चाडपर्वमा अचाक्ली मूल्यवृद्धिको हैरानी खेप्न बाध्य सहरका उपभोक्ता (भिडियो रिपोर्ट)

काठमाडौं, २० असोज । असोजको दोस्रो हप्ताको अबिरल वर्षापछि मुलुक बाढी, पहिरो र डुबानको कहर भोग्न बाध्य भयो । नजिकै आएको नेपालीहरुको महान चाड दसैं मनाउने तयारीमा नेपालीहरु रहेकै बेला आएको बाढी, पहिरो र डुबानको विपत्तिले हरेक नेपालीका सुन्दर योजनाहरु मात्रै विथोलेन त्योसँगै ठूलो धनजनको समेत अकल्पनीय क्षति गर्दै हजारौँका मनहरु भाँचेर कहिल्यै विर्सिन नसक्ने पीडा थपिदिएर गयो ।

त्यो विपत्तिले हजारौँका स्वदेश फर्किने योजना भताभुङ्ग मात्रै बनाएन । गाउँ फकिन ठिक्क परेकाहरुको गाउँ फर्किने योजना समेत विथोलिदियो । देश फर्किने र गाउँ फर्किने योजना मात्रै त्यो विपत्तिले भताभुङ्ग बनाइदिएन । चाडबाडको ठिक्क मुखैमा त्यो विपत्ति महङ्गी थुपार्ने एउटा कारण पनि बनेर आइदियो । कतिपयका लागि बाढी, पहिरो र डुबान विपत्ति बने पनि केहीका लागि भने यो विपत्ति कालोबजारी गर्ने अवसर बनिदिएको छ ।

दैनिक उपभोग्य बस्तुको जस्तै तरकारी, फलफूल र खाद्यन्नको भाउँ चुलिएको छ भने कालो बजारी गर्नेहरुका लागि बाहाना बनिदिएकोछ । बाढी, पहिरो र डुबानको विपत्तिपछि उपभोक्ताहरुले सबै भन्दा बढी तरकारी, फलफूल र खाद्यन्नको भाउ अचाक्ली बढेको गुनासो गर्ने गरेका छन् । हामी स्वयंले पनि उपभोक्ता भएर हेर्दा केही दिन अघिको भन्दा अकल्पनीय ढंगले बजार भाउ बढेको देखिएको छ ।

हामी यहि विषयमा रिपोर्टिङ गर्न शनिबार बिहानै काठमाडौंको केन्द्रमा रहेको र सबै भन्दा पुरानो र ठूलो तरकारी तथा फलफूल बजार कालिमाटी पुग्दा त्यहाँको निकै ठूलो भीडभाड थियो ।

हामी रिपोटिङका लागि पुग्दा केही व्यापारीहरु बोराबाट आधा कुहेका र आधार सग्दा आलु खन्याइ रहेका देखिन्थे भने कोही व्यापारी प्याजको थुप्रोबाट कुहिएका र सग्ला प्याज छुट्याइरहेका दृष्य देखिन्थे ।

हामीले कालिमाटी पुगेर व्यापारी, उपभोक्ता र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रतिनिधिसँग कुराकानी गर्दा एकातिर बाढी, पहिरो र डुबानका कारण अनि अर्कोतिर चाडबाडका बेला आकासिएको बजार मूल्यसँगै देखिएको असामान्य परिस्थितिलाई सहज बनाउन राज्यको अर्थपूर्ण र देखिने सहभागिता आवश्यक छ भन्ने लाग्यो । सबै भन्दा बढी जनताले राज्य खोज्ने भनेको विपद् र अनेकखाले समस्याका बेला हो । यस्तो बेलामा जनताले महशुस गर्ने गरी राज्यले सहजिकरण गर्न सक्नुपर्छ ।