नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव
काठमाडौं, ११ कात्तिक । नेपाल र भारतबीच भइरहेकाे साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेल अवरुद्ध भएको छ ।
खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको थियो । लगत्तै नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिइएपछि खेल अवरुद्ध भएको हो ।
खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला अहिले तनावग्रस्त भएको छ ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो ।
नेपालले आफूहरुले गरेको गोलले मान्यता पाउनुपर्ने अडान राखेको छ भने भारतले उक्त गोललाई मान्यता दिन नहुने अडान राखेको छ । त्यसैले रेफ्रीहरु अलमलमा छन् ।
खेलको मुख्य रेफ्री भुटानकी ओम चोकी हुन् भने असिस्ट्यान्ट रेफ्री भुटानकी छोडेन छिरिङ र बंगलादेशकी मोने सल्मा अख्तर छन् ।