संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई प्रधानमन्त्रीको सम्बोधनः सबैसँग मित्रता,छैन कसैसँग शत्रुता

काठमाडौं, ११ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्नुभएको छ । सभालाई सम्वोधन गर्दै उहाँले दुई ठूला राजनीतिक दलको सहकार्यमा बनेको वर्तमान सरकार नेपाली जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ आफ्नो देशको विदेश नीति सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । ‘पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकार्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो । उ

हाँले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन् २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक खाडल रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने माग पनि गर्नुभयो ।

राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको उहाँको भनाई थियो । उहाँले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान गर्नुभयो ।

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनु भएका धानमन्त्री ओलीले सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापनाका प्रयासका आरोह अवरोहको व्याख्या गर्दै आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभालाई जानकारी रहेको उल्लेख गर्नुभयो ।