नेपाल क्यानडासँग चार विकेटले पराजित
काठमाडौं, १६ असोज । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज सम्पन्न खेलमा नेपाल घरेलु टोली क्यानडासँग चार विकेटले पराजित भएको छ ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो पारीको १९औँ ओभरमा दुई छक्का र एक चौकाको सहयोगमा १८ रन जोडेपछि क्यानडाले जित सहजै आफ्नो पक्षमा पारेकाे हाे ।
क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालको सुरुआत राम्रो रह्यो । पहिलो विकेटका लागि अनिल साह र आशिफ शेखले ७० रनको साझेदारी गरे ।
नेपालले तेस्रो ओभरमा आशिफको एक चौकासहित छ रन बटुल्यो । चौथो ओभरमा एक चौकासहित नेपालको खातामा सात रन थपियो । पाँचौ ओभरमा आशिफले एक छक्का प्रहार गरे भने छैटौँ ओभरमा दुई चौकाको सहयोगमा १० रन बटुलेपछि नेपालले ‘पावरप्ले’मा नौ दशमलव ३३ रनरेटको औसतमा ५६ रन बनायो ।
पावरप्लेपछि नेपालको रनको गति सुस्त भयो । त्यसपछि नेपालले लय बिग्रियो । नेपालको विकेट झर्ने क्रम १२औँ ओभरमा पनि जारी रह्यो ।
पहिलो नौ ओभरमा सात दशमलव ४० को औसतले रन बनाएको नेपालले पारी सकिँदा छ दशमलव ९५ औसतमा १३९ रन मात्रै बनाउन सक्यो ।
नेपाललाई मध्यमक्रममा समेट्ने क्रममा क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङ्गर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक/एक विकेट झारे ।
एक सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको क्यानडाको सुरुआत मध्यम रह्यो ।
क्यानडासामू मध्यम लक्ष्य प्रस्तुत गरेको नेपाल डेथ ओभरमा सम्हालिन नसक्दा क्यानडाले सहजै जित दर्ता गर्यो । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले दुई/दुई र सोमपाल कामीले एक विकेट लिए । अठार बलमा ३३ रन बनाउनुका साथै एक विकेट लिएका साद विन जफर प्लेयर अफ द म्याच घोषित भए ।
शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल बुधबार ओमानविरुद्ध खेल्नेछ ।