कार्वन उत्सर्जन घटाउन नवीकरणीय उर्जा उत्पादनमा जोड दिऔँः सांसद डाक्टर शाक्य

काठमाडौं, ६ असोज । विकास, आर्थिक मामिला तथा सुशासनको समितिको विश्व जलवायु सम्मेलन (कोप–२८) को कार्यप्रगति र विश्व जलवायु सम्मेलन कोप–२९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी विषयक छलफलमा सांसदहरुले शून्य कार्वन उत्सर्जन र नवीकरणीय उर्जा उत्पादन जस्ता विषयको उठान गरेका छन् ।

वन मन्त्रालयको समेत उपस्थिति रहेको बैठकमा राष्ट्रिय सभा सदस्य डाक्टर अन्जान शाक्यले वन मन्त्रालयलाई नवीकरणीय उर्जाबाट कति उर्जा उत्पादन भैरहेको छ ? कति वटा नयाँ उद्योगहरु नवीकरणीय उर्जा उत्पादनबाट चल्ने कति उद्योगहरु दर्ता भएका छन् र तिनीहरुमा शून्य कार्वन उत्सर्जनका लागि नयाँ प्रविधिहरु के–के अपनाइएको छ ? नवीकरणीय उर्जा उत्पादनमा के कति वृद्धि भैरहेको छ ? कार्वन उत्सर्जनलाई घटाउँदा कति बैकल्पिक उर्जा उत्पादन गरेका छौँ ? भन्ने जस्ता प्रश्न गर्नुभएको थियो ।

‘कोप–२६ मा नेपालले सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने र सन् २०५० सम्ममा शून्यबाट ‘नेगेटिभ’ मा झार्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ उहाँले छलफलमा प्रश्न गर्नुभयो, ‘त्यसका लागि हामीले कति वैकल्पिक ऊर्जा कति उत्पादन गरेका छौँ ? साथै उद्योग, यातायात, कृषि, वन, तथा फोहोर व्यवस्थापनलगायतका क्षेत्रहरूमा हालसम्म के कति लक्ष्य हासिल भएको ?’

सांसद शाक्यले जति नवीकरणीय उर्जा उत्पादन गर्न सक्यो त्यति नै कार्वन उत्सर्जनमा कमी ल्याउन सकिने पनि उल्लेख गर्नुभयो । उहाँले एलडिसी ग्राजुएशन–०२६ मा नेपाल जाँदै गर्दा अर्थतन्त्र बलियो बनाउनु पर्ने र नेपालले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली वस्तुहरुको उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिस्तार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

‘नेपालको सन्दर्भमा औद्योगिकरण विकास हुन सकेको छैन । अहिले पनि उद्योगहरू धरासायी बन्दै गइरहेका छन् । यस्तो अवस्थामा उद्योगहरू स्थापनाको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि नेपालमा उत्पादन भएका वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने कुरा हामी गरिरहेका छौं,’ उहाँले प्रश्न गर्नुभयो, ‘शुन्य कार्बन उत्सर्जन अनुरूप कतिवटा उद्योगहरू नेपालमा सञ्चालनमा छन् अथवा हुँदैछन् यसको तथ्याङ्क समितिलाई उपलब्ध हुन सकेमा समिति लाभान्वित हुने थियो ।’ उहाँले अहिले नवीकरणीय उर्जाबाट २५ मेघावाट मात्रै उर्जा उत्पादन भैरहेको भन्दै त्यसलाई बढाउनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

‘विश्वमा वनमा डडेलो लाग्नु, जीवांश इन्धनको बढी प्रयोग, औद्योगिकरण वृद्धि, सहरीकरण, वन विनास आदि जलवायु परिवर्तनका कारणहरू हुन्,’ उहाँले भन्नुभयो ।
उहाँले जिरो कार्वन उत्सर्जनको उपायका लागि सिमेन्ट कारखानाहरूबाट प्राप्त भएका कार्बन डाइअक्साइडलाई युरिया उत्पादन गर्नमा पनि प्रयोग गर्न सकिने भन्दै सन् १९८४ मा जाइकाले नेपालमा विद्युतबाट मल उत्पादन गर्न सकिन्छ भनेर अध्ययन गरिसकेको पनि स्मरण गराउनुभयो । उहाँले अत्यधिक कार्वन उत्सर्जनबाट बढ्दै गएको जलवायु परिवर्तन सम्बन्धी असर नेपालले पनि भोगिरहेको उल्लेख गर्नुभयो ।

समितिको बैठकमा बोल्दै राष्ट्रिय सभाका अन्य सदस्यहरुले पनि प्रश्न गर्नुभएको थियो । छलफलमा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.बुद्धिसागर पौडेलले पनि आफ्नो धारणा राख्नु भएको थियो । आगामी नोभेम्बर ११ देखि २२ तारिख (आगामी कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) हुँदैछ ।