लामिछानेलाई प्रचण्डले देखाएको ‘पक्राउको तुरुप’ सत्ता गिजोल्ने उपद्रो मात्रै

काठमाडौँ, १ कात्तिक । राजनीतिलाई धमिलो बनाउने र त्यहि धमिलो राजनीतिमा खेल्ने प्रचण्ड रणनीति पुरानै हो । प्रचण्ड खुला राजनीतिमा आएदेखिनै राजनीतिको चरम अस्थिरताको विजारोपण भएको तथ्य लुकाएर लुक्दैन । कुनै बेला नेकपा (एमाले)का तत्कालिन महासचिव मदनकुमार भण्डारीले ‘राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैनन्’ भन्नु भएको थियो । भण्डारीले असल अर्थमा त्यो भनाई राख्नु भएको थियो ।

तर, प्रचण्डले भण्डारीका ती बनाइलाई नै विकृत बनाउने गरी राजनीतिमा छिनछिनमा फेरि रहने शत्रु र मित्रुका कारण राजनीति नै दुर्घन्धित र अस्थिर बन्दै आएको छ । भूमिगत राजनीतिबाट खुला राजनीतिमा आएपछि प्रचण्ड चार पटक प्रधानमन्त्री बन्नुभयो ।

पहिलो पटक उहाँ २०६५ सालमा प्रधानमन्त्री बन्नुभएको थियो । त्यतिबेला मात्रै उहाँ सबै भन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बने पनि त्यसपछिका तीन प्रधानमन्त्री कालमा उहाँ तेस्रो ठूलो दल हुँदा नै प्रधानमन्त्री पदमा आसिन हुनुभयो । उहाँ तेस्रो ठूलो दलको हैसियतमा तीन पटक प्रधानमन्त्री बन्नुमा उहाँको राजनीतिलाई धमिलो बनाउने र त्यहि धमिलो राजनीतिमा खेल्ने प्रचण्ड रणनीतिले काम गरेको थियो ।

पछिल्लो पटक अर्थात २०७९ पुस १० मा चौथो पटक प्रधानमन्त्री बन्दा उहाँ संसदमा तेस्रो ठूलो दलको हैसियतमा हुनुहुन्थ्यो । प्रधानमन्त्री पदका लागि गठबन्धन अदलबदलमा माहिर प्रचण्ड चौथो पटक प्रधानमन्त्री बन्दा नेकपा (एमाले)सहितको समर्थन प्राप्त गर्नुभएको थियो । त्यसपछि फेरि उहाँले प्रधानमन्त्री पद टिकाइराख्न कांग्रेसको साथ माग्नुभयो । कांग्रेसलाई पनि केही महिनापछि छाडेर एमालेसँग मिल्नुभयो । उहाँको त्यो ‘बेलुने’ राजनीति पछिल्लो समय उहाँकै निम्ती घातक बनिदियो । पछिल्लो सयम एमालेले समेत साथ छाडेपछि र कांग्रेस नच्यापेपछि प्रधानमन्त्री पद गुमाउन बाध्य प्रचण्ड अहिले फेरि राजनीतिलाई धमिलो बनाउने र त्यहि धमिलो राजनीतिमा खेल्ने उपद्रोमा लाग्नु भएको छ ।

हिजो मात्रै प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको थियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्डसहितको बैठकमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल पनि सहभागी हुनुुहुन्थ्यो । बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल भएको थियो ।

गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो । त्यहि विषयसँग सम्बन्धित छलफल भए पनि प्रचण्डले भने प्रधानमन्त्री ओली र देउवासँगको भेटको विषयलाई विषयान्तर गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारीमा वर्तमान सरकार रहेको भन्दै राजनीतिलाई धमिलो बनाउने उपद्रो सुरु गर्नुभयो । पछिल्लो समय कुर्सीका लागि मरिहत्ते गर्ने रास्वपा सभापति सबै दलको बन्न खोज्दा कसैको पनि बन्न सक्नु भएको छैन । विवादास्पद छविका लामिछानेले आफ्नो २० सिट भन्दा केही बढी सांसदको शक्ति बोकेर आफ्ना विगतका हरेक कमजोरी र गलत गतिविधिलाई सुनपानी छर्किने अस्त्र बनाउँदै आउनु भएको छ । कहिले एक दलको कन्दनी समातेर दोहोर पासपोर्ट काण्डबाट मुक्ति पाउने त कहिले अर्को दलको कन्दनी समातेर सहकारी ठगी प्रकरणबाट मुक्ति पाउने जुक्तिमा लाग्नु भएका लामिछाने यतिबेला भने माओवादीको कन्दनी समातेर सहकारी ठगी प्रकरणबाट जोगिने जुक्तिमा हुनुहुन्छ ।

कुनै समय टेलिभिजनमा कार्यक्रम चलाउँन नदिएको झोँकमा प्रचण्डको उछतो काट्ने लामिछाने अहिले प्रचण्डका सबै भन्दा विश्वासपात्र जस्तो देखिन थाल्नु भएको छ । सत्ता गुमाउँदाको पीडामा रहनु भएका प्रचण्ड र लामिछाने दुबै अहिले सरकार विरोधी कित्तामा हुनुहुन्छ । अझ सहकारी ठगि प्रकरणमा आफ्ना हातमा हतकडी लाग्ने त्रासले लामिछाने प्रचण्डसँग हारगुहारमा लाग्नु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठक त्यसैको एउटा उदाहरण हो । बिहीबार मात्रै प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग बैठक गर्नुभएका प्रचण्डले त्यस लगत्तै अर्थात आज विपक्षी दलहरुको बैठक डाक्नुभयो । बैठकमा अन्य दलका प्रतिनिधिहरु सहभागी भए पनि रास्वपाका सभापति लामिछानेसहित आधा दर्जन भन्दा बढी नेताहरु बैठकमा सहभागी भएका थिए ।

त्यसरी हुल नै बोकेर लामिछाने संसद भवन पुग्नुको प्रमुख कारण भनेको प्रचण्डले लामिछानेलाई देखाएको त्रास नै प्रमुख कारण हो भन्ने सहज अनुमान गर्न सकिन्छ । आजको बैठकमा पनि प्रचण्डले हिजोको भेटवार्ताका आधारमा लामिछाने पक्राउ पर्न सक्ने भन्दै लामिछानेलाई त्रास देखाउनु भएको थियो ।

प्रचण्डको ब्रिफिङमा लामिछाने पनि सहमत हुनुभएको थियो भने उहाँले आफू पक्राउ पर्ने संभावनाबारे जानकारी रहेको भन्दै विपक्षीहरुको साथ माग गर्नुभएको थियो । प्रहरी पक्राउविरुद्ध उभिन विपक्षी दलहरुसँग प्रस्ताव समेत गर्नुभएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार बैठकले लामिछानेको विषयमा भने कुनै निष्कर्ष निकालेन । यद्यपि, लामिछानेलाई पक्राउको तुरुप देखाएर राजनीतिलाई धमिलो बनाउने रणनीतिमा प्रचण्ड लाग्नु भएको छ भन्ने त्यसले सहज संकेत गर्छ । लामिछानेको त्रासमा प्रचण्ड रणनीतिले कति काम गर्दा त्यो भने हेर्न बाँकी नै छ ।