स्थानीयको जग्गामा बालेनका प्रहरीको दादागिरी, अदालत धाइरहेका भगवानपाउवासी आतंकित

काठमाडौं, २३ असोज । नियम–कानुनका ठेलीहरुलाई कत्लेआम गर्दै वाहवाही कमाउने रहरका कारण एक प्रकारले भन्ने हो भने अराजक शैलीमा डोजर आतंक मच्याउने काठमाडौं महानगरपालिकाको शैलीका कारण महानगरवासी एकपछि अर्को गर्दै हैरानी खेप्न बाध्य भएका छन् । २१ लाख बढी फलोअर्स रहेको आफ्नो फेसबुक पेजको दुरुपयोग र केही युट्युवेलाई प्रयोग गरेर कामले भन्दा हल्लाले बढी वाहवाही कमाउँदै आएको काठमाडौं महानगरपालिकाको नेतृत्वको अराजक शैलीले सिमा मात्रै नाघेको छैन् । त्यसैका भरमा स्थानीयहरुलाई दादागिरी शैलीमा धम्क्याउने र तर्साउने अनि नियम–कानुनका ठेलीहरुलाई कत्लेआम गर्दै हिँड्ने महानगर नेतृत्वको आलोकाँचो शैलीको शिकार पछिल्लो समय वडा नम्बर–१५ भवगानपाउँका आठ घरका स्थानीय भएका छन् ।

एक वर्ष भन्दा अघि काठमाडौं महानगरपालिका वडा नं–३१ स्थित शंखमुलमा अनावश्यक रुपमा बाटो फराकिलो गर्ने नाममा स्थानीय सहेल महर्जन (अवाले) को निजी जग्गामा बिना कुनै सूचना डोजर चलाएपछि स्थानीय नागरिक आक्रोशित एवं आतंकित भएका थिए । उनिहरुले त्यतिबेला मेयर साहको विरोध मात्रै गरेका थिएनन् । आन्दोलन नै गरेका थिए ।

त्यति मात्रै होइन महानगरपालिकाले टुकुचा खोला खोल्ने नाममा जय नेपाल हल पछाडिका स्थानीय जनताको घर कम्पाउण्ड भत्काउने कार्य गरेको घटना पनि महानगरवासीसँग ताजै छ । काठमाडौंको बांगेमुढा टोलमा रहेको सामुदायिक भवन (त्वाःछेँ) केही व्यक्तिको उजुरीको आधारमा डोजर लगाई भत्काएको घटनालाई पनि महानगरवासीले निहालिरहेका छन् ।

त्यसो त मेयर बालेनले टुँडिखेल नै मासेर अन्डरग्राउण्ड पार्किङको योजना अघि सारेपछि उहाँका समर्थक अभियन्ताहरुसमेत विरोधमा उत्रिएका थिए । बिना कुनै तयारी काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने प्रयास गर्दा नगर प्रहरीमाथि ढुंगामुढा भएको घटना पनि ताजै छ । गएको दसैँताका काठमाडौंको भित्री शहरमा घरको अण्डरग्राउण्डमा खोलिएका पसलहरू जबर्जस्ती बन्द गराएको घटनालाई पनि महानगरवासीले विर्सिएका छैनन् । मेयर बालेका यस्ता गतिविधिले महानगरवासी आक्रोशित मात्रै होइन हैरान छन् । ईन्जिनियरको पगरी गुथेर मेयर बनेका बालेनको ध्वस्त गर्ने शैली दिनप्रतिदिन उकालो लाग्न थालेपछि महानगरबासी र रैथानेहरुमा पनि बालेन शैलीले झस्काउन थालेको छ ।

अहिले त्यसैको उदाहरण बनेको छ । वडा नम्बर–१५ को भगवानपाउ घटना । अहिले महानगर प्रहरीको नेतृत्व राजु पाण्डेले गर्नुभएको छ । विवादित पृष्ठभूमिका पाण्डेको काम भनेकै दादागिरी शैलीमा जाने धाकधम्की दिने र अराजकता मच्याउने बनेको छ । उहाँले काठमाडौं महानगरपालिका वडा–१५ को कित्ता नम्बर २१० र कित्ता नम्बर ६ को विचमा पहिलेदेखि नै रहेको पर्खाल दादागिरी शैलीमा महानगरप्रहरी लगाएर भत्काइदिएपछि त्यहाँका स्थानीय आठ घर आतंकित बनेका छन् । पाटन उच्च अदालतले समेत कित्ता नम्बर ६ लाई सार्वजनिक रुपमा प्रयोग नगर्नु नगराउनु भनि विपक्षीका नाममा आदेश दिएसकेको छ ।

त्यति मात्रै होइन २०७० साल फागुन १४ को आदेश र २०७० वैशाख ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट भएको निर्णयमा समेत ती दुई कित्ताबिचमा पर्खाल रहेको उल्लेख छ । तर, काठमाडौं महानगरपालिकाको नेतृत्वको वाहवाही कमाउने रहरका कारण नियम–कानुनका ठेलीहरुलाई समेत कत्लेआम गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वको नगर प्रहरीले गुण्डागर्दी शैलीमा पर्खाल भत्काएपछि स्थानीय मात्रै होइन जनप्रतिनिधि पनि झस्किएका छन् ।

हिजो मात्रै महानगरपालिकाको ३६ औँ नगर कार्यपालिका बैठक बसेको थियो । उत्त बैठकमा वडा–१५ का अध्यक्ष इश्वरमान डंगोलले यो विषय उठान गर्नुभयो । उहाँले वडाका जनप्रतिनिधिलाई समेत जानकारी नदिइ महानगर प्रहरीले आफ्नो वडा भित्र आएर दादागिरी शैलीमा पर्खाल भत्काउने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । नियम–कानुन मिचेर बनाएका संरचनाहरु जोगाउने पक्षमा आफूहरु नरहेको भन्दै त्यस्ता संरचना नियम–कानुन अनुसार भत्काउन तयार रहेको उल्लेख गर्नुभयो ।

तर, वडा–१५ मा आफूहरुसँग समन्वय नै नगरी अदालतमा मुद्धा चलिरहेको ठाउँमा आएर दादागिरी शैलीमा महानगर प्रहरीले गरेको काम ठिक नभएको भन्दै मेयर बालेन साहलाई सचेत गराउनु भयो । डंगोलले त्यस्ता कार्यको विरोध गरेपछि वडा–२२ का अध्यक्ष चिनिकाजी महर्जनले यस्ता गतिविधि पटक–पटक हुने गरेको भन्दै त्यसमा कमजोरी नगर प्रहरीको कि ? मेयरको भनि प्रश्न गर्नुभयो । उहाँले नगरप्रहरी प्रमुखले त्यसको जवाफ दिनुपर्ने भनेपछि पाण्डेले उठेर आलटाले जवाफ दिनुभयो । तर, उहाँको जवाफबाट चित्त नबुझाउनु भएका महर्जनले पाण्डेलाई नगर प्रहरीलाई आफ्नो हैसियतमा बस्न र अधिकार क्षेत्र भन्दा बाहिर गएर काम नगर्न चेतावनी दिनुभयो । महर्जनको हप्की खाएपछि गल्नु भएका पाण्डे चुपचाप हुनुभयो भने मेयर साहले पनि सबै कुरा बुझेर निष्कर्षमा पुग्ने भन्दै विषय अर्कोतिर मोड्नुभयो ।

यता पीडित पक्षको पनि गुनासो कम छैन । पीडित बुद्ध मानन्धरले मैत्रिन्युजसँग कुराकानी गर्दै आफूहरु असुरक्षित भएको महशुस गर्नुभयो । ‘हामीसँग कुनै समन्वय भएको छैन । एकैचोटी गुण्डागर्दी शैलीमा आएर आतंक मच्याउने कुराप्रति हाम्रो घोर आपत्ति छ,’ उहाँले भन्नुभयो, ‘हामी न्यायका लागि लडिरहेका छौँ । हाम्रो नीजि जग्गा भित्रको पर्खाल हामीलाई नै थाहा नदिइ गुण्डागर्दी शैलीमा भत्काउने र आतंक फैलाउने कुरा निन्दनीय छ ।’

केही युट्युवे अघिपछि लगाएर विना जानकारी भत्काउने कुरा आफूहरुलाई स्वीकार्य नभएको उहाँको भनाई छ । ‘हामीलाई महानगरपालिकाले अपराधिको जस्तो व्यवहार गर्यो,’ उहाँले गुनासो गर्नुभयो, ‘महानगर त आफ्नो पालिकाका जनताको अभिभावक हुनुपर्ने हो । तर, अहिलेको व्यवहार देख्दा हामी महानगरबाटै असुरक्षित भएको महशुस गरिरहेका छौँ ।’ आफूहरुका पट्टि धाकधम्की दिएर पर्खाल भत्काए पनि उतापट्टि भने पर्खाल लगाएर, टहरा बनाएर नियम विपरित काम गर्दा पनि महानगर बेखवर बनेको भन्दै उहाँले कतै महानगरले हामीलाई हेप्ने र उनीहरुलाई पोस्ने काम त गरिरहेको छैन भन्ने आशंका उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।