एमालेको ३८ औं सचिवालय बैठकः यस्ता छन् आधा दर्जन निर्णय

ललितपुर, २४ असोज । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । बाढी, पहिरो र डुबानपछि पहिलो पटक एमाले मुख्यालय च्यासलमा बसेको बैठकले नेकपा (एमाले)को नयाँ मुख्यालय भवनको शिलान्यास गर्नेदेखि बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत तथा उद्दार कार्यमा पार्टीलाई थप प्रभावकारी ढंगले परिचालन गर्नेसम्मका करीब आधा दर्जन निर्णय गरेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बसेको ३८ औँ सचिवालय बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिनुभयो । ‘यो वर्षको बाढीले पुर्याएको अपूरणीय क्षतिका सम्बन्धमा केही थप महत्वपूर्ण निर्णयहरु भएका छन्,’ उहाँले भन्नुभयो, ‘पुर्नस्थापना र केही ठाउामा राहत अनि खोजि कार्यका कामहरु पनि बाँकी रहेका छन् । अझ केही समय हाम्रो पार्टीका संगठनहरु, पार्टी कार्यकर्ताहरु र जनवर्गीय संठन र जनप्रतिनिधिहरु बाढी, डुबान र पहिरो प्रभावित क्षेत्रमा निरन्तर राहत तथा उद्दार कार्यमा खटिरहन आह्वान गरेका छौँ ।’
त्यसैगरी बैठकले देश बन्छ भन्ने विश्वास दिलाउने गरी काम सकारात्मक सन्देश दिनेगरी सरकार अघि बढेको छ भन्ने आत्मविश्वासका साथ काम गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेको जानकारी दिनुभयो । त्यसैगरी आजको सचिवालय बैठकले विगत ९ वर्षदेखि भाडाका भवनमा बस्दै आएको भन्दै स्थायी रुपमा आफ्नो भवन निर्माण गर्न भोलि १२ बजेर २५ मिनेटमा कीर्तिपुर नगरपालिकाको वडा नम्बर–२ मा मदन भण्डारी स्मृति भवनको शिलान्यास गर्ने पनि निर्णय गरेको छ ।
त्यसैगरी एमाले ४० भन्दा बढी स्थानहरुमा हुने उपनिर्वाचनका लागि कार्तिक २२ गतेसम्म तत्ला कमिटिहरुले त्यस सम्बन्धि आवश्यक निर्णय गरेर कन्द्रीय कार्यालयमा पठाइसक्नका लागि आह्वान गरेको पनि जानकारी दिनुभयो । सचिवालय बैठकले दुई केन्द्रीय सदस्यलाई परेको शोकमा शोक व्यक्त गरेको छ भने विजया दशमीको शुभकामना पनि व्यक्त गरेको छ ।