तिहारमा किन्ने होइन त थासामा छापेर हातैले रंग्याइएको धनलक्ष्मी र चिनियाम्ह किसिचा ?
काठमाडौं । तिहारको समयमा वसन्तपुर, इन्द्रचोक वा असर तिर जानु भयो भने अहिले बुढापाकाले दुई सामाग्रीको बारे निकै चासो राखेका हुन्छन्। एउटा थासाबाट हातैले तयार पारिएको लक्ष्मीको चित्र। दोस्रो, चिनिले बनाइएको चिनियाम्ह किसिचा। नेवार समुदायमा औंशीको रात लक्ष्मी पूजा गर्दा चाहिने यी दुवै सामाग्री अहिले लोप हुने संघारमा छन्।
संस्कृति र संस्कार धान्न केहीले यो पेसालाई निरन्तरता दिइरहेका छन्। तर, सबैको एउटै प्रश्न छ : हामी पनि कसले गर्छ?
हराउँदै धनलक्ष्मी
भक्तपुर, ललितपुर र काठमाडौंमा लक्ष्मीको चित्रलाई थासाबाट बनाउने चित्रकार समुदाय नग्नय संख्यामा मात्रै बाँकी छन्। तिहारकै लागि भनेर उनीहरुले थासामा पोतेर रंग लगाएर अहिले पनि तस्विर तयार पार्छन्। तर, त्यसको खरिदकर्ता निकै कम छ। भारतबाट लक्ष्मीका तस्विर आयात हुन थाले पछि यो संस्कार नै संकटमा परेको हो।
अध्येताहरुका अनुसार नेपालमा करिब १६ वटा विभिन्न लक्ष्मी पुज्ने प्रचलन छ। नेपालमण्डलमा भने लक्ष्मीपूजाको रात धनलक्ष्मीको पूजा हुन्छ। नेपाल संवतको अन्तिम महिना कौलागाको अन्तिम दिन पूजिने लक्ष्मी धनलक्ष्मी हुन्।
अहिले भारतबाट आयात गरिएका लक्ष्मीका चित्रहरु वैष्णव सम्प्रदायसँग सम्बन्धित छ। भारतमा दीपावलीका अवसरमा लक्ष्मीपूजामा विष्णुकी श्रीमती लक्ष्मीको आराधना गरिन्छ। यता नेवार बाहुल्य नेपालमण्डलमा भने विष्णुकी श्रीमती लक्ष्मी नभई धनलक्ष्मी पुजिने परम्परा रहेको छ।
भारतबाट आयातित तस्विर र नेपालमा थासाबाट बनाइने तस्विरहरु हेर्ने हो यो भिन्नता प्रष्ट देखिन्छ। भारतबाट भित्रिएको लक्ष्मीका चित्रमा गणेश, सरस्वती इत्यादि देवदेवी पनि हुन्छन्। तर नेपालमा पुं (चित्रकार) हरुले तयार पार्ने चित्रमा भने त्यस्तो हुँदैन।
धनलक्ष्मीको दूतका रुपमा यसरी कोरिने चित्रमा कुवेर र सेतो ख्याक हुनैपर्छ। त्यस्तै, धनलक्ष्मीको बाहनका रुपमा कछुवा हुन्छ। धेरै जसो चित्रमा लाटोकोसेरोलाई लक्ष्मीको बाहनका रुपमा प्रस्तुत गरिएको हुन्छ। तर, त्यो गलत रहेको प्रेममानको तर्क छ। उनका अनुसार लक्ष्मीको बाहन कछुवा हो। कछुवा ढिलो हिँड्ने भएकाले त्यसमा सवार धनलक्ष्मीले जथाभावी धन खर्च गर्दिनन्। कछुवाले धन संचय गर्न सिकाउँछ।
धनलक्ष्मी आकृति भएको तस्विरमाथि झुल राखिएको हुन्छ। झुलहरु कोठामा प्रयोग हुने र ढुकुटी पनि त्यहीँ रहने भएकाले लक्ष्मी पनि ढुकुटी संचय गर्न स्थानमा बस्ने देखाइएको हो। ख्याकले धनी महाराजहरु कहाँ गएर तर्साएर पैसा उठाएर लक्ष्मीलार्इ दिने विश्वास गरिन्छ भने कुबेरले धन संचय गर्ने।
त्यस्तै नेपालमा बन्ने लक्ष्मीको हातमा ज्वला न्हाय्कं (प्रकाश छर्ने ऐना) र सिन्ह: मू (सिन्दुर राख्ने बट्टा) हुन्छ। ज्वला न्हायकं पित्तल वा चाँदीबाट बनाइएको हुन्छ। यसको बीच भाग ऐनाजस्तो चम्किलो गरी बनाइएको हुन्छ। नेवार समुदायमा छोरीको विवाह गर्दा यो नभई हुँदैन।
यसरी धनलक्ष्मीको चित्र बनाउनु र पूजिनुको अर्थ, धन जथाभावी खेर नजाओस्, सम्हालेर संचय गर्न सकियोस् भन्ने हो।
पहिले त हातले रंग लगाएको धनलक्ष्मीको पूजा गर्ने चलन थियो। पछि भारतबाट सस्तो र रंगिन तस्विरहरु भित्रिए। पछि त इलेक्ट्रिक चित्रहरु नै भित्रिन सुरु भयो। त्यसपछि नेपालको मौलिक चित्रकला लोप हुने अवस्थामा पुग्यो
भक्तपुरमा दशकौंदेखि धनलक्ष्मीको चित्र रंग्याउँदै आएकी चेतकुमारी भन्छिन्, ‘यो परम्परा धान्न गाह्रो भइसक्यो। पछि पेसाले निरन्तरता पाउँछ पाउँदैन भन्ने विषय किन्ने ग्राहकमा भर पर्छ,’
उनी नेपालमै तयार भएको मौलिक तस्विर किन्ने अवस्था बने परम्परा जिवित रहनेमा आशावादी छिन्। तर, यसलाई व्यवसायिक बनाउन नसके आउने पुस्ता यसमा नलग्ने उनले बुझेकी छन्।
सस्तोको भर
नेपाली बजारमा धनलक्ष्मीको चित्रको खपत किन कम हुन्छ? यसको सिधा उत्तर छ : पैसा र आकर्षण।
थासामा लक्ष्मीको आकृति छापेर त्यसमा रंग भरेर तस्विर तयार गर्न घण्टौं लाग्छ। कम उत्पादन र मिहिनेतको मोल तोक्दा यी तस्विरको भाउ भारतबाट आयातित भन्दा महंगो हुन्छ। तस्विरको साइज हेरेर १० देखि ५० रुपैयाँ भन्दा बढी सम्म पर्छ। जबकी भारतीय लक्ष्मीको तस्विर बजारमा १० रुपैयाँमै पाइन्छ।
रंगिन र चिल्ला तस्विरमा धेरैको आकर्षण जाने र मूल्य पनि कम हुने हुँदा थासाबाट उत्पादित तस्विरमा मानिसको ध्यान कम गएको काठमाडौंमा धनलक्ष्मी रंग्याउँदै आएका लक्ष्मीलाल चित्रकार बताउँछन्।
‘धेरैमा ठूलो तस्वीर ५० रुपैयाँमा बिक्छ। सानोको १० रुपैयाँदेखि सुरु हुन्छ। ३-४ घण्टा लगाएर ३०-४० रुपैयाँमा बेच्नुपर्छ। भारतबाट आउने लक्ष्मीका सस्तो तस्वीरका कारण त्यसले बजारमा मूल्य नपाउने नै भयो,’ उनी भन्छन्।
अहिले नेपाली बजारमा भारतसँगै चीनबाट ल्याइएका लक्ष्मीका चित्रहरुले पनि ठाँउ ओगतेको छ। जसकारण चेतकुमारी र लक्ष्मीलालजस्तै चित्रकारहरुले हातैले बनाएका धनलक्ष्मीका चित्र थप संकटमा पररेका छन्।
लक्ष्मीलाल भन्छन्, ‘हातले तयार पारेको तस्वीरमा ज्यान हुने जनविश्वास छ। यो कला त प्रिन्टर नै नभएको बेलामा पुर्खाले सुरु गरेको हो नि।’
तर पछिल्लो समय संस्कृति जोगाउनुपर्छ भनेर यस्ता तस्विर खोज्दै बजार पुग्नेको संख्यामा केही वृद्धि भएको छ। परम्परागत चित्रकलालाई बचाउनुपर्छ भनेर मानिसहरुले धनलक्ष्मीलाई पनि खोजिरहेका छन्। यो राम्रो सुरुवात हो। तर, अब भारतबाट आयातित लक्ष्मीलाई विस्थापन गर्न सकिन्न। विकल्प भने बजारमा जाँदा धनलक्ष्मीको तस्विर पनि किन्ने बानी बसाल्न सकियो भने त्यसले ‘पुं’हरुले निरन्तरता दिँदै आएको संस्कार जीवित बनाउन सहयोग पुग्न सक्छ। अत: अब सकेसम्म चित्रकारहरुले बनाउने तस्विरहरुको बजार व्यवस्थापनमा ध्यान दिएर जति तस्विर बन्छन् राम्रो मूल्यमा त्यसलाई बजारमा बिक्री गर्न सकियो भने आउने पुस्ताले यसमा भविष्य देख्न सक्लान् कि?
हराउँदै चिनियाम्ह किसिचा
पहिला पहिला बजारमा तिहारको किनमेलमा चाहिने नै सामाग्री हुन्थ्यो चिनियाम्ह किसिचा। जुन अहिले धनलक्ष्मी जस्तै लोप हुने संघारमा पुगिसकेको छ।
नेपाल भाषामा ‘किसि’ भनेको हात्ती हो। ‘चा’ ले माया गरेर बोलाउने भाव बुझाउँछ। चिनियाम्ह किसिचा चाहिँ चिनिबाट बनेको मिठाई हो। गुलाबी रंगको यो मिठाई विभिन्न देवीदेवता र जनावरहरूको स्वरूपमा बनाइन्छ। हात्तीमात्रै नभइ यसमा लक्ष्मी, घोडा, कुबेर, कछुवा, ख्याकसँगै सिन्ह मू, ज्वल न्हयांक पनि बनाउने गरिन्छ।
पहिला बजारमा जाँदा यो मिठाई प्रति बेग्लै आकर्षण हुन्थ्यो। बालबालिकाहरु हात्ती चाहियो, घोडा चाहियो भन्दै भन्थे। यसलाई किनेर लक्ष्मी पूजाको दिन चढाइन्थ्यो। पछि प्रसादका रुपमा खाने पनि गरिन्थ्यो। पछि आधुनिकतासँगै विस्तारै यो मिठाइको प्रयोग कम भयो।
वसन्तपुरमा चिनियाम किसि बेच्दै आइरहेक अमृत श्रेष्ठ भन्छन्,’ अहिले धेरैलाई यसबारेमा त थाहा पनि छैन।’
यो मिठाई पनि धनलक्ष्मी जस्तो थासामै तयार पारिन्छ। थासामा चिनि र रंग मिसाएर घोलेर राखिन्छ। आकार र प्रकार अनुसारका पुराना थासामा राखेपछि त्यसलाई सेलाउन राखिन्छ। अनि तयार हुन्छ यो मिठाइ।
अमृत अहिले पहिला जस्तै चिनियामह किसी नबिक्ने भए पनि बजारमा मानिसहरुको आकर्षण फेरि बढ्दै गएको बताउँछन्। अहिले खानलाई नभए पनि चढाउँन भए पनि यो मिठाइ खोज्दै पुग्नेहरु छन्।
तर तिहारमा संस्कृति बचाउन यो पेसामा तल्लिन उनी पनि भन्दैछन् : हामी पछि कसले बनाउँला?