रामेछाप प्रहरीकाे समन्वयमा दुर्घटना न्यूनीकरणका लागि यात्रु विश्रामस्थलमा नि:शुल्क खाजा

रामेछाप, २८ असोज । रामेछाप प्रहरीकाे समन्वय र सहयाेगमा रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा दशैंका यात्रुलाई लक्षित गरी निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।

चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा हुने भनेर रामेछाप प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।

यही असोज ११ र १२ गतेको अविरल वर्षा पछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो दुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । भिरालाे बाटाे भएकै कारण सवारीसाधनकाे ब्रेक फेल भएर हुने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजाको सेवा सञ्चालन गरिएको रामेछाप प्रहरी प्रमुख डिएसपी प्रदीप सिंहले जानकारी दिनुभयाे ।

उहाँका अनुसार लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई/तीन वटा दुर्घटना भइसकेका छन् । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेकाले अभियान प्रभावकारी भएको छ ।

उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको प्रमुख सिंहले बताउनुभयाे ।

काठमाडौंबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।

भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको उहाँकाे भनाइ छ ।