घुमफिर

नेपाल–चाइना मितेरी सम्बन्धको जीवन्त इतिहास श्वेत चैत्य घुम्दा (भिडियो रिपोर्ट )

काठमाडौं, १३ असोज । दोस्रो पटकको चीन भ्रमणका क्रममा बेइजिङमा अवस्थित फोर्बिडेन सिटी अर्थात निषेधित दरबार र श्वेत चैत्य जसरी पनि पुग्ने रहर थियो । तर, हाम्रो कार्यक्रम तालिका अनुसार ती दुबै ठाउँको अवलोकन भ्रमण नभएकाले मन खल्लो जस्तो भैरहेको थियो ।

यता मित्र रोशन साँवा पनि ‘काका फोर्बिडेन सिटी र श्वेत चैत्य नघुमी फर्कियौँ भने नेपालमा यिनीहरु बेइजिङ नपुगी फर्किएछन् भन्छन् र हामी बेइजिङ पुगेको पनि पत्याउँदैन् है’ भन्दै शान्त स्वाभावमा मलाई ती दुई स्थान पुग्ने चाँजोपाँजो मिलाउन हुटहुटी लगाइरहनु भएको थियो । मित्र रोशनको त्यो हुटहुटीले फोर्बिडेन सिटी र श्वेत चैत्य जसरी पनि पुग्ने रहर म स्वंयमा पनि छाल बनेर उर्लिरहेको थियो ।

‘ढुंगो खोज्दा देउता मिल्यो’ भन्ने नेपाली उखान जस्तै बेइजिङ पुगेपछि करीब एक दशक बढीदेखि बेइजिङलाई कर्मभूमि बनाएर सञ्चार कर्ममा रमाइरहनु भएका मित्र चेतनाथ आचार्यसँग सम्पर्क भयो । हामीसँगको भेटघाटमा उहाँले समय मिल्यो भने श्वेत चैत्य घुमाउने बाचा गर्नुभयो । उहाँको त्यो बाचापछि मित्र रोशन खुशीले फिसिक्क हाँस्नुभयो म पनि श्वेत चैत घुम्ने रहर पूरा हुने आशाले उहाँसँगै लय मिलाएर मुस्कुराइ दिएँ ।

अन्तिम दिन अर्थात विदाई कार्यक्रमपछि बल्ल समय मिल्ने भयो । हामी मित्र चेतनाथसँगै श्वेत चैत्यको प्रवेशद्वारमा पुग्यौँ । सुरुमै हामी टिब्बेटियन शैलीको बुद्धिष्ट पेगोडा पुगियो । त्यहाँका हरेक सिलिङहरुमा ॐ माणि पद्मे हुँ मात्रै कुँदिएको थिएन भित्ताहरुमा नेपालका बौद्ध स्तूपा, स्वयम्भूलगायतका तस्बिरहरु अति सम्मान र महत्वका साथ सजाएर राखिएका थिए । अनायसमा मेरा आँखा भित्तामा सजिएको रञ्जना लिपीमा पुगेछन् । ती दृष्य देख्दा मलाई ‘लिपी क्वीन’को परिचय बनाएकी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको याद आयो । उहाँलगायतको टिमले रञ्जना लिपीको प्रवद्र्धनका लागि अहोरात्र खटेका केही दृष्यहरु श्वेत चैत्यको भित्तामा टाँगिएको रञ्जना लिपीसँगै एकछिन डुलिरहे ।

शाक्यमुनी बुद्धका विशाल मुर्तीहरु अनि मञ्जुश्रीको आकृतिहरु देख्दा मन थप पुलकित बन्यो । मित्र चेतनाथसँगै मित्र रोशन अनि कालिका सिवाकोटी र इन्दिरा अर्यालसहित केहीबेर त्यहाँको दृष्यावलोकनपछि हामी अघि बढ्यौँ ।

मेरो ध्यान अरनिकोको पूर्णकदको तामाको मुर्तिमा पुग्यो । मैले मेरो पावरवाला चस्माबाट पूर्णकदको मुर्तिको तल लेखिएका अक्षर निहाले । त्यहाँ नेपाली अक्षरमा उक्त मुर्तिबारे लेखिएको रहेछ । चीनको सान बनेर बसेको श्वेत चैत्य परिसरमा ठडिएको अरनिकोको मुर्तिमा कुँदिएका नेपाली अक्षर देख्दा एक पटक खुशी नाचौँनाचौँ लागेको थियो तर सम्हालिदैँ मुर्ति नजिकै पुगेर नेपाली अक्षरमा लेखिएको जानकारी अध्ययन गरेँ । सन् १२६० मा नेपालबाट चीन आएका अरनिकोले तत्कालिन य्वीयान् राजवंशको सरकारी पदमा रही चालिस वर्ष सेवा गरेको, उहाँले आफ्नो जीवनकालमा चीनमा तीन वटा विशाल चैत्य, नौवटा वौद्ध विहार र अनगिम्ती चित्र तथा मुर्तिहरु निर्माण गरेको उल्लेख रहेछ ।

उहाँका कलात्मक उपलब्धिहरु चीन र नेपाल दुई देशबिच सौहार्दपूर्ण आदनप्रदानको इतिहासका सवैभन्दा सुन्दर अध्याय भएको पनि त्यहाँ उल्लेख गरिएको रहेछ ।
चाइना रेडियोमा लामो समयदेखि काम गर्दै आउनु भएका र चीनको इतिहासबारे केही पुस्तकसमेत प्रकाशन गरिसक्नु भएका मित्र चेतनाथले हामीलाई अरनिकोको मुर्तिसँगै उभिँएर श्वेत चैत्यबारे थप बेलिविस्तार लगाउनुभयो ।

त्यसपछि हामी गगनचुम्बी श्वेत चैत्यलाई नियाल्दै उहाँकै पछिपछि लाग्यौँ । उहाँ पनि हाम्रो मित्र मात्रै होइन पथप्रदर्शक जस्तै श्वेत चैत्यका बारेमा जानकारी दिदैँ अघि बढ्नुभयो । केहीबेरमा हामी नेपाल र चीनबिचको मित्रताको नमेटिने छाप बनेर बसेको संग्राहलयमा पुग्यौँ । संग्राहलयका भित्ताहरुमा तत्कालिन राजा विरेन्द्रदेखि तत्कालिन राष्ट्रपति विद्यादेवि भण्डारी, तत्कालिन प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डलगायतले श्वेत चैत्य भ्रमण गरेका तस्बिरहरु सम्मानका साथ राखिएको थियो ।

एमालेका वर्तमान महासचिव शंकर पोखरेलले श्वेत चैत्यबारे लेखिएको पुस्तक विमोचन गर्दै गरेको तस्बिर पनि भित्तामा सम्मानका साथ राखिएको थियो । यी सबै दृष्यले नेपाल र चीनबिचको मित्रवत् सम्बन्ध कति कसिलो बनाएको रहेछ भन्ने उदाहरण प्रस्तुत गर्ने रहेछन् । ती दृष्यहरु देख्दा अरनिकोको नेतृत्वमा सन् १२७१ देखि १२७९ सम्म लगाएर बनाएको ५० दशमलब ९ मिटर अग्लो श्वेत चैत्य जस्तै नेपाल र नेपालीको शीर पनि उचो भएको अनुभूति भयो ।

संग्राहलयका भित्ताहरु नियाल्दै जाँदा अरनिकोको जीवनी चित्रमा मेरा आँखा पुगे । चाइनिज भाषामा लेखिएको त्यो जीवनी चित्रबारे मित्र चेतनाथले बेलिविस्तार लगाउनुभयो ।
करीब दुई घण्टा श्वेत चैत्य परिसरमा विताउँदा आज भन्दा ८ सय २१ वर्ष पहिला चीन छिरेका अरनिको योगदानको मात्रै याद आएन् । उनले नेपाल र चीनबिचको सांस्कृतिक दूत बनेर गरेको योगदानका कारण अहिले पनि यी दुई देशका जनताको बिचको मैत्रिपूर्ण आदनप्रदानको प्रतीक बनेर श्वेत चैत्य ठडिरहेको अनुभूति भयो ।