणनाअनुसार नाउरको सङ्ख्या एक हजार २९० र झारलको सङ्ख्या ७४४ रहेको छ । गणनापछि वैज्ञानिक तरिकाले निश्चित सङ्ख्यामा निर्धारण गरिन्छ । यो वर्ष पहिलो सिजनका लागि २४ नाउर र १६ झारलको शिकार गर्न कोटा निर्धारण गरिएको छ । आरक्षमा दुई सिजनमा शिकार खेलाइन्छ । पहिलो सिजन असोज-कात्तिक र दोस्रो सिजन चैत–वैशाखसम्म हुने गर्छ ।

यहाँ बुढो उमेरको भालेको मात्र शिकार गर्ने गरिन्छ। करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ । यसरी सिकार गर्न दिँदा कुनै जनावर अत्यन्त न्यून वा सखापै हुने अवस्था नरहने र जनावरको सङ्ख्या अत्यधिक बढेर आफ्नै बासस्थानलाई नोक्सान पुर्‍यायाउने वा स्थानीय बालीनालीलाई अत्यधिक क्षति पुर्‍याउने परिस्थिति पनि उत्पन्न नहुने आरक्षले जनाएको छ।

विसं २०४४ मा स्थापना भएको यस आरक्षको क्षेत्रफल एक हजार ३२५ वर्ग किमी रहेको छ । रुकुम पूर्व, बाग्लुङ र म्याग्दीका केही भागमा आरक्ष फैलिएको छ ।
यस आरक्षमा ३२ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । प्रमुख जनावर नाउर, झारल, थार र हिमाली भालु हुन् । यहाँ दुर्लभ एवं संरक्षित पन्छीको सूचीमा परेका डाँफे, मुनाल, चिरलगायत १६४ प्रजातिका चराहरू पाइन्छन् ।

वन्यजन्तुको सदुपयोगका साथै संरक्षण होस् भन्ने हेतुले यस क्षेत्रलाई सिकार आरक्ष बनाइएको हो । अघिल्लो आवमा यहाँ १९ वटा नाउर र ११ वटा झारलको शिकार अनुमति दिइएको थियो । यसबाट कुल चार करोड २६ लाख ८८ हजार ७०० राजस्व आम्दानी भएको थियो ।

विभागले यस वर्षको पहिलो सिजनका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो । सिकार कम्पनीहरूले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रति नाउर र झारलको सिकार गरेबाफत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82