प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट, कृषि क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौँ, ४ कात्तिक । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं चिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमाा करीब डेढ घण्टा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा भएको गरिबीको अन्त्यसहित भएको चौतर्फी विकास असाधारणको प्रशंसा गनुभएको थियो । उहाँले भेटमा त्यो विकासबाट नेपालले पनि लाभ लिन चाहने उल्लेख गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरताका लागि दुई ठुला दल एमाले र नेपाली कांग्रेसबीचको सहकार्यमा नयाँ सरकार गठन भएको जनाउँदै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सरकार–सरकार, जनता–जनताका साथै व्यापारिक, पौराणिक र सांस्कृतिक सम्बन्ध रहेकाले उच्चस्तरीय भ्रमणको आदानप्रदानको क्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै चीनविरुद्धका कुनै पनि गतिविधिका लागि नेपाली भूमि प्रयोग गर्न नदिनेमा नेपाल सदैव स्पष्ट रहेको स्मरण गराउनुभएको थियो ।
चिनियाँ नेता छेन्ले आफू महासचिव जिनपिङको निर्देशनमा नेपालको भ्रमणमा आएको अवगत गराउँदै नेपालका राजनीतिक दलले गरेका निर्णयमा आफूहरुको सम्मान रहने र भ्रमणका क्रममा आएका विषयवस्तु महासचिव सीलाई जानकारी गराउने बताउनुभयो । भेटमा छेन् गाङ्गले दुई देशबिचको मैत्रिपूर्ण सम्वन्धलाई थप प्रगाढ बनाएर लैजानु पर्नेमा जोड दिनुभएको थियो । उहाँले नेपालमा कृषि क्षेत्रको उत्थानमा सहयोग गर्न आफूहरु तयार रहेको पनि उल्लेख गर्नुभएको थियो ।
त्यसैगरी उहाँले कृषि क्षेत्रको उत्थान गर्दै किसानहरुको क्षमता अभिवृद्धिमा जोड दिने, कृषिको औधोगिकीकरणमा सहयोग गर्ने, नेपालमा उत्पादित कृषि बस्तु नेपालबाट चीनमा आयतका लागि सहयोग गर्नेलगायतका विषयमा उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमालेका सचिव एवं परराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ, विभागका सचिव डा अन्जान शाक्य, सदस्य गोपाल खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, नेपालका लागि चिनियाँ राजदूत छेन सोङलगायत सहभागी हुनुहुन्थ्यो ।