मन्त्रिपरिषद् बैठकः विपद्बाट मृत्यु भएकाहरुको सम्झनामा ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने

काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको बोष्टनबाट कतारको दोहा हुँदै स्वदेश फर्केसँगै मन्त्रिपरिषद्को बैठक राख्नु भएको छ । बालुवाटारमा बसेको बैठकले विपद्बाट मृत्यु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ भने बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।