ग्रेटवालबाट चीन नियाल्दाको खुशी (भिडियो)
काठमाडौं, ७ असोन । सन् २०१९ मा पहिलो पटक चीन भ्रमण गरे पनि त्यो भ्रमणमा चीनको महत्वपूर्ण पर्यटकीय स्थल बनेर विश्वका सामू चिनिएको ग्रेटवाल चढ्ने सपना अधुरो–अधुरै बनेको थियो । लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा करीब ११ दिन सिचुवानलगायतका प्रोभिन्सको भ्रमण गरे पनि चीनको सान बनेको ग्रेटवाल चढ्ने अवसर भने त्यतिबेला मिलेको थिएन ।
त्यतिबेलै चीनबाट फर्किदैँ गर्दा पनि मनमा भने अर्को पटक चीन भ्रमण गर्दा ग्रेटवाल चढ््ने, त्यहाँको पर्खालमा तस्बिर खिच्ने र सुन्दर दृष्य नियाल्ने कुतुहल मनभरी नाचिरहेको थियो । त्यसको ठिक पाँच वर्षपछि अर्थात् सन् २०२४ को अगष्टको अन्त्यतिर चीन भ्रमणको अवसर मिल्यो । करिब १५ दिनको अध्ययन र अवलोकन भ्रमणका लागि चीनको राजधानी बेइजिङ र छिङहाई जाने अवसर मिल्यो ।
चाइनाको वाणिज्य मन्त्रालय अन्तरगतको मेट्रोलोजिकल टे«निङ सेन्टरले यहि अगष्ट ३० देखि सेक्टेम्बर १२ सम्म चीनको राजधानी बेइजिङमा विकासोन्मुख देशहरूका लागि विपद् रोकथाम र न्यूनीकरणका लागि आयोजना गरेको ‘फेंगयुन मेट्रोलोजिकल सेटलाइट’ सम्बन्धि प्रशिक्षणमा सहभागी हुन चाइना जाने तयारीसँगै मन पुलकित बनेको थियो । दोस्रो पटक चीन भ्रमणमा जाने अवसर प्राप्त हुँदा र अझ त्यो भन्दा पनि बढीचाँहि ग्रेटवाल पुग्ने आशाले थप पुलकित बनेको थिँए ।
सन् १९८७ मा यूस्नेस्कोले विश्वसम्पदा सूचीमा सूचिकृत गरेको ग्रेटवालबारे धेरै सुनेपनि त्यहिँ पुगेर पाइला टेक्ने, वरिपरिका सुन्दर दृष्य नियाल्ने र त्यहाँका सिँढीहरू गन्दै उक्लिने मेरो रहर चाइना साउथअर्नको जहाजले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल छाड्दैदेखि उथलपुथल बनेर जहाजसँगै उडिरहेको थियो ।
चाइना साउथअर्नको जहाज नेपाली भूमि छाडेपछि कतै बादलभित्र हराउँदै त कतै निलो आकासमा उड्दै अनि गोधूलिको पहेलो बादल छाड्दै करीब पाँच घण्टाको उडानपछि गोन्जाओ पुग्यो । गोञ्जाओमा करीब १२ घण्टाको ट्रान्जिट भयो । भोलिपल्ट मसँगै रोशन साँवा, कालिका सिवाकोटी र इन्दिरा अर्यालसहित चाइना साउथअर्नकै जहाज चढेर बेइजिङ यात्रामा लाग्यौँ । करिब तीन घण्टाको उडानपछि हामी बेइजिङको तासिङ विमानस्थल पुग्दा हामीलाई लिन ट्याक्सी विमानस्थलमै आइपुगेको रहेछ ।
वरिपरिका गगनचुम्बी भवन र नेपालको अन्तराष्ट्रिय विमानस्थल भन्दापनि ठूला–ठूला सडकहरूमार्फत करिब ६५ किलोमिटरको यात्रा पार गर्दै झण्डै एक घण्टामा चीनको चर्चितस्थल नेशनल लाइब्रेरी नजिकैको होटलमा पुग्यौँ । ज्यान गलेर लखतरान भएको थियो । आयोजकहरूको स्वागतसँगै हामीलाई भोलिपल्टको अध्ययन र भ्रमण कार्यतालिकाबारे जानकारी गराए । भोलिपल्टै ग्रेटवाल जाने कार्यतालिका रहेको जानकारी आयोजकहरूले गराएपछि मन त्यसैत्यसै खुशीले गद्गद भयो ।
भोलिपल्ट बिहानै ग्रेटवाल जाने तालिकापछि मैले ग्रेटवालबारे केही जानकारी लिन गुगल सर्च गरेँ । ट्राभल चाइना गाइडका अनुसार हामीलाई दुईतर्फी पहाडले घेरिएको उपत्यकामा रहेको र लामो समयदेखि सैनिक गढका रूपमा परिचय बनाएको जुयोङग्वान ग्रेटवालको भ्रमणमा लैजाने तयारी भएको रहेछ ।
भोलिपल्ट हामी कार्यतालिकाअनुसार बिहानै ग्रेटवालको भ्रमणका लागि निस्क्यिौँ । हाम्रो साथमा चिनियाँ पथप्रदर्शक पनि हुनुहुन्थ्यो । मचाँहि इतिहास अुनसार इशापूर्व पाँचौ शताब्दीदेखि निर्माण सुरु भएको विश्वको मानवनिर्मित सातौ आश्र्चयभित्र पर्ने ग्रेटवाल चढ्ने रहर मनभरी बोकेर उत्साहित बनिरहेको थिएँ । असाध्यै कम बोल्ने तर भद्र स्वाभावका मित्र रोशन साँवा र मसँगै सिटमा थियौँ । उहाँ पनि पहिलो पटक ग्रेटवालको भ्रमण गर्ने कुराले उत्साहित हुनुहुन्थ्यो ।
उत्तरीक्षेत्रका शक्तिशाली राष्ट्रहरूबाट देशको सुरक्षाका लागि चीनका विभिन्न समयका शासकहरूले ग्रेटवालको निर्माण गरेको भन्ने इतिहास पढेको थिएँ । हाम्रो साथमा रहनु भएकी पथप्रदर्शकले पनि सबैभन्दा पहिला चू राज्यका राजा चङले सुरक्षाका लागि ग्रेटवाल बनाउन लगाएको इतिहासबारे केही जानकारी गराउनुभयो । त्यसपछि विभिन्न कालखण्डका राजा महाराजाहरूले यसको लम्बाई बढाउँदै लगेपछि यो विशाल संरचना तयार भएको इतिहास रहेछ ।
चन्द्रमाबाट पनि ग्रेटवाल देखिन्छ भन्ने कथ्य बनाएको यो ग्रेटवालको लम्बाइबारे आधिकारिक विवरण नभए पनि ट्राभल चाइना गाइडको सन् २०१२ को सर्वे अनुसार यसको लम्बाई २१ हजार १ सय ९६ किलोमिटर रहेछ । सन् २००९ मा भएको एक सर्भेले भने उक्त पर्खालको लम्बाइ ८ हजार ८ सय ५० किलोमिटर रहेको सार्वजनिक गरेको रहेछ । सन् २०१२ को सर्भेक्षणको रिपोर्ट चिनियाँ सरकारी समाचारपत्र सिन्ह्वामा समेत प्रकाशित भएको रहेछ ।
चिनियाँ सरकारको सांस्कृतिक इकाइले पनि सन् २०१२ मा यो विवरण सार्वजनिक गरेको रहेछ । यहि ग्रेटवाल बेइजिङबाट चढ्ने अठोट लिएर हामी ग्रेटवालतिर तिव्रगतिको यात्रामा दौडिरहेका थियौँ ।
हामी बेइजिङ पुगेदेखि नै बेइजिङको मौसम बिग्रिरहेको थियो । बेइजिङको आकाशमा कालो बादल मडारिँदा मेरो मन पनि भोलिपल्ट ग्रेटवाल पुगेर सुन्दर दृष्यहरू खिच्ने सपना पूरा नहुने हो कि भनेर बादल जस्तै मडारिरहेको थियो । ग्रेटवालबाट हरिया पहाडहरू अनि सुन्दर दृष्यहरू कैद गर्ने रहरलाई कालो बादलले अवरोध गर्ने पो हो कि भन्ने चिन्ता गाडीको तिव्र गति जस्तै उथलपुथल भैरहेको थियो । तर, करिब एक घण्टाको यात्रापछि ग्रेटवालको बसबिसौनी पुग्दा लागेको चर्को घाम र खुलेको आकाश देखेपछि मन शान्त बन्यो ।
बसबिसौनी नजिकै देखिएका लहरै स–स्याना पसलहरूबाट पर्यटकहरू देख्ने बित्तिकै किनमेलका लागि बोलाउने गज्जबको शैली देख्दा मलाई काठमाडौंको ठमेलको याद आयो ।
२० देखि ३० लाख मानिसहरूले आफ्नो श्रम खर्च गरेको र ग्रेटवाल निर्माणका क्रममा करिब २ लाख मानिसले ज्यान गुमाएको इतिहास पढेको मलाई त्यहाँको माटो टेख्दा, त्यहाँका दृष्य देख्दा अनि त्यो विशाल पर्खाललाई स्पर्श गर्न पाउँदा खुशी पनि ग्रेटवाल जस्तै विशाल बनेको अनुभूति भएको थियो ।
चीनको एक अभूतपूर्ण वास्तुकलाको नमुना ग्रेटवालको त्यो विशाल प्रवेशबाट छिर्नु अघि हामीले सामूहिक तस्बिर खिच्यौँ र अगाडि बढयौँ । हामी ९ देशका ३७ जना भित्र छिर्दै गर्दा मैले ग्रेटवाल वरिपरिका केही दृष्यहरू कैद गरेँ । मलाई त्यो विशाल द्बारबाट भित्र छिर्दै गर्दा र दृष्यहरू कैद गर्दै गर्दा ती दृष्यहरू नेपालका झैँ लागिरहेका थिए फरक थियो त मात्रै ग्रेटवाल ।
हामीले यात्रा गर्ने जुयोङग्वान पासको ग्रेटवाल चीनको विशाल महान पर्खालको अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक खण्ड रहेछ । बेइजिङ नजिकै अवस्थित यो ऐतिहासिक र सांस्कृतिक महत्वले भरिएको पर्खालका दुबै किनारहरूका हरियाली र घना वनस्पतिहरूले त्यो पर्वतीय भूभागलाई समेत सुशोभित गरेका रहेछन् । ती मनमोहक दृश्य खिच्दै गर्दा थप पुलकित भएँ ।
त्यहाँको सूचनामा उल्लेख गरेको इतिहास अनुसार प्राचीन कालमा जुयोङग्वान ग्रेट वाललाई ‘स्वर्गमुनिको सबैभन्दा ठूलो पास’ भनिने रहेछ । छिङ राजवंशको समयदेखि यो क्षेत्रलाई बेइजिङको प्रसिद्ध ‘आठ मनोरम दृश्यहरू’ मध्ये एकको रूपमा मान्यता दिइएको छ । यस क्षेत्रमा रहेका विभिन्न सहायक संरचनाहरू, जस्तै दक्षिणी र उत्तरी किल्लाहरू र जलगेट (पानीको प्रवेशद्वार) ले यस पासलाई एक पूर्ण सुरक्षा प्रणालीको रूपमा प्रस्तुत गरेको रहेछ । यी संरचनाहरूले सैनिक सुरक्षा र रणनीतिक दृष्टिकोणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए भन्ने सहज अनुमान गर्न सकिन्थ्यो ।
गेट पास गर्ने वित्तिकै एउटा अद्वितीय स्तूप देख्न सकिने रहेछ । यो स्तूप युआन राजवंशको समयमा निर्माण गरिएको रहेछ । जसको जग एक अत्यन्त सुन्दर शिलालेख कलाको उत्कृष्ट नमूना रहेछ । यस स्तूपको आधारमा बनाइएका शिलाखोद कलाहरूले युआन कालको शिल्प कौशललाई उजागर गर्ने रहेछन् । सन् १९६१ म ‘जुयोङग्वान पास–क्लाउड प्लेटफर्म’ लाई राष्ट्रिय सांस्कृतिक सम्पदाको महत्वपूर्ण संरक्षण स्थलको रूपमा घोषणा गरिएको रहेछ ।
९ देशका ३७ जनाको समूहमा हामी त्यसरी गे्रटवाल चढ्दै गर्दा मलाई कताकता स्वर्गीय डा. ताना शर्माको घनघस्यकोको उकालो काट्ता नियात्राको झल्को आइरहेको थियो । हामी विस्तारै–विस्तारै ग्रेटवालका सिढिँ चढिरहेका थियौँ । केही साथीहरू गन्तव्यमा पुग्न नसकेर हँस्याङफस्याङ गरिरहेका थिए भने हामीचाँहि अदम्य आँट बोकेर उक्किरहेका थियो । ग्रेटवालबाट देखिएका सुन्दर दृष्यहरूले त्यो नाक ठोकिने उकालो पनि ठ्याम्केठाँडे उकालो जस्तो अनुभूति भइरहेको थियो ।
हामी घरी थकाइ मार्दै त घरी सुस्केरा हाल्दै एक विन्दुको टुप्पोमा पुग्यौँ । त्यो विन्दुको टुप्पोमा रहेको पसलमा ‘म चीनको बेइजिङको ग्रेटवाल चढेँ’ भनेर लेखिएको मेडल किन्न पाइने रहेछ । ४० युआन हालेर त्यो मेडल किने । मित्र रोशन सावाँले पनि किन्नुभयो । त्यही मेडल बोकेर केही तस्बिर खिच्दा साँच्चै नेपालको सगरमाथा चढेर राष्ट्रिय झण्डा फहराएको अनुभूति भयो ।
ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक, र रणनीतिक दृष्टिकोणले चीनको समग्र महत्त्वपूर्ण सम्पदाहरूमा विशेष स्थान ओगटेको यो पर्खालको टुप्पोमा पुगेर फर्किदैँ गर्दा मेरो मन पनि ग्रेटवाल चढ्ने सपना पूरा भएकोमा पुलकित बनिरहेको थियो ।