काठमाडौं महानगरको बेथितिबिरुद्ध अख्तियारमा २७५ उजुरीः वडाध्यक्षले प्रश्न उठाउँदा मेयर बालेनको टालटुले जवाफ
काठमाडौं, २२ असोज । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह यस्तो भाग्यमानी मेयर हुन् जसले काम गरेर होइन सामाजिक सञ्जालमा राजनीतिक दल लक्षित अराजक र तुच्छ टिप्पणी गरेकै कारण वाहवाही कमाउँदै आउनु भएको छ ।
२१ लाख बढी फलोअर्स रहेको फेसबुक पेजबाट बेलाबेलामा तथ्यहीन, अराजक र तुच्छ टिप्पणीसहितका अभिव्यक्ति सार्वजनिक गर्ने त्यहि पेजका लाइक, कमेण्टलाई आधार मानेर ‘मै राज्य हुँ’ भन्ने ढंगले गतिविधि सञ्चालन गर्ने साहले आफ्नो कार्यकालको करीब ३ वर्ष व्यथित हुँदासम्म पनि प्रष्ट देखिने र अनुभूति गर्ने काम गर्न सक्नु भएको छैन । काठमाडौंको मुख्य समस्या भनेको फोहोर व्यवस्थापन र ट्राफिक व्यवस्थापन हो । यी दुबै कुरामा मेयर साहको अलिकति पनि योगदान देखिएको छैन । साह मेयर बन्नु अघि नै निर्माण सम्पन्न भएको बञ्चरे डाँडामा अहिले पनि फोहोर व्यवस्थापन भैरहेको छ ।
मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएपछि काठमाडौंका सडक र गल्लीहरुमा पाइप राख्न खोतल्नु पर्ने समस्या समाधान भैसकेको छ । यी दुबै कारण अहिले काठमाडौं महानगरपालिका क्षेत्र पहिला भन्दा केही सफा भने अवश्य देखिएको छ । तर, यी दुबै काममा मेयर साहको कुनै पनि भूमिका छैन । मेयर साहले न्यूरोडलगायतका क्षेत्रमा पार्किङ हटाएर वाहवाही कमाउनु भएको छ । तर, त्यो पार्किङ हटाएपछिको व्यवस्थापनमा पनि उहाँको भूमिका शून्य प्रतिशत पनि छैन । उहाँले आफ्नो कार्यकालमा पार्किङ व्यवस्थापनका लागि अलिकति पनि भूमिका खेल्न सक्नु भएको छैन ।
कार्यपालिकालाई समेत छल्दै आफू अनुकुलका व्यक्तिहरुलाई सानादेखि ठूला योजनाहरु ठेक्कामा दिएर जनताले तिरेको करको चरम दूरुपयोग गरिरहनु भएका मेयर साहले आफ्ना अनगिम्ति कमजोरीहरु ढाकछोप गर्न नेता लक्षित तुच्छ टिप्पणीलाई हतियार बनाउँदै आउनु भएको छ । तर, उहाँले आफ्ना कमजोरीलाई जतिसुकै ढाकछोप गरे पनि उहाँले गरेको जनताको करको दुरुपयोग कति गर्नुभएको छ भन्ने सानो उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेद (२०८०–८१) ले प्रष्ट पारेको छ । स्थानीय तहले गरेका गलत कामका विरुद्ध अख्तियारमा उजुरीका चाङ लागेको आयोगको चौतिसौँ वार्षिक प्रतिवेदमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीमा सबैभन्दा बढी पोखरा र काठमाडौं महानगरपालिका विरूद्ध रहेका छन् ।
सुशासनको गफ चुट्ने मेयर साहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकाका विरुद्ध मात्रै २ सय ७५ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन् । प्रतिवेदनमा के–के विषयमा भनेर खुलाइएको छैन । तर, ती उजुरीको चाङले पनि काठमाडौं महानगरपालिका भित्र कति धेरै बेथिति छन् भन्ने प्रष्ट हुन्छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०८०–८१ मा पोखरा महानगरपालिका विरुद्ध ३५९, काठमाडौं महानगरपालिका विरुद्ध २७५, पचरौता नगरपालिका विरुद्ध २४६, सुवर्ण गाउँपालिका विरुद्ध २१९, जनकपुर उपमहानगरपालिका विरुद्ध १७६, छिपहरमाई गाउँपालिका विरुद्ध १३२, कृष्णनगर नगरपालिका विरुद्ध १३१, जलेश्वर नगरपालिका विरुद्ध १२५, राजपुर नगरपालिका विरुद्ध १२२ र हेटौडा उपमहानगरपालिका विरुद्ध १२२ वटा उजुरी परेको देखिन्छ ।
महानगरपालिकाको आजको ३६ औँ नगर कार्यपालिका बैठकमा वडा–११ का अध्यक्ष हिरालाल तण्डुकारले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीका बारेमा प्रश्न गर्नुभयो । मेयर बालेन साहले त्यो विषयमा प्रवेश गर्ने भन्दा पनि विषयलाई नै अन्ततिर मोडिदिनुभयो । उहाँले कुनै पनि तथ्य, प्रमाण नभेटिएको भन्दै झुट बोलेर भ्रम छर्ने काम गर्दै अख्तियारमा परेको उजुरीबारे केही गर्नु पर्दैन भनेर उल्टै वडाध्यक्षको प्रश्नको जवाफ टारिदिनुभयो ।
वडाध्यक्ष त्यतिमै चुप लाग्नु भएन । उहाँले ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका भ्रष्टाचारसम्बन्धी उजुरीमा हाम्रो पालिका दोस्रो नम्बरमा पर्यो भनेर शुभकामना दिएर बस्ने ?’ भन्दै जंगिनुभयो । तर मेयर साहले कुनै पनि जवाफ नदिई विषयलाई नै अन्त मोडिदिनुभयो । मेयर साहले बैठकमा यस्तो विषयमा छलफल नै गर्न नचाहनुले पनि आवाजकै भरमा आफ्ना कमजोरी लुकाउने मेयर साहको प्रयास कति समयसम्म लुकिरहला भन्ने आशंकाहरु पैदा भएको छ ।