अहिलेको विपत्तिको अपजस सबै अरुलाई देखाए मेयर बालेनले उम्किन मिल्ला ?

काठमाडौं, १४ असोज । साउनको पहिलो हप्ताको अविरल वर्षासँगै आएको बाढी र त्यसका कारण परेको डुबान र पहिरोले मुलुकले निकै नराम्रो व्यहोर्न बाध्य भयो । सशस्त्र प्रहरी बल (एपीएफ) का अनुसार अहिलेसम्म त्यहि बर्षापछि आएको बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । त्यति मात्रै होइन अहिलेसम्म २८ जना बेपत्ता छन् ।

त्यहि तथ्याङ्क अनुसार काभ्रेमा मात्रै ५९ जनाले ज्यान गुमाएका छन् भने ४ जना अझै बेपत्ता छन् । त्यसपछि काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता छन् । त्यसो त काठमाडौंको छिमेकी जिल्ला ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ललितपुरमा १२ जना बेपत्ता छन् । तथ्याङ्क अनुसार १७ सय ८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

विपद् कसैको नियन्त्रणमा हुँदैन विपद्पछिको कहरबाट उठ्न सबैले हातेमालो गर्नुको अर्को विकल्प हुँदैन र छैन पनि । तर, पछिल्लो समय अकल्पनीय विपद्लाई विभिन्न खाले रङ्ग दिने हर्कतहरु भैरहेका छन् ।

मुख्य गरेर काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उनी निकट मानिएका केही युट्युव र फेसबुक पेजहरुबाट विभिन्न खाले अफबाह फैलाउने घृणित प्रयासहरु भैरहेका छन् ।

केही दिन अघिसम्म ‘बालेन सिटी’ भनेर विगतका नेतृत्वले गरेका सकारात्मक कामलाई समेत मेयर साहको जलप राखेर प्रचार गर्ने तिनै समूहले बाढीपहिरोबाट आक्रान्त बनेका बेला त्यसमा सहयोग गर्नुको साटो ‘क्राँक्रो चोरेर आफू खाने अनि वियाँ अरुका मुखमा दलिदिने’ भन्ने नेपाली उखान जस्तै दोष अरुका थाप्लोमा हालेर मेयर साहकै ‘स्तूतिगान’ मा समय खर्चिदैँ आएका छन् ।

काठमाडौंका अधिकांश ठाउँ डुवानमा परे । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल मात्रै होइन विभिन्न संघ–संस्था पनि उनीहरुसँगै बाढी र डुवान पीडितको उद्धारमा खटिए । तर, आफूलाई नगर पिता भन्ने मेयर साहका सामाजिक सञ्जालमा केही स्ट्याटस आउने बाहेक त्यस्तो प्रत्यक्ष अनुभूति गर्ने कुनै पनि कार्य देखिएन् ।
बरु, उहाँ निकटका युट्युव र फेसबुक पेजहरुमा नदी किनारमा थप २० मिटर अनिवार्य छोड्नु पर्ने नियमको पालना नगर्दा यो विपत्ति आएको भन्ने जस्ता तथ्य र तर्कहीन सामाग्री प्रकाशन गर्न लगाएर दीग्भ्रमित पार्ने हर्कतहरु भए ।

मेयर साहले महानगरपालिकाको नेतृत्व गरेको तीन वर्ष नजिक हुँदैछ । तर, अहिलेसम्म मेयर साहले बाढी र डुवान नियन्त्रणका लागि आफ्नो कार्यक्षेत्र भित्र सामान्य पनि पहल गर्न सकेको देखिँदैन् । काठमाडौं महानगरपालिका क्षेत्र भित्र हुने डुवानको मुख्य समस्या भनेको अव्यवस्थित ढल हो । आफू मेयर भएर आएको केही दिनमै मेयर साहले ढल व्यवस्थापनको डंका पिटेपनि अहिलेसम्म त्यसमा कुनै पहल हुन सकेको छैन ।

अरु त अरु आफ्नै कार्यालय अघि केही महिना अघि सडकमा परेको ठूलो भ्वाङ देखाएर मेयर साहले राजनीति गर्नुभयो । उहाँले खोला ‘छोप्दाको परिणाम’ भन्दै आफू पानीमाथिको ओभानो हुने प्रयासमा सबैलाई दिग्भ्रमित पार्ने काम गर्नुभयो । तर, उहाँले केही वर्ष अघि खोतलेको टुकुचा अहिलेसम्म पनि अलपत्र अवस्थामा छ । वर्षाका बेला मृत्यु खाल्डो बनाएर छाडेको त्यो खाडल अहिलेसम्म पनि पुर्ने ध्यान महानगरपालिकाको पुगेको छैन । त्यति मात्रै होइन । आफ्नै कार्यालय अघिको भ्वाङ पुर्न पनि उहाँले सडक विभागसँग कुनै समन्वय गरेको देखिएन । बरु उल्टै दोष अरुको टाउकामा थपारेर मेयर साह स्ट्याटस लेख्दै बस्नुभयो । विपद् काठमाडौं महानगरपालिकाले थप २० मिटर नछोडेका नदीको वरिपरि मात्रै भएको हो जस्तो गरेर अहिले विषयान्तर गर्ने प्रयास भैरहेको छ ।

ढल व्यवस्थापनलगायतका काममा पूर्ण असफल बन्नु भएका मेयर साह अहिलेको विपद्लाई देखाउँदै आफू निकटका केही युट्युव र सामाजिक सञ्जालको दुरुपयोग गरी नदी किनारमा निश्चित मापदण्ड छाडेर सदिऔँदेखि बसोबास गर्दै आएका महानगरवासीको जायज मागलाई विषयान्तर गर्ने हर्कतमा लाग्नुभएको छ । लोकप्रियतावादमा विश्वास गर्ने मेयर साहको यस्तो हर्कतलाई धेरैले गलत भनेका छन् । तर, अहिले पनि सामाजिक सञ्जालको लाइक, सेयरलाई देखाएर मेयर साहले ‘मै राज्य हुँ’ भन्ने उदण्ड स्वाभावलाई दिनप्रतिदिन अराजकतातर्फ लैजादैँ आउनु भएको छ ।

सबै काठमाडौं जति भूभाग भएर बगेका सप्तकोशीलगायतले पनि अहिले निकै ठूलो वितण्डा मच्याएका छन् । तर, अहिले काठमाडौं र त्यसमा पनि महानगरपालिकासँग जोडिएका नदी छेउछाउमा त्यो पनि निश्चित मापदण्ड छाडेर बनेको घरकै कारण मात्रै यो विपत्ति भएको हो भन्ने भाष्य जवरजस्ती निर्माण गर्ने प्रयास भैरहेको छ ।
तर, त्यस्तो होइन, नदी किनारका बस्ती मात्रै होइन काठमाडौंका भित्रि बस्तीहरु पनि अहिलेको वर्षात्को कहरबाट विमूख भएनन् ।

ती भित्रि बस्ती डुब्नुको मुख्य कारण ढलको उचित व्यवस्थापनमा नहुनु पनि हो । यस्ता कुरामा मेयर साहको ध्यान जान सकेको छैन । ‘माछा देखे दूलोभित्र हात, सर्पदेखे दुलोबाहिर हात’ भन्ने उखान जस्तै मेयर साहले आफ्ना कमजोरीको पनि त अपजस लिनुपर्छ होला नि ? अपसज जति अरुका थाप्लामा हालेर जस मात्रै लिने मेयर साहले यो विपत्तिको दोष अरुका थाप्लोमा खन्याएर उम्किन मिल्ला ?