नेवार समुदायको दर्शन हो ‘म्ह: पूजा’, के के छन् यससँग सम्बन्धित कथा?

नेवार समुदायको दर्शन हो ‘म्ह: पूजा’, के के छन् यससँग सम्बन्धित कथा?

काठमाडौं। काठमाडौं उपत्यका कथैकथाले भरिएको भेग हो। मञ्जुश्रीले चोभारको डाँडो काटेदेखि सुरु हुने यहाँका कथाहरु विभिन्न कालखण्डमा थपिँदै गए। तिनै कथाले बुनेको संस्कृति र संस्कारले आज पनि यो भेगलाई जीवन्त बनाइरहेको छ।

तिहारको झिलिमिलिबीच नेपालमण्डलका नेवारहरु म्ह: पूजाका लागि बस्छन् तब यहाँको संस्कृतिको दर्शन थप रोचक बन्दै जान्छ।

लक्ष्मण राजवंशीले नेवा: सांस्कृतिक महसीका किताबमा नेवारको पहिचानलाई दर्शनसँग जोडेर व्याख्या गरेका छन्। दर्शनपछि मात्रै संस्कृतिक पक्षको वकालत गरेका उनले नेवारहरु मानिसमा निहीत शक्ति पूजक भएको भन्दै त्यसलाई नेवार दर्शनका लागि रुपमा प्रष्टाएका छन्।

‘नेवारहरुले कुनै व्यक्ति वा शक्तिलाई देवता’ मानेका छैनन्। वास्तवमा मानिसमा निहीत शक्ति नै मानिसलाई देवस्थानमा राख्ने ऊर्जा हो। त्यस्तो शक्ति प्राप्त गर्न साधाना आवश्यक पर्छ र त्यही शक्तिबाट आफूलाई देवस्थानमा स्थापित गर्न सकिन्छ। यही नै नेवार दर्शनको विशेषता हो’ (राजवंशी, २०६५) ।

म्ह:पूजा नेवार समुदायम प्रचलित त्यस्तै एउटा संस्कृति हो जसले यो समाजको दर्शन बुझाउँछ।

नेपालभाषामा म्ह: भनेको शरीर हो। वर्षभर देवताको आकृतिलाई पूजा गर्ने यो समुदाय म्ह: पूजाको दिन भने आफ्नै शरीरलाई पूजा गर्छ। त्यसैले यो पर्वले हामीलाई हाम्रो शरीरको महत्व त बुझाउँछ नै यसलाई किन स्वस्थ र स्वच्छ राख्नु पर्छ भन्ने भाव पनि दिलाउँछ। राजवंशीले आफ्नो कृतिमा उल्लेख गरेको झै मानिसलाई देवस्थानमा राख्ने ऊर्जाको सम्मान स्वरुप शरीर पूजा गर्ने दिन हो। त्यसैले त  म्ह: पूजा नेपालमण्डलको पहिचान बनेको छ।

कृषिप्रधान नेवा: समाजको सूचक यस्तै दर्शन बुझाउने पर्व हो। कुनै बेला नेपालमण्डल कसैप्रति निर्भर थिएनौं। किसानी गरेर आफूलाई चाहेको जोहो हुन्थ्यो। अरुसँग माग्नुपर्ने अवस्था नै थिएन। त्यही बेला देखि स्थानीय उत्पादाको प्रयोग गरेर यो समाजले धेरै आत्मनिर्भताको आविष्कार गर्‍यो। अत:  नेवार समुदायमा प्रचलित प्रत्येक चाडपर्वमा कुनै न कुनै स्थानीय उत्पादनको प्रयोग हुन गयो।

म्ह: पूजाले पनि तत्कालिन नेपालमण्डले कृषितन्त्रलाई पनि बुझाउँछ। म्ह: पूजाका लागि तयार गरिने मण्डमा राखिने भटमास, मास, लावा, अक्षता, अबिर, खेलुइता: आदी सबै त्यसबखतका स्थानीय उत्पादन दिए। यस्तै, अमला, कटुस, भोगटे, ओखर, विमरो, सयपत्री फूल लगायत स्थानीय उत्पादित सामानहरुको खपत यो बेला हुनेगर्छ। जसले गर्दा कृषि कर्ममा लागेकाहरुको उत्पादन खेर जानुपर्दैन थियो भने त्यसले बजार चलायमान पनि बनाउने गर्थ्यो। यसले पनि नेवारको सामाजिक दर्शनलाई बुझाउँछ।

यही दर्शनलाई बुझाउने म्ह: पूजाका कथा भने अनेक छन्। यो वर्ष हामी नयाँ वर्ष नेपाल संवत् ११४५ को स्वागत गर्दैछौं। नेपाल संवतको स्वागत गरेर म्ह:पूजा गर्ने प्रचलन छ। यद्यपि, म्ह:पूजा भने नेपाल संवत् सुरु हुनु अघि देखि नै प्रचलनमा रहेको देखिन्छ।

साफल्य अमात्यले ‘काठमाडौं नगरायण: काठमाडौं नगरको उद्भव, नगराण र संस्कृतिको इतिहास’ किताबमा म्ह:पूजाको सन्दर्भ उल्लेख गरेका छन्। उनले काठमाडौं उपत्यका उद्भवबारे केलाउँदै लिच्छविकालमा विशाल नगर सहर रहेको बताएका छन्। सोही विशालनगरमा राजा राघदेवको समयमा ठूलो आगलागी हुँदा राजाको महलदेखि जनताको घर सबै तहसनहस भएका थिए। यही दुर्घटनाबाट बचेकमहरुले आफ्नो शरीरलाई पूजा गर्ने गरि सगुन दिने प्रचलन चलाएको अमात्यले उल्लेख गरेका छन्।

‘यति ठूलो दुर्घटनाबाट ज्यान जोगाउन सफल भएका उपत्यकावासीहरूले खुसियाली मनाउन थाले। कात्तिक शुल्क परेवाका दिन नयाँ सम्बत् चलाए। सोही दिन म्ह पूजा गरी रक्सी, फुल, माछा, मासु र मासको बारा राखेर सगुन खाने चलन चलाए’ (अमात्य,२०५१)।

नेपाल मण्डल संस्कृतिको अध्ययन गरेर गौतम बज्राचार्य भने म्ह:पूजालाई मोपूजाको रुपमा अर्थ्याउँछन्। प्राणीहरूको सृष्टि भएको दिन भएकोले नव वर्षको रूपमा मनाइने यो दिनमा अण्डाकार फलको पूजा गरिने उनको दाबी छ। उनले भन्न खोजेको अण्डकार फल भने विमीरो हो। उनले ‘मोपूजा’ दर्शनलाई पुष्टि गर्न ३ वटा आधार दिएका छन्।

उनी म्ह: पूजा बारे भन्छन् : ‘जन्मदिनको गणना जन्मेदेखि होइन गर्भधारणदेखि शुरु हुन्छ भन्ने विचार अनुसार नव वर्ष सबैको सामूहिक जन्म दिनको रूपमा मनाइएको हो। बच्चा देवता हुन्, देवता बच्चा हुन् भन्ने भावना नेवार संस्कृतिको भित्र लुकेको अर्को गहीरो विचार हो।‘

यद्यपि, उनको यो कथनमा धेरै सहमत भने छैनन्। एउटा त म्ह:पूजा नेपाल संवत् भन्दा अघि देनि नै चलि आएको प्रचलन भएकोले यसलाई प्राणीको सृष्टिसँग कसरी जोड्ने भेर प्रश्न गर्नेहरु पनि छन्। तर, बज्राचार्यले विमिरोको पूजालाई महत्व दिँदै गरेको दाबीमा थप अध्ययन हुन सक्छ।

गौतमा ब्रजाचार्यको लेखमा प्रतिक्रिया दिँदै बौद्ध अध्येता सुमती बज्राचार्य लेख्छिन् : ‘मो पुजालाई’ वज्रयानीहरुले नै अर्थात् प्रतित्यसमुतपाद अनुरुप गर्भमा रहेको चित्त( विग्यान )लाई नै म्ह ‘शरीर’ सम्झी यसैमा नामरुप पंचस्कन्धल उत्पत्ति हुने भएकोले नै यस लाई म्हपुजा को नाम दिइएको नहोला भन्न सकिन्न। बुद्ध धर्म बज्रयान नेपालमा प्रवेश हुनु भन्दा अगाडिका धेरै संस्कृति हुरुलाई वज्रयानले आत्मसात्गरी नयाँ मोडमा ल्याईएको घटनाहरु अरु पनि धेरै देखिन्छन्।

बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य ले म्ह:पूजालाई नेवारहरुको सबैभन्दा ठूलो पर्व भनेका छन्। आफ्नो किताब म्ह: पूजाको विधिमा सत्यमोहन जोशीसमेतको लेखको सन्दर्भ जोडेर उनले शान्ति स्वस्ति गर्नु नेपालको पुरानो संस्कृति रहेको उल्लेख गरेका छन्। कुनै आपत विपतमा शान्ति स्वस्ति गरिने र भय टरेर गए वा नयाँ ठाउँमा जाँदा पनि शान्ति स्वस्ति गरिने गरेको उल्लेख गरेका छन्।  त्यसैले विशालनगरमा आगलागी पश्चात भय हटाउन र नयाँ ठाउँमा सरेर जानु परेको शान्ति स्वस्ति गरिएको र त्यहीबाट म्ह:पूजा सुरु भएको हुन सक्ने मत सो लेखमा छ।

यद्यपि, म्ह:पूजालाई मानिसलाई पूजा गर्ने प्रक्रियाले मात्र हेर्न नहुने सो लेखमा उल्लेख गरेका छन्। उनले म्ह: पूजामा त्यसदिनको खानपिन, सगुन दिने चलन आदिलाई बिर्सन नहुने उल्लेख गरेका छन्।

‘यो सगुनको संकेत भय तरेर गएको र भविष्यलाई राम्रो बनाउनु नै हो,’ लेखमा उल्लेख छ।

त्यसमा यसरी शरीरलाई महत्व दिएर पूजा गर्ने सिद्धान्त सुरु गर्ने व्यक्ति लिच्छविकालिनका लिलाब्रज हुन सक्ने समेत उल्लेख गरिका छन्।

यता संस्कृतिविद् छत्रबहादुर कायस्थ पनि अष्ट महाभयबाट मुक्ति पाउँनका लागि म्ह:पूजा गरिएको बताउँछन्। उनले राजा,चोर, पानी, हावा, आगो, शत्रु, चट्याङ र भूकम्पको भयबाट मुक्तिको कामना गर्दै म्ह: पूजा मनाउने गरिएको बताउँछन्। उनी लिच्छवीकालदेखि नै म्ह: पूजा सुरु भएको हुन सक्ने भन्दै यसको उत्पत्ति थलीबाट हुन सक्ने बताउँछन्।

मंगलराज जोशीले म्ह:पूजाको शास्त्रीय अध्ययन गरेर वि सं २०२७ सालमा लेख प्रकाशित गरेका थिए। पुरान र तण्त्रहरुमा नै म्ह:पूजाकै प्रतिकको रुपमा आत्मपूजा, स्वपूजा र स्वदेहपूजा भनि उल्लेख गरेको पाइएको भन्दै उनले यो पर्व सनातनदेखि चल्दै आएको हुन सक्ने उल्लेख गरेका छन्।

उनले सो कृतिमा नेपाल संवतको आरम्भलाई शुभदिन मानेर म्ह:पूजा सुरु भएको भन्नेहरु पनि रहेको भन्दै ती दाबीहरु सिद्ध हुने अवस्था नरहेको उल्लेख गरेका छन्। पुराणमा ‘ह्मपूजा’ उल्लेख भएको हुँदा यसको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन तथ्य नभएको उनले उल्लेख गरेका छन्।

उनले विभिन्न पुराण र तण्त्रमा उल्लेख भएको म्ह:पूजाको सन्दर्भलाई कृतिमा लेखेका छन्। हरेक वर्ष गरिने पूजा हुँदा यसलाई आब्दिकद्विज संस्कार वा आत्मा शुद्धीकरण सम्बन्धी संस्कार भन्न सकिने उल्लेख गरेका छन्। उनी पहिला अन्य समुदायले पनि म्ह:पूजा गरेको हुन सक्ने र पछि हराएको हुन सक्ने पनि बताउँछन्।

यस्तै, डा दिनेशचन्द्र रेग्मीले वज्रयानसँगसँगै भारतमा देखापर्ने सहजयानीहरूले नेपालमा म्हपूजा सुरु गरेको हुनसक्ने उल्लेख गरेका छन्।

सूर्यविक्रम ज्ञवालीको अनुमानमा वज्रयानसँगसँगै भारतमा देखापर्ने सहजयानीहरूले नेपालमा म्हपूजा सुरु गरेको हुनसक्छ,। ती आफैंलाईे सर्वोपरि मान्थे, आत्मकेन्द्रित थिए र आफ्नो पूजा आफै गर्थे। तर भाईटीकाको अगिल्लो दिनमामै किन आत्मपूजा? जबाफ हामीसँग छ्न। ज्ञात तथ्य यत्ति हो कि नेपालसंवत् सांस्कृतिक महत्व बोकेको नेपालको आफ्नै ऐतिहासिक संवत् हो (रेग्मी, नेपाल लिपि, भाषा र ग्रन्थलेखन)।

अहिले म्ह:पूजा नेवार समुदायमा मात्रै प्रचलित भए पनि यसको महत्व देशभर फैलिएको छ। विदेशमा पुगेका नेवार समुदायले पनि यो पर्वलाई निकै महत्व दिएर मनाइरहेका छन्। नेपालमा अहिले अन्य समुदायहरु पनि म्ह:पूजामा संलग्न भएर यो संस्कार अपनाउन आतुर देखिन्छन्। विद्यालयहरुमा विद्यार्थीहरुलाई म्ह:पूजा गराउने प्रचलनले आउने पुस्ता यो पर्वसँग थप घुलमिल हुन सक्ने देखिन्छ।

अत: सिद्धान्त र वाद जति भए पनि म्ह: पूजा अहिले नेवार समुदायको चिन्तन र दर्शन बनेको छ। आउने दिनमा यसमा थप अध्ययन अनुसन्धान त हुन्छ नै। अहिले भने नेवार समुदायमा मात्रै प्रचलनमा रहे पनि यो पर्वले देशलाई जोडेको छ। शरीर स्वस्थ रहे मात्रै जीवनको महत्व रहन्छ भन्ने भावको यो पर्वलाई नेपालको पहिचानको रुपमा घोषणा गर्न सरकार हच्किनु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *