प्रतिस्पर्धी शिक्षाका लागि फेस्टिभल क्याम्पः उपप्रमुख डंगोल

काठमाडौं, ४ कात्तिक। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । काठमाडौं महानगरपालिकाले कक्षा १० का विद्यार्थीहरुको शैक्षिक नतिजा सुधारका लागि दशैं र तिहार पर्वका बिच अवधिमा आयोजना गरेको ‘फेस्टिभल क्याम्प’ सुरुवात गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले कार्यक्रममा सम्वोधन गर्दै किताबको ज्ञानले मात्रै प्रयाप्त नहुने भन्दै प्रतिस्पर्धी शिक्षाको आवश्यकता पर्ने उल्लेख गर्नुभयो ।

उहाँले त्यसका लागि विभिन्न सीपयुक्त शिक्षाको आवश्यकता पर्ने पनि उल्लेख गर्नुभयो । ‘गरिखाने शिक्षा दिने हो भने हामीले त्यसका लागि विभिन्न प्रयास गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘सोही अनुसार हामीले विभिन्न अभ्यासहरु गरिरहेका छौँ । त्यस अनुसार नै पुस्तकविहिन शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रम ल्याएका थियौँ । त्यसले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ ।’

क्याम्पमा सहभागी हुन २ हजार २७७ जना विद्यार्थीले चासो देखाएको महानगरपालिकाको भनाई छ । महानगरका अनुसार अनुसार ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा १५० भन्दा बढी विद्यार्थी भएका ५ ठूला विद्यालय गरी १६ वटा विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्रका रुपमा उपयोग गरिनेछ । क्याम्पका लागि कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । विद्यार्थीलाई क्याम्पमा सहभागी हुन अनिवार्य गरिएको छैन ।

एउटा कक्षामा कम्तीमा २५ जना र बढीमा ३५ जना बिद्यार्थीलाई सहभागी गराइनेछ । गणित, विज्ञान र सामाजिक विषयमा सहयोग गर्ने गरी परियोजनामा आधारित कक्षा चल्नेछन् । स्टिम शिक्षाशास्त्रको सिद्धान्त, इ–लर्निङ, उत्प्रेरणात्मक कक्षा, कला, संगीत, खेलकुद, सांस्कृतिक कार्यक्रम, क्याम्प फायर र स्टारगाजिङमा सहभागी हुन पाउनेछन् ।

कक्षा १० का विद्यार्थीहरुलाई अध्ययनप्रति रुचि जगाउनु कार्यक्रम सञ्चालनको मुख्य उद्देश्य हो । यस प्रकारको सिकाइबाट नतिजामा सुधार हुने अपेक्षित नतिजा हो ।

नेतृत्व परिवर्तनसँगै शैक्षिक क्षेत्रको सुुधारका लागि गुणात्मक र परिमाणात्मक कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिएका छन् । सङ्घीय सरकारको मापदण्डबमोजिम ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क खाजाको सुविधा उपलब्ध गराउने रकम दोब्बर गरी गरिएको छ । सामुदायिक विद्यालयको कक्षा कक्षा १० सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई दिवा खाजाका रुपमा सन्तुलित आहारका लागि रकमको व्यवस्था गरिएको छ । पुस्तकविहिन शुक्रबार (बुक फ्री फ्राइडे) ले विद्यार्थीहरूलाई गहन सोच्ने क्षमता, रचनात्मकता, सञ्चार र सहकार्यको अभ्यासमा उत्प्रेरित गरेको छ । गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापक र शिक्षकहरूलाई स्वामित्व सिर्जना गर्न क्षमता विकास र प्रोत्साहनका कार्यक्रम थालिएको पनि महानगरपालिकाले जा । ११ वटा स्रोत केन्द्रमा ११ जना स्रोत शिक्षक नियुक्ति गरिएको छ । यो नयाँ अभ्यासले नेतृत्वको नीतिलाई कार्यान्वयनसँग जोडेको छ । गएको वर्ष ग्रेड सुधार गर्न अतिरिक्त समयमा उपचारात्मक कक्षा सञ्चालन गर्न विद्यालयहरूलाई आर्थिक अनुदान प्रदान गरिएको थियो । २०८० सालको एसइइ परीक्षामा ७८ प्रतिशत विद्यार्थीहरूले बी ग्रेडभन्दा माथिको नतिजा हासिल गर्नु कार्यक्रमको उपलब्धी हो ।

गएको वर्षको यो सफल अभ्यासलाई निरन्तरता दिँदै महानगरपालिकाको गौरव योजना अन्तर्गत ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत बिद्यार्थीको नतिजा सुधार गर्न दशैँ र तिहारको बिच र जाडो बिदामा एसइइ सहायता हुने गरी क्याम्प सञ्चालन हुनेछ ।